Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलोकल रक्सीको ‘प्याटेन्ट राइट्स’मा आदिवासी जनजाति महिलाको दाबी

लोकल रक्सीको ‘प्याटेन्ट राइट्स’मा आदिवासी जनजाति महिलाको दाबी


काठमाडौं । नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा विमति जनाएका छन् । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको भनाइ छ ।

लोकल रक्सीलाई ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा हुने तर आदिवासी महिलाको परम्परागत ज्ञान र आर्थिक व्यवस्थामा खलल पुग्ने भन्दै उनीहरुले विमति जनाएका हुन् । आदिवासी जनजाति महिलालाई स्वतन्त्र र निर्बाधपूर्णक लोकल रक्सी उत्पादन गर्न दिनुपर्ने उनीहरुको माग छ ।

२८औँ विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने सन्दर्भ आदिवासी महिलाको विरुद्धमा रहेको बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले लोकल रक्सी उत्पादन गर्ने परम्परागत ज्ञानको मुख्य हकदार आदिवासी जनजाति महिला रहेको बताउँदै ब्राण्डिङ गर्ने प्रयासले अधिकार खोस्ने बताइन् । यदि, ब्राण्डिङ नै गर्ने हो भने त्यसको प्याटेन्ट राइट्स (प्रतिलिपि अधिकार) आदिवासी महिलामा हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष लामाले भनिन्, ‘ब्राण्डिङ गर्दा निश्चित व्यापारीलाई फाइदा होला तर तमाम आदिवासी महिलाहरुबाट परम्परागत ज्ञान र परम्परागत अर्थव्यवस्था खोसिन्छ । लोकल रक्सी उत्पादन गर्ने ज्ञान आदिवासी महिलाको परम्परागत ज्ञान हो, सीप हो । यसको प्याटेन्ट राइट्स आदिवासी महिलासँग मात्र हुन्छ । यो अरुको हुन सक्दैन ।’ यस्तै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी संस्थापक अध्यक्ष स्टेला लामाले बौद्धिक सम्पत्ति संरक्षणको नाममा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञानमाथि हस्तक्षेप गर्ने नीति अघि सारिएको आरोप लगाइन् ।

परम्परागत ज्ञानबाट उत्पादित रक्सीलाई राज्यले प्रतिबन्ध लगाउनेभन्दा पनि संरक्षण गर्नुपर्ने उनको भनाइ छ । यस्तै महासंघकी महासचिव शान्ति देवानले लोकल रक्सी उत्पादन आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र अर्थव्यवस्था रहेको बताउँदै उक्त ज्ञानको राज्यपक्षबाटै संरक्षण र प्रवद्र्धन हुनुपर्नेमा जोड दिइन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया