Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबजारमा खसिबोका खरिद–बिक्री गर्नेहरूको भिड

बजारमा खसिबोका खरिद–बिक्री गर्नेहरूको भिड


दोलखा । दशैँ नजिकिँदै गएसँगै बजारमा खसीबोका खरिद–बिक्री गर्नेहरूको भिड देखिन थालेको छ । जिल्लाको सदरमुकाम चरीकोट, मैनापोखरी, सिंगटी, जिरी, मागदेउरालीलगायतका बजारमा लाखौँको खसीबोकाको कारोबार हुन थालेको छ । त्यस्तै गाउँघरमा पनि खसीबोका खोज्न हिँड्नेको लस्कर देखिन थालेको छ ।

यस्तै जिल्लाबाट पछिल्लो एक सातामा झन्डै दुई सय खसीबोका काठमाडौँको लागि बाहिरिएका छन् । यस्तै दशैँको सिजन पारेर काभ्रे, भक्तपुर, काठमाडौं तथा तराईका केही जिल्लाका व्यापारीहरू समेत खसीबोका लिनका लागि दोलखामा आउने गरेका छन् । बजारमा खसीबोकाको माग बढेपछि गाउँघरमा खसीबोका खोज्न आउने व्यापारी समेत बढेको जिरी नगरपालिका–९ ठूलोपातलका स्थानीय व्यापारी चित्र तामाङले बताए । उनको फार्मबाट मात्र एक सातामा तीन लाख रूपैयाँबराबरको ११ वटा खसी र तीनवटा बोका बिक्री गरेको भएको छ । तामाङले पनि दशैँको सिजन पारेर विभिन्न गाउँबाट खसीबोका खरिद गरेर काठमाडौंलगायतका ठूला व्यापारी सहरमा खासीबोका बिक्री गर्न लैजाने गरेका छन् । मुख्यगरी जिल्लाका ग्रामीण बस्तीमा खसीबोका व्यापारी खसी किन्न घरसम्म पुग्ने गरेका छन् ।

यस्तै खसीबोकाको कारोबार बढेसँगै मासुको मूल्य पनि बढेको छ । जिल्लाका गाउँघर प्रतिकेजी आठ सय रूपैयाँ रहेको मासुको मूल्य अहिले बढेर एक हजार पुगेको छ । सदरमुकाम चरीकोटमा भने खसीको मासुको मूल्य प्रतिकेजी एक हजार दुई सय रूपैयाँदेखि एक हजार चार सय रूपैयाँसम्म रहेकोे छ । त्यस्तै जिल्लाका हाटबजारमा पनि खसीबोका बिक्रीको लागि ल्याइन थालिएको छ । तामाकोशी गाउँपालिकाको जफेमा लाग्ने छौँडे हाटलगायतका हाटबजारमा समेत खसीबोका तथा कुखुराको कारोबार बढेको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया