Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकाठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न महानगरको निर्देशन

काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न महानगरको निर्देशन


काठमाडौं । पछिल्लो केही दिनयता महानगरभित्र अनधिकृतरूपमा बनाइएका संरचनाहरू भत्काउँदै आएको काठमाडौं महानगरपालिकाले कर नतिर्ने व्यवसायीलाई समेत कर तिर्नको लागि अल्टिमेटम दिन थालेको छ ।

व्यवसाय सञ्चालन गरेर वर्षौँदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन दिएको हो । महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बुधबार फनपार्कलाई पत्र लेखी तिर्न बाँकी सम्पूर्ण रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न निर्देशन दिएका छन् । तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी समेत गर्ने महानगरले चेतावनी दिएको छ ।

समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर वर्षौँदेखि व्यवसाय गर्दै आएको फनपार्कले २०७२ सालदेखि महानगरपालिकालाई कर तिरेको छैन । फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर बुझाउनुपर्छ । तर महानगरले पटक–पटक ताकेता गर्दा समेत फनपार्कले उक्त कर तिरेको छैन । व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्ज कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न महानगरले फनपार्कलाई निर्देशन दिएको छ ।

फनपार्कले वर्षमा व्यवासय करबापत महानगरलाई करिब २० हजार रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, फनपार्कले मनोरञ्जन करबापत आगन्तुकले तिरेको रकममध्ये ५ प्रतिशत महानगरलाई दिनुपर्छ । उक्त रकममध्ये ६० प्रतिशत महानगर र बाँकी ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने महानगरले जनाएको छ । महानगरका अनुसार कुनै पनि कर हालसम्म फनपार्कले तिरेको छैन । फनपार्कलाई बहाल लगाएको समाज कल्याण परिषद्ले पनि महानगरलाई बहाल कर नतिरेको महानगरले जनाएको छ । महानगरले बहाल करमार्फत वार्षिक १० प्रतिशत लिने गरेको छ । काठमाडौं फनपार्क पूर्वश्रमराज्यमन्त्री एवं मेनपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया