Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअकबरे खेतीबाट मनग्य आम्दानी

अकबरे खेतीबाट मनग्य आम्दानी


दोलखा । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर–७ फस्कुका कृष्णहरि खड्का विगत पाँच वर्षदेखि गाउँमै तरकारी खेतीमा लागेका छन् । उनले १२ वर्षदेखि गर्दै आएको पसलको व्यवसाय त्यागेर तरकारी खेतीमा लागेका हुन् । पुरानो पेसाबाट राम्रो आम्दानी नभएपछि गाउँमै कृषि गर्ने सोच बनाएर २०७२ सालको विनाशकारी भूकम्पपछि उनी २०७३ सालमा गाउँ फर्किएका थिए ।

गाउँमै सानोतिनो कृषि व्यवसाय गरेर घर खर्च गर्ने सोचसहित गाउँ फर्केका उनले २०७४ सालदेखि आफ्नो बाँझो बारीमा अकबरे खुर्सानीको खेती सुरु गरेको सुनाए । सुरुको वर्ष चार सय ३५ वटा खुर्सानीको बिरुवा लगाएर कृषिमा लागेका खड्काले अहिले सोही व्यवसायलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । खड्काले पाँच रोपनी जग्गामा नौ सय बोट खुर्सानी र पाँच वटा गोलभेँडाको टनेल लगाएका छन् । उनले शैलुङ आसपासमै पाइने स्थानीय जातको अकबरे खेती गरेको बताए ।

गत वर्ष एक सिजनमा ७५ हजारको खुर्सानी बिक्री गरेका खड्काले यसवर्ष पनि दशैसम्म खुर्सानी र गोलभेडा बेचेर करिब एक लाख आम्दानी गर्ने बताए । खड्काले अहिले पनि दुई पटक खुर्सानी बेचेर २० हजार आम्दानी गरिसकेको सुनाए । हिजोआज उनले उत्पादन गरेको अकबरे खुर्सानी जिल्लाको सदरमुकाम चरीकोटमा बिक्री हुनेगरेको छ ।

खड्काले सदरमुकाम चरीकोटमा दुई पटकमा गरी ६५ केजी खुर्सानी बिक्री गरेको बताए । गाउँमै खुर्सानी बिक्री गर्न बजार अभाव भएको हुँदा खुर्सानी बेच्न चरीकोट ल्याउने गरेको उनले जानकारी दिए । जिल्ला सदरमुकाम चरीकोट लगेर उनले प्रतिकेजी दुई सय ५० रूपैयाँदेखि तीन सय रूपैयाँसम्म बेच्ने गरेको बताए । त्यस्तै उनले समय–समयमा खुर्सानीमा विभिन्न प्रकारको रोग लाग्ने हुँदा धेरै खुर्सानी सुक्ने, झर्ने र कुहिने हुँदा सोचेअनुसारको आम्दानी गर्न नसकेको बताए ।

छोटो समयमै कृषिबाट राम्रो आम्दानी गर्न सुरु गरेका खड्का सानोतिनो व्यवसायबाट पनि घरखर्च चलाउन सकिने बताउँछन् । उनि भन्छन्, ‘काठमाडौंमा पसलमा काम गर्दा घरखर्च धान्न समस्या हुन्थ्यो, अहिले गाउँ फर्केर कृषि व्यवसायमा लागेपछि घरपरिवारको खर्च धानेर केही रकम बचत समेत हुनेगरेको छ ।’

कृषिलाई नै आम्दानीको मुख्य स्रोत बनाएकाले उनलाई पछिल्लो समय वडाले प्राविधिक सहयोग गरेको छ भने कृषि ज्ञानकेन्द्र रामेछापले ३० हजारबराबरको प्लास्टिक पोखरी अनुदान र आरआरएन नामक गैरसरकारी संस्थाले गोलभेँडा खेतीको लागि प्लास्टिक टनेल सहयोग गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया