Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरले जनाएको छ ।

‘बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साहित हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ’, चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चेम्बरले हाल कायम स्प्रेड दर, एवं बैंकहरूको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । यस्तै कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवाशुल्कलाई हटाउन समेत चेम्बरले माग गरेको छ । उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नका लागि एकल दरको ब्याज कायम गर्न समेत चेम्बरले आग्रह गरेको छ । बैंकहरूको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरी विगतका वर्षहरूमा जस्तो अधिकतम २ प्रतिशत प्रिमियममा थप हुने व्यवस्था गर्न पनि चेम्बरले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

यस्तै चेम्बरले परियोजना, पूर्वाधार तथा पर्यटन क्षेत्रमा प्रवाह गरिएको कर्जामा निश्चित अवधिसम्म स्थिर ब्याजदर कायम गर्न पनि माग गरेको छ । निक्षेप लिएर कर्जा प्रवाह गर्दा सोही महिनामा ब्याजदर वृद्धि नगरी तीन महिनापछि मात्रै कायम गर्ने व्यवस्थालाई यथावत राख्ने व्यवस्था मिलाउन पनि चेम्बरले राष्ट्र बैंकसँग माग गरेको छ । उच्च दरको आर्थिक वृद्धिका लागि एकल अंकको ब्याजदर कायम हुनुपर्ने भन्दै चेम्बरले तरलताको समुचित व्यवस्थापनका लागि पुँजीगत खर्च समयमै गर्न समेत आग्रह गरेको छ । यसका लागि प्रत्येक त्रैमासिकमा पुँजीगत खर्चको समीक्षा र लक्ष्य प्राप्तिको लागि पहल गरिनुपर्ने चेम्बरको माग छ ।

यस्तै चेम्बरले नेपालमा व्यावसाय सञ्चालन प्रक्रिया परम्परागत शैलीमा सञ्चालन भएकोले कारोबारलाई डिजिटलाइजेसन र उधारो कारोबारलार्ई निरुत्साहित गर्न सुझाव दिएको छ । साथै चेक बाउन्स, कालोसूचीलगायतका अन्य प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी व्यवस्थित गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ । चेम्बरले राष्ट्र बैंकलाई विभिन्न नौ बुँदामा आफ्नो ध्यानाकर्षण गराएको जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया