Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपहिरोको कारण एक सय ८५ घरपरिवार प्रभावित

पहिरोको कारण एक सय ८५ घरपरिवार प्रभावित


दोलखा । मनसुन भित्रिएपछि जिल्लामा यसवर्ष बाढीपहिरोको कारण एक सय ८५ घरपरिवार प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकअनुसार जिल्लाभर बाढीपहिरोले यस वर्ष पनि धेरै बस्ती जोखिममा पारेको छ । पहिरोले तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा धेरै क्षति गरेको छ । गाउँपालिकाभित्र पहिरोको कारण २८ घरपरिवार प्रभावित भएका छन् भने १५ घरमा पूर्णरूपमा क्षति पूगेको छ । पालिकाको वडा नम्बर ४ पहिरो १५ घरमा क्षति पुगेको छ भने वडा नम्बर २ का १३ घरपरिवार उच्च जोखिममा छन् ।

त्यसैगरी जिल्लाको जिरी नगरपालिकामा पहिरोको कारण २६ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । जिरी नगरपालिका वडा नम्बर–३ मा गत असार २९ गते अविरल वर्षासँगै खसेको पहिरोको कारण १४ घरपरिवार विस्थापित बनेका छन् भने सोही राति गएको पहिरोले वडा नम्बर २, ४ र ६ का थप ८ घर उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी विगत तीन वर्षदेखि आइरहेको कालिञ्चोक गाउँपालिका–५ लापिलाङ पहिरोले यस वर्ष थप चार घर बगाएको छ भने ४० घरपरिवारलाई प्रभावित बनाएको छ । लापिलाङमा अहिले पनि पहिरो बगिरहेको छ । रानी भिरबाट सुरु भएको यस पहिरोले हालसम्म यहाँका करिब दुई सयभन्दा बढी घरपरिवार प्रभावित भएका छन् । पहिरोले तीन वर्षको अवधिमा ३७ घर बगाइसकेको छ ।

गत वर्षको तुलनामा जिल्लाको गौरीशंकर गाउँपालिका पनि यस वर्ष पहिरोका घटना वृद्धि भएको छ । दुई वर्षअघि पनि गौरीशंकर गाउँपालिका पहिरोले ठूलो जनधनको क्षति गरेको थियो । यस वर्ष पनि सो गाउँपालिका १९ घरमा क्षति पु-याएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ सिमीगाउँमा गत साउन ८ गते बस्तीमाथिबाट झरेको पहिरोले १९ घरलाई क्षति पु-याएको छ । त्यसैगरी विगु गाउँपालिका वडा नम्बर–४ पहिरोको कारण २५ घरपरिवार जोखिममा परेका छन् भने शैलुङ गाउँपालिकाभित्रका विभिन्न ठाउँमा गएको पहिरोका कारण २२ घरपरिवार पहिरोको जोखिममा रहेकोे प्रहरीले जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया