Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगीतकार रमेशका गीतमा सामाजिक सवाल र अवार्ड

गीतकार रमेशका गीतमा सामाजिक सवाल र अवार्ड


काठमाडौं । यो वर्ष निकै चर्चामा रहेका गीतकार रमेश दहालको गीत ‘आफैँ हिँड्ने भीरको बाटो’ले फेरि ‘२२औँ टुबोर्ग ईमेज अवार्ड’ हात पारेको छ । विकास भनेको हामी आफैँले गर्ने प्रयास हो, त्यसैले हामी आफैँ त्यो बाटोमा लाग्न ढिला गर्नुहुन्न भन्ने मूल सन्देश दिँदै लेखिएको उनको गीत गतवर्ष पनि गीतकार संघ नेपालबाट पुरस्कृत भएकै हो । उसो त रमेश दहाल आफैँमा नेपालका एक सशक्त गीतकार हुन् । उनलाई रेडियो नेपालबाट ‘क’ वर्गको गीतकारको परिचय प्राप्त छ । उनी गीतकार संघ नेपाल, सङ्गीत रोयल्टी संकलन समाज र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजसँग पनि आबद्ध छन् ।

रमेशका सबैजसो गीतले नेपाली गीतसङ्गीतको क्षेत्रमा व्यापक चर्चा बटुलेका छन् । खासगरी विकासका मुद्दामा अर्काको मुख ताकेर बस्नु राम्रो होइन भन्ने आसयले लेखिएको गीत ‘आफैँ हिँड्ने भीरको बाटो’ गाउँ–गाउँमा धेरैको ओठमा झुण्डिन पुगेको छ । गतवर्ष मात्र बजारमा आएको यो गीतले आम जनमानसमा व्यापक छलफल चलाएको छ । रमेशको गीतले दुर्गम बस्तीका मानिसहरूमा विकास तथा पूर्वाधारका योजनामा युवालाई एकताबद्ध हुन प्रेरित गरेको छ । गीतले देशको विकासमा हामी आफैँ लाग्नुपर्ने, एक थोपा पसिना पनि यही माटोमा पोख्नुपर्ने सन्देश प्रवाह गरेको छ । केबल एउटा गीतले युवामा सकारात्मक सन्देश फैलाउन सकेकोमा स्रष्टाहरू रमेशका गीतमा समाजलाई दिशानिर्देश गर्न सक्ने क्षमता रहेको बताउँछन् ।

उनका सबैजसो गीतले साधारण मानिसदेखि विज्ञहरूलाई समेत प्रभाव पार्नसक्ने क्षमता रहेको सम्बन्धित क्षेत्रका व्यक्तित्वहरू बताउँछन् । त्यसो त रमेशले निकै अगाडि पनि यस्तै अर्को गीत लेखेका थिए– कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो ? यो गीत नेपालको राजनीतिक, आर्थिक अवस्था, पूर्वाधार, जनचेतना र पहँुचका लागि नीति–निर्मातालाई प्रश्न गर्न सफल भएको मानियो । नेपाल स्वीस सामुदायिक वन परियोजनाको लगानीमा बनेको सो गीत विकासे कार्यकर्ता, नीति–निर्माता र विज्ञहरूमाझ निकै चर्चित छ भने साधारण श्रोतामा स्रोत र साधनको न्यायोचित वितरण, अवसरमा समान पहुँच, लैंगिक समानताका पक्षमा राम्रो चेतना जगाउने छ ।

रमेशले गीतमा लेखेझैँ आज युवापुस्ता राजनीतिमा आफ्नो प्रभावकारी भूमिका खोजिरहेका छन् । देशका मुख्य सहरमा स्वतन्त्रबाट विजयी युवाहरू नगरप्रमुखको रूपमा काम गरिरहेका छन् । परम्परागतरूपमा भन्दा केही फरक कामहरू पनि भइरहेका छन् । महिलाहरूमा चेतना र राजनीतिक पहुँच बढेको छ । राष्ट्रिय राजनीतिमा महिला सहभागिता उल्लेख्य भएको छ । जातका आधारमा हुने भेदभाव घट्दै गएको छ । सर्जकका गीतले बर्षौदेखि उठाएका मुद्दा आज धेरैको चासोको विषय बनेको छ । वरिष्ठ सङ्गीतकार शक्ति वल्लभ श्रेष्ठको सङ्गीत, आनन्द कार्की र माण्डवी त्रिपाठीको स्वरको ‘कहिले बन्ला हाम्रो गाउँमा…’ बोलको गीतले उठाएका सवाल आज धेरै हदसम्म सुल्झिएका छन् । ‘सर्जकले समाजका समस्यालाई आफ्ना सिर्जनामा उतार्ने हो र नीति निर्मातासम्म पु-याउने हो, बाँकी तिनले आम मानिसका साझा समस्यालाई समाधान गर्ने हो’ गीतकार रमेशको भनाइ छ ।

रमेश आफैँ पनि गीत–सङ्गीतले समाजमा पार्ने प्रभावका बारेमा लेखहरू लेख्छन् र प्रकाशन समेत गर्दछन् । उनी आफैँले लेखेको गीतले विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पारेको, श्रोताले सकारात्मक र नकारात्मक टीकाटिप्पणी गरेको, विभिन्न अवार्ड तथा सम्मानले हौसला दिएकोमा अझ यस्तै सकारात्मक योगदान दिनसक्ने गीत लेख्न मन पराउँछन् । करिब एक हजार गीत लेखेका रमेशका अधिकांश गीत समाजलाई सकारात्मक बाटोमा लान योगदान दिने उद्देश्यले प्रेरित छन् । गीत–सङ्गीतको केन्द्रविन्दु भनेको मनोरञ्जन पनि हो । त्यसैले मनोरञ्जनका लागि पनि रमेशका गीत निकै सफल भएका छन् । समग्रमा उनका गीतले समाजका सवाल उठान गरेका छन् र समाधान समेत निस्किएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया