Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकाठमाडौं प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक

काठमाडौं प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दशैँ, शुभदीपावली तथा छठ पर्व र नेपाल संवत्लाई मध्यनजर गरी काठमाडांैको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाई सुरक्षित वातावरण निर्माण गर्न सुरक्षा योजना, २०७९ तयार गरी लागू गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा सवारीसाधनको टिकटमा हुने ठगी, अवैध मदिरा बिक्री वितरण, सवारी दुर्घटना, पकेटमार र लुटपाटलगायतका काम हुने भएकाले विशेष सुरक्षा योजना अघि सारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार राजधानीका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । सुन्धारा, कोटेश्वर, तिलगंगा, गौशाला, चाबहिल चोक, गोंगबु, नयाँ बसपार्क, बालाजु बाइपास, कलंकी र बल्खुमा यात्रु सहायता कक्ष राखिन लागेको हो ।

यस्तै चाडपर्वको समयमा देशको संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । चाडपर्वमा प्रहरीको ९१ ठाउँमा पिकेटिङ गस्ती, ६० वटा ठाउँमा बिहान बेलुका र दिउँसो पैदल गस्ती हुनेछ । यस्तै, बिहान र रातको समयमा २४ वटा मोबाइल गस्ती, ७६ वटा साइकल गस्ती, १४ वटा क्वीक रेस्पोन्स टिम र क्रस चेकिङका लागि ४६ ठाउँमा प्रहरी परिचालन गरिने प्रहरीको तयारी छ ।

यस्तै, १२ स्थानका टिकट काउन्टरमा प्रहरी खटाउने, २८ स्थानमा नाका सिल, कर्डन एन्ड सर्च, ३५ स्थानमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्चा पम्प्लेट वितरण, ४२ स्थानमा चेक प्वाइन्ट, ३८ स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ । यसैगरी, १२ वटा मन्दिरमा प्रहरी परिचालन, खसी, कुखुरा किनबेच हुने बजारमा सुरक्षा, २२ स्थानमा एम्बुसिङ र निगरानी, ४६ स्थानमा सीआरबी परिचालन, छ स्थानमा अनुगमन र अतिविशिष्ट व्यक्तिको सवारी तथा कार्यक्रमको सुरक्षा व्यवस्थापन मिलाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न्याय र पीडकलाई सजाया दिलाउने सुरक्षा योजनाको प्रमुख उद्देश्य रहेको बताए । अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानलगायतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना संकलन तथा प्रहरी परिचालन गरिने उनले जानकारी दिए ।

यस्तै काठमाडौँ प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको फेसबुक पेज, ट्राफिक एफएम तथा सञ्चारका अन्य माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टोल–टोलमा माइकिङ गर्नुका साथै पर्चा पम्प्लेट वितरण गर्ने, स्थानीय जनसमुदाय, सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीसँग निरन्तर छलफल तथा अन्तरक्रिया गर्ने जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया