Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध१ वर्षमा ९ लाख ३३ हजार विद्युतीय राहदानी वितरण

१ वर्षमा ९ लाख ३३ हजार विद्युतीय राहदानी वितरण


काठमाडौं । राहदानी विभागले एक वर्षमा नौ लाखभन्दा बढी विद्युतीय राहदानी वितरण गरेको बताएको छ । विभागले विभाग, प्रशासन कार्यालय र नियोगहरुबाट सो संख्यामा विद्युतीय राहदानी वितरण गरेको हो । उसले विद्युतीय राहदानी जारी गर्न सुरु गरिएको २०७८ मंसिर १ देखि गत बुधबारसम्म राहदानी विभागबाट तीन लाख ३४ हजार पाँच सय ८६ वटा, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरुबाट पाँच लाख १६ हजार आठ सय पाँचवटा र विदेशस्थित नियोगहरुबाट ८१ हजार नौ सय पाँचवटा गरी कुल नौ लाख ३३ हजार दुई सय ९३ वटा विद्युतीय राहदानी वितरण गरिएको बताएको हो ।

यस्तै विभागले विद्युतीय राहदानी बनाउन प्रविधिको प्रयोग गरी सहजता प्रदान गरेको जनाएको छ । राहदानीबापत सेवाग्राहीले तिनुपर्ने राजस्व अनलाइनबाट समेत तिर्नसक्ने व्यवस्था मिलाएर सेवा प्रवाहमा सहजता ल्याउने प्रयास गरिएको छ । सेवा प्रवाहमा सहजता ल्याउन ‘नेपाल इ–पासपोर्ट’ मोबाइल एपको निर्माण गरिएको छ। साथै, सफ्टवेयरमा आवश्यक सुधार गरी अनलाइन प्रणालीलाई थप सेवाग्राहीमैत्री बनाउन प्रयास समेत भइरहेको छ ।

विभागले राहदानी बनाइदिने भन्दै ठगी गर्नेलाई निरुत्साहन गरेको समेत जनाएको छ । राहदानी छिटो बनाइदिने, राहदानी लिने मिति अगाडि सारिदिनेजस्ता विभिन्न बहानामा सेवाग्राहीहरुलाई ठगी गर्ने बिचौलियाहरुलाई विभाग, प्रहरी र सेवाग्राही समेतको संयुक्त प्रयासमा पहिचान गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाउने गरिएको छ । साथै, राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरुमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साइबरहरुलाई समेत अनुसन्धान तथा कारबाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोलाई विभागले आग्रह गरेको छ ।

हाल सबै जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा कूटनीतिक नियोगहरुबाट विद्युतीय राहदानी जारी गर्ने कार्य भइरहेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट ‘लाइभ इनरोलमेन्ट’ भई विभागमा छपाइ भएका विद्युतीय राहदानीहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा यथाशीघ्र पुग्ने व्यवस्था गरिएको छ । विद्युतीय राहदानी प्रदान भएसँगै नागरिकहरुलाई राहदानी निर्माणमा सहज भएको छ । नेपालमा वैदेशिक रोजगारीमा जाने संख्या ठूलो हुँदा राहदानीको माग बढ्दो रहेको पाइन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया