Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअनुगमनको क्रममा अनावश्यक धरपकड नगर्न व्यवसायीको आग्रह

अनुगमनको क्रममा अनावश्यक धरपकड नगर्न व्यवसायीको आग्रह


काठमाडौं, फागुन ९
अनुगमनको क्रममा अनावश्यक धरपकड नगर्न उद्योगी तथा व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले हालै गृह मन्त्रालयको कार्यभार सम्हालेका गृहसचिव महेश्वर न्यौपानेलाई भेटी व्यावसायिक शान्ति सुरक्षाको प्रत्याभूति गृह प्रशासनबाट हुने कुरा सम्पूर्ण निजी क्षेत्र वा व्यवसायीहरुले अपेक्षा राखेको बताएका छन् ।

वस्तुको सहज, सरल र नियमित आपूर्तिको व्यवस्था गर्न वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग रहेको छ । अनुगमनको क्रममा अनापश्यक धरपकड नगर्न समेत अनुरोध गर्दै यसबाट व्यावसायिक वातावरण बिग्रिने बताएका छन् । औद्योगिक एवं व्यावसायिक शान्ति सुरक्षाका लागि औद्योगिक क्षेत्र, इन्डस्ट्रियल कल्स्टर आदिमा सशक्तता अपनाउनुपर्ने उनीहरुको भनाइ छ । ट्राफिक व्यवस्थापनमा निर्यातलाई इमरजेन्सी एम्बुलेन्स जस्तो बनाउनुपर्ने उनीहरुले माग गरेका छन् ।

कालो बजारीसम्बन्धी पुराना कानुन खारेज गर्नुपर्नेमा उनीहरुले जोड दिए । साथै निजी क्षेत्र सहरी ट्राफिक व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको, विपद् व्यवस्थापनमा चेम्बरले सहयोग गरिराखेको र अब विपद् व्यवस्थापन प्राधिकरण बनिसके पनि वित्तपोषण जोखिम रणनीति बनाउन चेम्बरले गृह मन्त्रालयसँग सहकार्य गरिरहेको बताउँदै चेम्बरको करिब सबै जिल्लामा सञ्जाल विस्तार भई कार्य भइरहेकोले गृहअन्तर्गत संघीय, प्रदेश र स्थानीयस्तरमा चेम्बरको प्रतिनिधि हुने अनुरोध गरेका छन् ।

पहिला थुन्ने अनि सुन्नेबाट व्यवसायी त्रसित भएको चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । त्यसैले अनुसन्धान नगरी थुन्ने कार्यले व्यवसायीको साखमा गिरावट आउने हुँदा यसमा गम्भिरताका साथ विचार गर्नुपर्ने बताउँदै उनले अध्यागमनमा हाल भारत जाँदा स्थल मार्गबाट प्रस्थानमा छाप नलगाउने हुँदा साना मझौला र ठूलो सबै उद्यमी व्यवसायीहरुलाई नकारात्मक असर परी व्यवसायीको लागत बढ्ने, अध्यागमन झन्झटिलो भई उद्योग व्यवसायी लगानी प्रवर्द्धनमा नकारात्मक असर पर्ने हुँदा सो व्यवस्था व्यवसायीको हकमा तत्काल खारेजी गरिनुपर्ने सुझाव दिए ।

गृहसचिव महेश्वर न्यौपानेले चेम्बर अफ कमर्सका अध्यक्षलगायत प्रतिनिधिमण्डलले राखेको प्रस्तावहरुलाई सरकारको तर्फबाट सकारात्मक सोचका साथ अगाडि बढ्ने कुराको विश्वास दिलाउँदै सरकार र निजी क्षेत्रबीच समन्वयात्मक भूमिका खेल्ने बताए । यसको साथै सीसीटीभीको प्रयोगले अपराध नियन्त्रण हुने उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया