Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्प गएको पाँच वर्ष बित्दा पनि बनेन विद्यालय

भूकम्प गएको पाँच वर्ष बित्दा पनि बनेन विद्यालय


दोलखा, फागुन २९
चरीकोट सदरमुकामबाट करिब २० किलो मिटर उत्तर पुग्नेबित्तिकै सडकको देब्रे भागमा २०३७ सालमा स्थापना भएको गुर्जपा आधारभूत विद्यालयको पुरानो पक्की भवन जीर्ण अवस्थामा देख्न सकिन्छ । यहाँका करिब दुई सय बालबालिका जस्ताको कटेरोमा दुःखद तरिकाले पठनपाठन गरिरहेका हुन्छन् ।

दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङमा रहेको गुर्जपा आधारभूत विद्यालयका करिब दुई सय विद्यार्थीहरू जस्ताको कटेरोमा पढ्न बाध्य छन् । उक्त विद्यालय जिल्ला समन्वय समितिका सभापति डवल पाण्डे र कालिन्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीको घर छेउमा छ । पाण्डे र थामीले सोही विद्यालयमा पढ्नुका साथै पढाएका पनि थिए । सोही विद्यालयको आडमा राजनीति गरेर संविधानसभा सदस्यसमेत बनेका थिए चुनबहादुर थामी ।

साबिक लालिलाङ गाविसका पूर्वअध्यक्ष धनबहादुर थामी हाल सोही विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् । उक्त विद्यालयले धेरै राजनीतिक नेता त उत्पादन ग-यो तर विद्यालयको भौतिक अवस्था भने अत्यन्तै जीर्ण हुँदै गएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा जिसस प्रमुख र गाउँपालिका प्रमुखले आफ्नो मान्छे खोजेर बनाउँदासमेत भूकम्प गएको पाँच वर्षसम्म पनि विद्यालय निर्माण हुन नसको स्थानिय मिठु खत्रीले बताइन् । खत्रीका अनुसार भूकम्पपछि मात्रै विद्यालयको पुनर्निर्माण गर्छु भन्दै दुईवटा समितिहरू निर्माण भए, तर हालसम्म पनि विद्यालय निर्माण भएन ।

भूकम्प गएको पाँच वर्ष लाग्दा पनि बालबालिकाहरूले पक्की विद्यालयमा पढ्ने अवसर पाएका छैनन् । जिल्लामा बिभिन्न संघसंस्था तथा परियोजनाहरूले विद्यालयहरूको पुनर्निर्माण गरे पनि यहाँको विद्यालय पुनर्निर्माणमा आँखा नपर्दा यहाँका बालबालिकाको बिचल्ली भएको प्रधानाध्यपक ठिलेन शेर्पाले बताए । शेर्पा भन्छन्, ‘हिजोआज पानी, हवाहुरीजस्ता समस्याले जस्ताको कटेरोमा बालबालिका पढ्ने वातावरण नै छैन, विद्यालय पुनर्निर्माणका लागि धेरै निकाय गुहारियो तर कसैले पत्याएनन् ।’ विद्यालय पुनर्निर्माण नहुँदा विद्यालय सञ्चालन तथा पठनपाठन गर्ने ठाउँसमेत नहुने अवस्था आएको उनको भनाइ रहेको छ ।

विशेष गरी सीमान्तकृत थामी समुदाय बसोबास गर्ने यहाँको विद्यालयमा ९० प्रतिशत बालबालिका थामी समुदायका छन् । थामी समुदायमा रहेको विद्यालय भए पनि यहाँको विद्यालय भवन निर्माणमा कसैले पहल नगर्दा विद्यालय पुनर्निर्माण हुन नसकेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं पूर्व सांसद चुनबहादुर थामी बताउँछन् ।

भारतीय सरकारको ऋण सहयोगमा (लाइन अफ क्रडिट एलओसी) परियोजनामार्फत पुनर्निर्माणको काम हुने भनी सर्भेको काम गरिए पनि भारतले भूकम्प प्रभावित १४ जिल्लामा नै पुनर्निर्माण नगर्ने भनेपछि यो विद्यालय पुनर्निर्माण हुन सकेको छैन । सर्भे गरेर छोडेको विद्यालयमा एडीबीलाई पुनर्निर्माणका लागि पत्र लेख्दा आधारभूत विद्यालय पुनर्निर्माण नगर्ने र विद्यालयमा विद्यार्थी संख्याका आधारमा मात्रै भवन पुनर्निर्माण गर्ने भनेसँगै यो विद्यालय पुनर्निर्माण अलपत्र परेको छ ।

भूकम्पअगाडि स्थायीरूपमा दुई विदेशी नागरिकको सहयोगमा यो विद्यालयको पक्की भवन निर्माण गरिए पनि भूकम्पले भत्काइदिएपछि यो विद्यालयको पुनर्निर्माण भएको छैन । विदेशी नागरिकहरूले थामी समुदायका बालबालिकालाई लक्षित गरेर निर्माण गरिदिएको यो विद्यालय पूरै ढलिसकेको भने छैन । विद्यालय भवन पुरै ढलिनसक्दा विद्यार्थीहरूले त्रासमा यसै स्थानमा जस्ताको कटेरोमा पढिरहेका छन् । भूकम्पले जीर्ण बनाएको विद्यालय भवनसमेत भत्काउन सक्ने विद्यालयको हैसियत नहुँदा विद्यार्थीहरू खेल्ने र पढ्ने ठाउँसमेत अभाव हुन थालेको र यहाँका बालबालिका त्रासमा बाँचिरहेको प्रअ शेर्पा बताउँछन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का इन्जिनियर राजेन्द्रकुमार श्रेष्ठका अनुसार दोलखामा एक दर्जनभन्दा बढी विद्यालय अझै पुनर्निर्माण हुन सकेको छैन । दोलखा जिल्लाको आधारभूत तहका विद्यालयका सयौँ विद्यार्थी अझै पनि पाल र जस्ताको कच्ची टहरामुनि बसेर पढ्न बाध्य छन् । जिल्लामा रहेका माध्यमिक तहका विद्यार्थीहरू पुनर्निर्माणको अन्तिम चरणमा रहे पनि दाताको मापदण्डले आधारभूत तहका विद्यालय पुनर्निर्माण भने छायामा परेको छ ।

विद्यालय भवन निर्माणमा आश्वासन दिई भारत सरकारले सर्भे मात्रै गरेर छोड्दा बैतेश्वर गाउँपालिकाको दुईवटा विद्यालय, कालिञ्चोक गाउँपालिकका दुईवटा र तामाकोशी गाउँपालिकाका दुईवटा आधारभूत विद्यालय गरी जिल्लाभरका दर्जन विद्यालयलाई पुनर्निर्माण हुन सकेका छैनन । दोलखा जिल्लाभर माविहरू एडीबी र जिल्ला शिक्षा कार्यान्वयन इकाइ कार्यालयको आफ्नै आर्थिक सहयोग निर्माण गरी हस्तान्तरण गरे पनि आधरभूत तहका विद्यालय भने अझै पुनर्निर्माण हुन सकेका छैनन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया