Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअनेक रूपका बदर मत !

अनेक रूपका बदर मत !


बलेवा । सानो मतपत्र, चुनावचिह्न थोरै । एउटा मतपत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घर–घरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा । उम्मेदवार तथा दलहरूले आ–आफ्नो चिह्नमा मत राख्नका लागि सञ्चालन गरेको मतदाता शिक्षा ।

मतदानको दुई दिन पहिलेसम्मका यी सबै क्रियाकलाप हेर्दा लाग्थ्यो– यो पटक बदर मत निकै कम आउँछ । स्थानीय निर्वाचनमा बदर मत धेरै देखिएपछि यसपटक मतदाता शिक्षा पनि दिइएको हो । महिला स्वास्थ्य स्वयंसेविकालाई खटाएर पनि यस्तो शिक्षा दिइयो भने अर्कातर्फ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले पनि घर–घर पुग्ने अभियानमा पनि मत हाल्न सिकाएकै थिए । तर शिक्षा र सचेतनाको कमी भनौँ या दल या उम्मेदवारहरूप्रतिको वितृष्ण । धेरै र अनेक तरहका बदर मत भेटिएका छन् बागलुङमा ।

मतगणना जारी रहेको बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभामा छवटा चुनावचिह्न छन् । मत सङ्केत गर्न निकै सहज मतपत्र हुँदाहुँदै पनि मतदाताले भने एउटा मात्रै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेमा छवटै चिह्नमा छाप लगाएका छन् । यस्तो बदर मतको संख्या गन्ने हो भने उल्लेख्य छ । मतपत्रमा रहेका कुनै पनि चिह्नमा छाप नलगाएका मतपत्रको संख्यामा पनि कमी छैन । नेपालको संविधानले नो–भोटको व्यवस्था गरेको छैन । त्यसैले मतपत्रमा नो भोटको विकल्प राखिएको छैन । सायद यसैको प्रतिफल पो हो कि ? मानिसहरूले नो भोटको स्वरूपमा मत बदर गराइरहेको देखिँदैछ ।

केही बदर भएका मतपत्र यस्ता छन् जहाँ नो भोट लेखेर छाप नलगाई छोडेको पाइयो । बागलुङ क्षेत्र नं १ मा १४ हजार एक हजार २३ मतगणना हुँदा चार सय ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सूचनामा उल्लेख छ । बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरू बताउँछन् । ‘कैयौँ मत खाली छन्, सायदै कसैले नजानेर खाली खसालेको होस्’, मतगणनामा सहभागी एक कर्मचारीले भने, ‘कतिपय मतपत्रमा नो भोट लेखेको भेटेका छौँ भने कुनै मतपत्रमा चाहिँ सबै चिह्नमा छाप लगाइएको पनि छ’, दलहरू तथा उम्मेदवारहरूप्रतिको वितृष्णा मतदाताले मतपत्रमा पोखेको भेटेको ती कर्मचारीले बताए । बागलुङ क्षेत्र नं १ प्रदेशसभा (१)मा १५ हजार नौ सय तीन मतगणना हुँदा तीन सय ५२ र प्रदेशसभा (२)मा १५ हजार एक सय ६५ मतगणना हुँदा तीन सय ९१ मत बदर भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया