Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधरङ्गकर्मीहरूको रोजाइमा पर्दै सोलुको पत्ताले

रङ्गकर्मीहरूको रोजाइमा पर्दै सोलुको पत्ताले


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको पत्ताले क्षेत्र रङ्गकर्मीहरूको रोजाइमा पर्दै गएको छ । पत्ताले क्षेत्रमा अहिले विदेशी पर्यटकका लागि मात्र नभई नेपाली कलाकर्मीका लागि पनि छायाङ्कनको रोजाइमा पनि पर्न थालेको हो ।

यसअघि खुम्बु क्षेत्रमा मात्रै फिल्महरू छायाङ्कन हुँदै आएकामा हाल भने जिल्लाको प्रमुख प्रवेशद्वार पत्ताले नेपाली कलाकर्मीका लागि आकर्षक छायाङ्कन स्थल बन्दै गएको छ । खुम्बु क्षेत्रमा चर्चित हलिउड फिल्म ‘एभरेस्ट’ र बलिउड फिल्म ‘उचाइ’को छायाङ्कनपछि तल्लो क्षेत्रको हिमाली बस्ती पत्तालेमा पनि नेपाली फिल्म तथा टेलिशृंखलाको सुटिङ हुन थालेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि अन्य हिमशृंखलाको दृश्य नजिकबाट सहजै कैद गर्न सकिने भएकाले पनि चलचित्र निर्माताको ध्यान पत्तालेले तानेको हो ।

समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको पत्तालेबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से र गौरीशंकर हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । पछिल्लो समय नेपाली चलचित्र ‘स्वर्ग मेरो गाउँ’, ‘प्रेम गञ्ज’ तथा हाँस्य टेलिशृंखला ‘सक्किगोनी’को १००औं शृङ्खलाको छायाङ्कन गरिएको छ । ‘हामीले पत्तालेमा साँच्चिकै स्वर्गीय अनुभूति गर्न पायौँ,’ नेपाली चलचित्र स्वर्ग मेरो गाउँको छायाङ्कनका लागि आएका निर्देशक रामकृष्ण बजगाईंले भने ।

यहाँको प्राकृतिक सौन्दर्यले लोभ्याएपछि उनले लगभग पूरा फिल्म पत्तालेको ग्रामीण परिवेशमा नै छायाङ्कन गराएका थिए । ‘यहाँको रहनसहन, संस्कृति र सम्पदा नेपाली दर्शकलाई पस्कनयोग्य छन्’, चलचित्रकी नायिका भावना गुरुङले भनिन् । नायक नरेन खड्का पनि पत्तालेको एकमहिने बसाइमा दङ्ग नै देखिन्थे । राष्ट्रियस्तरका कलाकारको आवागमनले यस क्षेत्रका बालबालिकामा पनि सकारात्मक प्रभाव परिरहेको छ । ‘यहाँ फिल्म सुटिङ हुँदा हाम्रा बालबालिका पनि कलाकारितामा रुचि राख्ने भएका छन्,’ पत्ताले आधारभूत विद्यालयका प्रधानाध्यापक राम मगरले भने । प्रेमगञ्जकी नायिका बेनिशा हमालले पनि पत्तालेको मनोरम दृश्यले लोभ्याएको बताइन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया