Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपर्यटक लोभ्याउन होमस्टे

पर्यटक लोभ्याउन होमस्टे


सुबास बस्नेत
दोलखा, फागुन ९
दोलखाको जिरी नगरपालिकाले आफ्नो क्षेत्रभित्र भित्रिएका पर्यटकलाई स्थानीय परिकारले लोभ्याउन विभिन्न ठाउँमा होमस्टे खोलेर पर्यटकलाई राख्ने योजना बनाएको छ । जिल्लाको पर्यटकीय स्थल जिरी घुुम्न आउने पर्यटकहरूलाई सहजरूपमा बास दिई पर्यटन प्रवर्द्धन गर्न होमस्टे सञ्चालनमा जोड दिएको हो । पर्यटकीय नगरी जिरी नगरपालिकाले पर्यटकहरूलाई आकर्षण गर्न मौलिकतासहितको होमस्टे सञ्चालन गर्न लागेको जिरी नगरपालिकाले जनाएको छ ।

जिरी नगरपालिका वडा नम्बर १ पुम्पा, वडा नम्बर २ यलुङ, वडा नम्बर ७ को खावा, वडा नम्बर ९ को चिपचिपेमा होमस्टे सञ्चालन गर्ने योजना बनाई कार्य अगाडि बढाएको नगरले जनाएको छ । नगरपालिकाको पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई स्थानीय मौलिक शैलीको घरमा बास बसाई पारिवारिक आभास दिई पर्यटन आकर्षणका लागि होमस्टे सञ्चालन गर्न लागिएको नगरप्रमुख टंक जिरेलले बताए । केही स्थानमा भने होमस्टे सञ्चालनमा आएकाले आन्तरिक पर्यटकहरूलाई जिरी भ्रमणका लागि आग्रहसमेत गरेका छन् ।

आगामी आर्थिक वर्ष जिरी नगरपालिकाको सम्पूर्ण वडाहरूमा स्थानीय मौलिक शैलीका होमस्टे सञ्चालन गर्ने योजना रहेको नगरकी उपप्रमुख कृष्णमाया बुढाथोकीले बताइन् । नगरले होमस्टे सञ्चालन गर्ने विधि, अतिथि सत्कार गर्ने तरिकालगायतको विषयमा होमस्टे सञ्चालकहरूलाई आवश्यक तालिमको दिइने बताइन् । उनले पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न योजनासहित कार्य गरिरहेको बताइन् ।

यता जिल्लाको अर्को पर्यटकीय क्षेत्र शैलुङ गाउँपालिकाले पनि पर्यटक राख्न विभिन्न वडामा होमस्टे सञ्चालन गर्न सुरु गरेको जनाएको छ । वडा नम्बर ३, ६, ७ र ८ मा शैलुङको पर्यटन क्षेत्रमा सहयोग पुग्ने विश्वासका साथ होमस्टे सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । पालिकामा होमस्टे सञ्चालन गर्न तालिम पुस महिनामा आयोजना गरिएको थियो । तालिममा अतिथि सत्कार, मौलिक खाना बनाउने विधिलगायतको विषयम जानकारी दिइएको थियो ।

तालिममा होमस्टे सञ्चालनका लागि इच्छुक ४० जनाभन्दा बढी होटल व्यवसायी सहभागी भएका थिए । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले विगु र गौरीशंकर गाउँपालिकाको विभिन्न स्थानमा होमस्टे सञ्चालन गरेको छ । विगु गाउँपालिकाभित्र रहेका केही वडाका स्थानीयलाई गौरीशंकर संरक्षण क्षेत्रले होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न सामग्री वितरण गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया