Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचिस्यान केन्द्र सञ्चालनमा ढिलाइ

चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ


रामेछाप । रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा सञ्चालनमा आउन ढिलाइ भएको छ । बागमती प्रदेश सरकारको पाँच करोड रूपैयाँ र मन्थली नगरपालिकाको दुई करोड रूपैयाँ लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा आउन नसकेको हो ।

जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पु-याउने उद्देश्यले चिस्यान केन्द्र निर्माण भए पनि हालसम्म प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेको छैन । निर्माण कम्पनीले विसं २०७८ असार मसान्तअघि नै कार्यसम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख छ । रामेछापमा जुनार सुन्तलाजस्ता अमिलो जातका फलफूल तथा आलुलगायतका तरकारी ठूलो परिमाणमा उत्पादन हुने गर्छ । चिस्यान केन्द्र नहुँदा किसानको कतिपय उत्पादन समयमा बिक्री नहुँदा त्यतिकै नाश हुने गरेको छ । केन्द्र बनेपछि समयअनुकूल तरकारी बिक्री गर्न सकिने कृषकको विश्वास छ । केन्द्र निर्माण सुरु भएयता आफूहरूले उत्पादनमा वृद्धि गरेको कृषक मीनबहादुर खड्काले बताए । समयमै चिस्यान केन्द्र नबन्दा आफूहरूले उत्पादन गरेको आलु, काउली, टमाटर सधैँ कुहिएर जाने गरेको कृषकको गुनासो छ ।

‘घरनजिकै चिस्यान केन्द्र बन्छ भन्दा जति खुसी लागेको थियो, केन्द्र अलपत्र अवस्थामा पुग्दा त्योभन्दा बढी दुःख लागेको छ’, अर्का कृषक पार्वती सुवेदीले भने । प्रदेश सरकारले निर्माणसम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्न ढिलाइ गर्दा चिस्यान केन्द्र अलपत्र आवस्थामा पुगेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताए ।

 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया