Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअनियमित विद्युत्को मारमा सल्लेरीवासी

अनियमित विद्युत्को मारमा सल्लेरीवासी


सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहित आसपासका बासिन्दाहरू अनियमित विद्युत्को मार खेप्न बाध्य भएका छन् । सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सल्लेरीद्वारा वितरित विद्युत् सेवा छिनछिनमा अवरुद्ध भइरहँदा उपभोक्ता हैरान भएका हुन् ।

कम्पनीले २०७७ माघ १९ गतेबाट लोडसेडिङमुक्त गराउन भन्दै ३३ केभीए केन्द्रीय प्रसारण लाइन जोडेको थियो । तर हिउँदमा नियमित लोडसेडिङ गर्दै आएको कम्पनीको सेवा त्यसयता अनियमित बनेको उपभोक्ताले गुनासो गरेका छन् । विद्युत् आउने/जाने समय निश्चित नहुँदा विद्युतिय औजारहरू समेत बिग्रिने गरेको व्यवसायी लोक बहादुर दर्जीकोे गुनासो छ । ‘विद्युत् आउने/जाने भइरहँदा मेरो यहाँ २/४ वटा मेसिन नै बिग्रियो, हामी साना व्यावसाय गर्नेको यो क्षति कसले बेहोर्ने ? न कम्पनीले बेहोर्छ न सरकारले, हामीलाई जहाँबाट पनि घाटैघाटा’, टेलर व्यवसायी दर्जीले भने ।

विगतमा नियमित तालिकाअनुसार लोडसेडिङ हुने भए पनि पछिल्लो समय विनातालिका बारम्बार सेवा अवरुद्ध हुँदा आफूहरू आजित बनेको सल्लेरीका सागर हिङमाङले बताए । उनले भने, ‘मेरो त गरीखाने माध्यम भनेकै यही टेलर व्यवसाय हो, तर बत्तीले गर्दा काम गर्नै सकिन्न, काम गर्न थाल्यो बत्ती गइहाल्छ हनि के गर्नु, यस्तो पर्यटकीय जिल्ला भन्नु मात्रै यहाँ हामीलाई कति गाह्रो छ भन्ने भनेर साधै छैन ।’

विद्युत्का कारण जिल्लास्थित सरकारी कार्यालयहरूको सेवा प्रभावित हुनका साथै विद्युत्मा निर्भर रहने व्यवसाय र सञ्चारमाध्यमलाई समेत असर परेको छ । जिल्लाका अधिकांश सरकारी कार्यालयहरूमा समेत भरपर्दो विद्युत् व्याकअपको व्यवस्थापन नहुँदा सरकारी सेवा समेत प्रभावित बन्ने गरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । वर्षातको समय भएकाले ठाउँ/ठाउँको ट्रान्सफरमा समस्या आइरहेकाले विद्युत् अवरुद्ध हुनेगरेको कम्पनीका महाप्रबन्धक भोजराज तिवारीले बताए । सेवा नियमित गराउन प्राविधिकहरू २४सैँ घन्टा खटिए पनि वर्षात् तथा चट्याङका कारण समस्या भएको उनको भनाइ छ । छ सय ३३ किलोवाट क्षमताको सो कम्पनीले सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, बेनी, फेरा, खोलाघारी, जैदु, च्याल्सा, थातिङलगायतका झण्डै २२ सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएकोे छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया