Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुरक्षित गर्भपतनमा सामाजिक बन्धन

सुरक्षित गर्भपतनमा सामाजिक बन्धन


जाजरकोट ।  छेडागाड नगरपालिका–४ की एक युवती आफ्नो दुई महिनाको गर्भपतन गराउन सुर्खेतस्थित प्रदेश अस्पतालमा पुगिन् । छेडागाडभित्र रहेका स्वास्थ्य संस्थामै गर्भपतनको सुविधा भए पनि उनलाई आफ्नै गाउँ–ठाउँमा गर्भपतन गराउँदा सामाजिक रूपमा अपमान सहनुपर्ला भन्ने डरले सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुगेकी थिइन् ।

गर्भपतन गराउँदा समाजले थाहा पाउने डरले उनले घरपरिवारका अन्य सदस्यसँग अनुमति लिएर श्रीमान्का साथमा गर्भपतन गराउन यहाँ आएको बताइन् । ‘म यहाँ श्रीमान्सँगै आएकी छु, गर्भपतन गराउने कुरा श्रीमान् र मलाई मात्रै थाहा छ’, उनले भनिन् ।नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता प्रदान गरे पनि सुरक्षित गर्भपतन गराउन अझै सामाजिक बन्धन कायमै रहेको उनको बुझाइ छ । उनले भनिन्, ‘गाउँमै गर्भपतन ग-यो भने समाजले थाहा पाउला भन्ने डरले यहाँ आएकी हुँ । गाउँमा गर्भपतन गराउँदा कम शुल्क लाग्थ्यो, यहाँ आउँदा खर्च धेरै लाग्यो ।’ यहाँ आउँदा २० हजारजति खर्च लाग्ने ती महिलाले बताइन् । मान्यताप्राप्त स्वास्थ्य संस्थामा भने निःशुल्क गर्भपतन सेवा उपलब्ध छ ।

उनीजस्ता थुप्रै गाउँका महिला कानुनी अज्ञानता र समाजको डरका कारण समस्यामा पर्ने गरेका छन् । कानुनी मान्यता पाएको भए पनि गाउँमै गर्भपतन गराउँदा समाजले नकारात्मक दृष्टिकोणले हेर्ने गरेको दैलेखको नौमूले गाउँपालिका–२ की एक युवतीको भनाइ छ ।  उनी पनि आफ्नो एक महिनाको गर्भपतन गराउन वीरेन्द्रनगरको कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पतालमा आइपुगेकी हुन् । ‘गाउँमै गर्भपतन गराउँदा अमानवीय व्यवहार सहनुपर्छ । त्यसैले श्रीमान्लाई लिएर यहाँ आएकी हुँ’, ती युवतीले भनिन्, ‘गाउँमै भए सस्तो हुन्थ्यो, यहाँ आउँदा र फर्किँदा धेरै खर्च भयो ।’ गर्भपतनपछि अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सल्लाह नपाउँदा कतिपय महिलाको स्वास्थ्य थप जोखिममा पर्ने गरेको छ । नेपालमै सुरक्षित र भरपर्दाे गर्भपतनको सुविधा हुँदाहुँदै पनि त्यसको जानकारी नपाएकै कारण ग्रामीण समुदायका महिला खर्चिलो र जोखिमपूर्ण गर्भपतन गराउन बाध्य भएका हुन् ।

सुरक्षित गर्भपतनका लागि नेपालका अस्पतालमा एक हजारदेखि एक हजार पाँच सयसम्म मात्र खर्च लाग्छ भन्ने कतिपयलाई जानकारी नहुँदा २५/३० हजार रुपैयाँसम्म खर्च तिर्ने गरेका छन् । कक्षा ८ पास गरेकी ती युवतीले भनिन्, ‘अलिअलि पढे लेखेको भए पनि मलाई त समाजको डर छ भने गाउँमा घाँस दाउरा गर्ने अनपढ महिलालाई झन् समस्या छ ।’ उनका श्रीमान्लाई पनि गर्भपतन गराउने कानुनी व्यवस्थाबारे राम्रो थाहा छ । आफूलाई जानकारी हुँदाहुँदै पनि छिमेकीले थाहा पाउलान् भन्ने डरले गाउँमै गर्भपतन नगरेर यहाँ आएको उनका श्रीमान् बताउँछन् ।
शिक्षित र जानेबुझेका दम्पतीहरू जिल्लाकै स्वास्थ्य संस्थामा गर्भपतन गराउँदैनन् ।

जिल्लामै गर्भपतन गराउँदा सामाजिक रूपमा अपमान हुने र अरूले थाहा पाउने डरले गर्भपतन गराउन जिल्लाका स्वास्थ्य संस्था छाडेर अन्यत्रै पुग्ने गर्छन् । कर्णालीका धेरै जिल्लाबाट गर्भपतनका लागि वीरेन्द्रनगरका मान्यता प्राप्त स्वास्थ्य संस्थामा आउने गरे पनि एकीन तथ्याङ्क भने कसैसँग पनि रहेको पाइँदैन ।  जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी पब्लिक हेल्थ नर्स सङ्गीता खड्काले गर्भपतनका लागि आउने ग्रामीण क्षेत्रका महिलाको सङ्ख्या दिनप्रतिदिन बढिरहेको बताइन् । बढ्दो आधुनिकीकरण, वैदेशिक रोजगारी, युवा अवस्थाको प्रेम, छोराको चाहनाजस्ता कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको उनले बताइन् ।

बढ्दैछ गर्भपतन गराउने किशोरीको सङ्ख्या
पछिल्लो समय गर्भपतन गराउने किशोरीको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार सुरक्षित गर्भपतन गर्ने २० वर्षमुनिका किशोरीहरूको सङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ । कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण मानिन्छ ।
जनस्वास्थ्य सेवा कार्यालयका पब्लिक हेल्थ नर्स खड्काका अनुसार बिहे गर्ने उमेर नहुँदै अर्थात् २० वर्षमुनि उमेर समूहका किशोरीहरूको ठूलो सङ्ख्या यही उमेरमा गर्भवती भएपछि गर्भपतन गराइरहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा गर्भपतन गर्नेमध्ये दुई सय ४० जना २० वर्षमुनिका किशोरीहरू छन् ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा तीन सय २६ जना २० वर्षमुनिका किशोरीले गर्भपतन गरेका छन् । यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो । आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा दुई हजार चार सय ८३ जनाले गर्भपतन गरेका थिए । २०७७/०७८ मा दुई हजार चार सय ७३ जनाले गर्भपतन गरेका छन् ।  आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार छ सय १५ जनाले गर्भपतन गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्याङ्क छ । असुरक्षित गर्भपतन गर्नेको तथ्याङ्क भने भेटिँदैन । सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्थाहरूलाई मान्यता दिए पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्यासमेत घटेको देखिँदैन । खड्काले भनिन्, ‘असुरक्षित गर्भपतन गर्नेहरूको एकीन तथ्याङ्क हामीसँग हुँदैन । निजी स्वास्थ्य संस्थामा गएर लुकिछिपी औषधि सेवन गर्ने र असुरक्षित गर्भपतन गराउनेहरू पनि छन् ।’ असुरक्षित गर्भपतनको अवस्था निकै जटिलसमेत बन्दै गएको पनि उनले बताइन् ।

जनस्वास्थ्य क्षेत्रमा कार्यरत जानकारहरूका अनुसार अहिले पनि असुरक्षित गर्भपतन गर्नेहरूको सङ्ख्या धेरै छ । समाजका डरले पनि धेरैजसो महिलाहरू असुरक्षित रूपमा गर्भपतन गरिरहेका छन् । यद्यपि सुर्खेतमा रहेका सूचीकृत स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा दिने गरिएको छ । सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवाप्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको बताइएको छ । सुरक्षित गर्भपतन लिनेको सङ्ख्या बढ्नुमा सेवाको पहुँच विस्तार मुख्य कारण भए पनि सबै स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा नहुँदा समस्या रहेको पनि नर्स खड्काले बताइन् ।

उनी भन्छिन्, ‘सेवा विस्तारसँगै असुरक्षित यौन सम्पर्कका कारण पनि उमेर नपुगी गर्भवती बन्ने र गर्भपतन गराउनेहरू बढ्दै गएको देखिन्छ । उमेर नपुगी गर्भवती हुनु शारीरिक र मानसिक हिसाबले पनि राम्रो मानिँदैन ।’ किशोरावस्थामै प्रजनन् अङ्गहरूको पूर्ण विकास नहुने हुँदा गर्भाधारण गर्नु निकै जोखिमपूर्ण हुने खड्का बताउँछिन् । कतिपयले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता नहुने आशङ्कामा पनि असुरक्षित गर्भपतन गराउने गरेको पाइन्छ । ‘सूचीकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा गोपनीयता नहुने भन्नेमा सत्यता छैन’, नर्स खड्काले भनिन्, ‘बरु असुरक्षित गर्भपतनका कारण जटिलता आउन सक्छ, सुरक्षित गर्भपतनमै जोड दिनुपर्छ ।’

लिंग पहिचान पनि चुनौतीपूर्ण
पछिल्ला वर्षमा परिवार नियोजनका साधनको उपलब्धता हुँदाहुँदै पनि बेवास्ता गर्ने तर गर्भ रहेपछि असुरक्षित पतन गर्ने प्रवृत्ति धेरै देखिएको उनको भनाइ छ । असुरक्षित रूपमा गर्भ बोकेका महिला तथा छोरा जन्माउने आसमा लिङ्ग पहिचान गरी असुरक्षित गर्भपतन गराउने गरेका छन् । लिङ्ग पहिचानपछि गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ । खड्काका अनुसार यही अवस्थामा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भए छोराहरूको सङ्ख्या बढ्ने र छारीहरूको सङ्ख्या घटेर वैवाहिक सम्बन्धमा समेत असर पर्ने देखिन्छ ।

लिङ्ग पहिचान गैरकानुनी भए पनि अधिकांश विवाहित महिलाहरूले समेत छोराको आशमा धेरै पटक गर्भपतन गराउँदा पाठेघर गुम्ने खतरा पनि उत्तिकै रहने नर्स खड्काको भनाइ छ । उनले भनिन्, ‘छोटो अवधिमा धेरैपटक गर्भपतन गराउँदा स्वास्थ्य कमजोर बन्दै जान्छ र पाठेघर नै फाल्नुपर्ने अवस्था आउन सक्छ ।’ कतिपयले असुरक्षित गर्भपतन गराउँदा ज्यानसमेत गुमाउनु परेको छ । कानुनतः तालिम प्राप्त व्यक्तिबाट आठ सातासम्मको र विशेष परिस्थितिमा १८ सातासम्मको गर्भपतन गराउन पाइने कानुनी व्यवस्था छ । १८ साताको गर्भपतन सेवा स्त्रीरोग विशेषज्ञको सिफारिसमा निश्चित ठूला अस्पतालमा मात्रै उपलब्ध छ ।

गर्भपतनका लागि डाक्टरलाई १२ हप्ते र नर्सलाई आठहप्ते विशेष तालिम दिएपछि मात्रै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सुरक्षित गर्भपतनका लागि अनुमति दिइन्छ । नेपाल सरकारले सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० लागू गरेपछि देशका विभिन्न मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । गर्भपतन सेवा प्रक्रिया २०६० को दफा ५ को उपदफा ३ वमोजिम १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने व्यवस्था छ । यद्यपि, असक्त महिला तथा विभिन्न कारणले गर्दा गर्भपतन गराउनुपर्ने भएमा सम्बन्धित निकायको सिफारिसमा गर्भपतन गराउन पाउने व्यवस्था पनि गरिएको छ ।

असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यता
सुर्खेतका नौवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमा अझै पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध छैन । चौकुने र सिम्ता गाउँपालिकामा सुरक्षित गर्भपतन गर्ने सूचीकृत सेवा प्रदायक संस्था नहुँदा त्यहाँका महिलाहरूलाई सेवा लिन टाढा जानुपर्ने बाध्यता छ । गर्भपतनका लागि पायक पर्ने ठाउँमा सूचीकृत सेवा प्रदायक संस्था र तालिम प्राप्त जनशक्ति नहुँदा अझै पनि असुरक्षित गर्भपतन गराउन बाध्य हुनुपरेको छ । टाढा जानुपर्ने झन्झटले गर्दा धेरैजसोले नजिकको मेडिकलबाट औषधि प्रयोग गरी असुरक्षित रूपमा गर्भपतन गर्ने गरेका छन् ।

हाल सुर्खेतमा सुरक्षित गर्भपतनका लागि १९ वटा स्वास्थ्य संस्था सूचीकृत छन् । त्यसमध्ये १० वटा सरकारी र नौवटा निजी स्वास्थ्य संस्था हुन् । सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाभन्दा पनि जनशक्तिको निकै ठूलो अभाव छ । तालिम प्राप्त स्वास्थ्यकर्मीको सरुवा भइरहने हुँदा सेवालाई निरन्तरता दिन समेत कठिनाइ हुने गरेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सुरक्षित गर्भपतनका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम)की कार्यकारी निर्देशक मधुरानी ढकालले बताइन् । उनले पछिल्ला वर्षहरूमा असुरक्षित गर्भपतन बढिरहेकाले सचेतनासँगै सेवाको पहँुच विस्तारमा ध्यान दिइनुपर्नेमा पनि जोड दिइन् । उनले छोराको चाहनामा गर्भमा छोरी भए गर्भपतन गर्ने आपराधिक मानसिकले पनि असुरक्षित गर्भपतन बढेको भन्दै यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिँदै भनिन्, ‘कानुनले अपराध ठाने पनि लुकिछिपी गर्भपतन गर्दा यसले जटिलता ल्याइरहेको छ ।’ वामले सुर्खेतमा विगत तीन वर्षदेखि सुरक्षित गर्भपतनमा अधिकार परियोजना सञ्चालन गरिरहेको छ । (रासस)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया