Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपर्वतीय पर्यटन व्यवसायीमा चुनावी सरगर्मी अध्यक्षमा तीन जनाको उम्मेदवारी घोषणा

पर्वतीय पर्यटन व्यवसायीमा चुनावी सरगर्मी अध्यक्षमा तीन जनाको उम्मेदवारी घोषणा


काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूमा चुनावी सरगर्मी बढेको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४४औँ साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको हो ।

टानको ४४औँ साधारणसभा तथा नयाँ नेतृत्व चयनको लागि निर्वाचन यही साउन ३० गते हुँदै छ । टान निर्वाचनमा अध्यक्ष पदका लागि तीन जना व्यवसायीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नीलहरि बाँस्तोला, कमल सापकोटा र बोधराज भण्डारीले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्ष पदका प्रत्यासीले आ–आफ्नो समूहबाट उम्मेदवारी घोषणा गरेर व्यावसायिक छलफल र प्रचारप्रसारलाई तीव्रता समेत दिएका छन् । अध्यक्षका प्रत्यासीले व्ययसायीमाझ टान नेतृत्वमा पुगेको खण्डमा आगामी कार्ययोजनाको खाकाको फेहरिस्त प्रस्तुत गरिरहेका छन् । अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठन र नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी संगठनले सहयोग गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) निकट व्यवसायी सापकोटा र स्वतन्त्र उम्मेदवारका रूपमा भण्डारीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अध्यक्षका प्रत्यासी बाँस्तोलाले टानलाई पूर्ण व्यावसायिक हितका लागि काम गर्ने प्रभावकारी संस्थाको रूपमा स्थापित गर्दै पर्वतीय पर्यटन विकास र प्रवर्द्धनमा सक्रिय बनाउने बताए । उनले टानलाई डिजिटलाइज गर्दै पूर्ण व्यवसायीमैत्री संस्थाको रूपमा विकास गर्ने योजना रहेको उल्लेख गरेका छन् । ‘पर्यटन क्षेत्रलाई गुणस्तर अभिवृद्धि गर्न जरुरी छ । विजनेस दर्ता गरेर मात्रै संभव हुँदैन । त्यो व्यवसायी व्यवसाय गर्न सम्भव छ कि छैन’, उनले भने, ‘पदमार्गमा कुनै पदयात्री कुनै पनि खाले समस्यामा परेर सहयोग खोजेको अवस्थामा टानले सहजीकरण गर्ने वातावरण हुनुपर्छ ।’ यस्तै उनले व्यवसायीले चाहेका बेला एकै थलोबाट आवश्यक किताब, फोटो, भिडियोलगायत सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले टानमा ई–लाइबेरी स्थापना गर्ने योजना रहेको बताए । विदेशी पर्यटक नेपाल भित्रिने सबै मुलुकमा बढीभन्दा बढी विदेशीलाई आकर्षण गर्न योजनाबद्ध कार्यक्रम लैजानुपर्नेमा उनले जोड दिएका छन् । यस्तै उनले टानलाई प्रादेशिक संरचनामा लाने उल्लेख गरेका छन् ।

टानका पूर्वअध्यक्ष दीपक महत सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ गतिदिने नेतृत्व टान निर्वाचनबाट चयन हुनुुपर्ने बताउँछन् । उनले टानलाई व्यवसायमैत्री बनाएर सेवालाई चुुस्तदुरुस्त बनाइनुपर्ने खाँचो औँल्याए । टानका पूर्वअध्यक्ष रमेश धमलाले विषयवस्तुलाई बुझेर प्रस्तुत गर्ने, पर्यटन क्षेत्रको समस्यासँग जुध्नसक्ने नेतृत्व अपरिहार्य रहेको बताउँछन् । पर्वतीय पर्यटन क्षेत्रमा नयाँ उत्पादन बढाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरण गर्ने क्षमता भएका व्यक्तिलाई नेतृत्वमा पु-याउनुपर्नेमा उनको जोड छ । लगानी, कनेक्टिभिटी र उत्पादनको चुनौतीलाई व्यवस्थापन गर्ने बुझेको नेतृत्व आवश्यक रहेको भन्दै धमलाले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर टानको क्षमताबारे बुझाएर अगाडि बढ्नसक्ने नेतृत्व अहिलेको अपरिहार्यता भएको उल्लेख गरे । पर्यटन व्यवसायी निमा शेर्पाले टानलाई व्यवसायीको हितमा काम गर्ने संस्थाको रूपमा स्थापित गर्न सही नेतृत्व चयन गरिनुपर्ने खाँचो औँल्याए । टानका पूर्वकेन्द्रीय सदस्य एवं टिपपट ट्रेकिङका अध्यक्ष शेर्पाले टानको विद्यमान संरचनालाई व्यापक बनाई सेवालाई समयसापेक्ष सुदृढ तुल्याइनुपर्नेमा जोड दिए ।

टान निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार साँझ अन्तिम मतदाता नामावली प्रकाशन गरिएको टान सचिवालयले जनाएको छ । उक्त निर्वाचनमा एक हजार दुई सय ५० मतदाताले भाग लिनेछन् । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । उम्मेदवारको प्रथम चरणको नामावली बिहीबार साँझ ५ बजेसम्म प्रकाशन गरिनेछ । साउन २८ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको नामउपर दाबी विरोधमा उजुरी दिन साउन २७ गते दिउँसो १२ बजेसम्म समयावधि तोकिएको छ ।

टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् । जसमध्ये वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा नौ जना (महिला एक जना र खुल्ला सदस्य आठ जना) सदस्य रहेका छन् । टानको २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा एक हजार आठ सय ५० हाराहारी व्यवसायी आबद्ध छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया