Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकर्णालीमा चलचित्र कार्यशाला

कर्णालीमा चलचित्र कार्यशाला


सुर्खेत । कर्णालीका २० जना नवसिनेकर्मीहरु यतिबेला सुर्खेतमा फिल्म सिक्न व्यस्त छन् । कर्णाली प्रदेशमा पहिलो पटक केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजना सुरु भएको ‘कर्णाली चलचित्र कार्यशाला–२०७९’ मा उनीहरु सिनेमा सिक्न व्यस्त भएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘एक्सन कट’ भन्दै निर्देशन गरेर यो कार्यशालाको उद्घाटन गरे । उनले कार्यक्रममा भने, ‘कर्णालीलाई हेर्ने नजर अब परिवर्तन गरौं । किनकी कर्णाली हरेक दृष्टिकोणले धनी छ ।’ यो कार्यशालामा सहभागी भएकाहरुले सिनेमा सिकेर कर्णालीको जनजीवन र यहाँको संस्कृतिलाई सिनेमामा उतार्ने विश्वास मुख्यमन्त्री शाहीले सो कार्यक्रममा व्यक्त गरे । यो कार्यशालामा कर्णालीबासीले उत्साहका साथ चलचित्र सिकिरहेको कार्यशालाको स्थानीय संयोजन हरि विष्टले बताएका छन् । उनीहरु फिल्ममा आउने विष्टको विश्वास छ । १४ असारबाट सुरु भएको यो कार्यशाला १९ असारसम्म एक साता चल्नेछ । कार्यशालामा यतिबेला चलचित्र निर्माणअन्तर्गत अभिनय, छायांकन, सम्पादन, चलचित्र लेखन, निर्माण र चलचित्र निर्देशनसम्बन्धी प्रशिक्षण चलिरहेको छ ।

यसअन्तर्गत कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय, विष्णु कल्पितले छायांकन, प्रितम पाण्डेले सम्पादन, शिवम् अधिकारीले चलचित्र लेखन र डब्बु क्षत्रीले फिल्म प्रोडक्सन तथा निर्देशनको प्रशिक्षण दिइरहेका छन् । यस्तै अग्रज चलचित्र निर्देशक तथा अभिनेता नीर शाहले यो कार्यशालामा आफ्नो अनुभव आदानप्रदानसहितको मास्टर क्लास लिने यस कार्यक्रमका संयोजक राजु केसीले बताएका छन् ।

चलचित्र विकास बोर्ड, नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, दुल्लु सांस्कृतिक संग्रहालय दैलेख, सुर्खेत नगरपालिकालगायतको सहकार्यमा यो कार्यशाला भइरहेको पनि केसीले जानकारी गराएका छन् । कार्यशालामा कर्णाली प्रदेशका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरु सहभागी भएको आयोजक संस्था केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपका अध्यक्ष भूपेन्द्र कुमार खड्काले बताए, ‘यो कार्यशालामा हामीले अहिले चलचित्र निर्माणसम्बन्धी एक साताको बेसिक कोर्स सिकाइरहेका छौँ र कार्यशाला सम्पन्न भएपछि विद्यार्थीहरु समूहमा विभाजन भएर हरेक समूहबाट एक/एकवटा लघु चलचित्र पनि बनाउनेछन् ।’ उनले चलचित्रसम्बन्धी यस्ता प्रशिक्षणमूलक कार्यक्रम कर्णाली प्रदेशमा आगामी दिनमा पनि आयोजना गरिने बताए । अब आफूले निर्माण गर्ने नयाँ चलचित्रमा अहिलेको जनशक्तिलाई अवसर दिने पनि उनले प्रतिबद्धता जनाए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया