होमस्टेले रानाथारु समुदायको दैनिकी परिवर्तन
धनबहादुर जप्रेल
कञ्चनपुर, चैत ३
पहिला–पहिला टाढैबाट साना झुपडी देख्दासाथ मान्छेहरूले भन्ने गर्थे, थारु बस्ती रहेछ । तर, आजकाल ती झुपडीहरू पहिलेजस्ता छैनन्, झुपडीको बनावट शैली उस्तै देखिए पनि त्यसलाई सुधार गरेर आकर्षक बनाइएका छन् । उक्त बस्तीको नाम अहिले थारु बस्तीबाट परिवर्तन भएर रानाथारु होमस्टे भएको छ ।
भीमदत्त नगरपालिका १४ र १६ नम्बर वडाको रानाथारु बस्तीमा रहेका रानाथारु समुदायका बासिन्दाहरूले ४ वर्ष पहिले पर्यटकको लागि उपयुक्त बास बस्ने सुविधासहित रानाथारु होमस्टे सञ्चालन गरेका हुन् । पछिल्लो समयमा आइपुग्दा उक्त होमस्टेले रानाथारु समुदायको दैनिकी नै परिवर्तन गरिदिएको छ । बाउबाजेकै पालादेखि कृषिमा निर्भर हुँदै दैनिकी सञ्चालन गरिरहेका थारु समुदायलाई दैनिकी चलाउन धौधौ परिहेको थियो, अझ कृषि कार्यबाहेक अरुबेला निकै सकस र अन्योलमा रहेर बस्ने राना समुदायले पछिल्लो समयमा भने पर्यटन व्यवसायसँगै आएको होमस्टेको अवधारणालाई अंगीकार गरेपछि उनीहरूको दैनिकीमा परिवर्तन आएको उनीहरूको भनाइ छ ।
शुक्लाफाँटा घुम्न आउने पर्यटकलाई लक्षित गरेर उनीहरूले होमस्टे सञ्चालनमा ल्याएका हुन् । पर्यटकलाई आकर्षण गर्नका लागि होमस्टेमा उनीहरूले आफ्नो मौलिक कला संस्कृतिसहित पूर्वजका विभिन्न प्रकारका खानाका परिकाहरू खुवाउने गरेका छन् । यसले एकातिर रानाथारु समुदायको संस्कृति तथा संस्कार जोगाउनुका साथै थारु समुदायलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएर पर्यटकलाई लोभ्याएको छ भने अर्कातिर पर्यटन व्यवसाय अपनाएर ती गरिब रानाथाहरूको दैनिकी परिवर्तन गरिदिएको छ ।
विक्रम सम्वत २०७२ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकको बस्तीमा बस्दै आएका राना समुदायहरूले विभिन्न सरोकारवाला निकायको सल्लाहमा एकजुट भएर करिब ८ वटा होमस्टे सञ्चालनमा ल्याएका हुन् । होमस्टे सञ्चालन गरेपछि आफ्नो दैनिक व्यवहार र आर्थिक अवस्थामा परिवर्तन आएको रानाथारु होमस्टे सञ्चालक समितिका अध्यक्ष परशुराम रानाले बताए । ‘होमस्टे सञ्चालनमा आएपछि रानाथारु समुदायको आर्थिक अवसथामा सुधार हुँदै गइरहेको छ, हामीले अरु होमस्टेभन्दा फरक तरिकाले सञ्चालन गरेका छौँ’ उनले भने, ‘हामी हाम्रा होमस्टेमा अरुको जस्तो दिउसो नास्ता गर्न आउनेलाई बस्न दिदैनौँ केबल राति बास बस्ने गरेर आएका पर्यटकलाई मात्र खान बस्नका साथै नास्ता र सफरका लागि गाडीको व्यवस्था गर्दछौँ, यसर्थ हाम्रो व्यवस्था अलि फरक छ ।’
राम्रोसँग बोल्न पनि नजान्ने रानाथारु समुदायहरू पछिल्लो समयमा होमस्टे सञ्चालन गर्न थालेपछि बोल्न जान्नुका साथै व्यवहारमा समेत परिवर्तन आएको रानाले बताए । ‘हामी पहिला पहिला राम्रोसँग बोल्न पनि जान्दैन थियौँ, तर होमस्टे सञ्चालनमा ल्याएपछि पर्यटकहरूसँग बोल्नपर्ने भएर होला आजकाल बोल्न र व्यवहार गर्न जानेका छौँ’ उनले भने ‘यसका साथै विभिन्न अफिस तथा विभिन्न व्यक्तिहरूसँग गएर विभिन्न प्रकारको सहयोग लिन पनि जानेका छौँ ।’
रानाले आफू पहिले कृषि पेशा गरिहेको र फुर्सदको समयमा सिलाइकटाइको काम गरिरहेको र होमस्टेको अवधारण विभिन्न व्यक्तिहरूबाट सुनेपछि र धेरै व्यक्तिको सुझावपछि होमस्टे सञ्चालन गरेको बताए । यस्तै उनले होमस्टे सञ्चालन गर्नका लागि विभिन्न निकायले समेत सहयोग गरेको बताए । उनले होमस्टे सञ्चालन गर्नका लागि पर्यटन कार्यालय, डब्लूडब्लूएफ हरियो वन कार्यक्रम, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वडा कार्यालय, भीमदत्त नगरपालिका लगायतका विभिन्न निकायबाट सहयोग र सल्लाह पाएको बताए । हाल हामेस्टेबाट भएको आम्दानीबाट रानाले घरखर्च चलाउनुका साथै, छोराछोरीलाई राम्रो स्कुलमा पढाउन सफल भएको बताएका छन् । राना दुईटा छोरा छन् जेठो छोराको इन्जिनियरको पढाइ होमस्टेको कमाइले चलाइरहेको उनले बताए ।
उक्त समुदायले हाल आठवटा घरमा होमस्टे चलाइरहेका छन् जसमा १६ वटा कोठाहरू रहेका छन् । एउटा कोठा दुईवटा बेडहरू राखेर चिटिक्क मिलाएर राखेका छन् । करिब ३२ जना पर्यटकलाई एकैसाथ खान/बस्नको लागि आफूहरूसँग होमस्टेको सुविधा रहेको रानाथारु होमस्टे समुदायले बताएका छन् । पर्यटकहरूलाई रातिको बेला रमाइलो होस् भनेर हामेस्टेमा थारु समुदायको संस्कृतिहरूको पस्तुति गर्नुका साथै बाजा तथा वाद्यवादनसहित भक्ति आराधनालगायत नाचगानसमते गर्ने गर्दछन् । रानाथारु समुदायमा विशेष गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सेवा र सुविधालाई केन्द्रित गरेर होमस्टे सञ्चालनमा ल्याइएका हुन् । हालसम्म उक्त होमस्टे समुदायमा करिब चार सयभन्दा बढी पर्यटकहरूले सुविधा लिइसकेका छन् भने करिब छ जना विदेशी पर्यटकले सुविधा लिएका छन् । यस्तै उक्त होमस्टेमा खानाको लागि माछामासुबाहेक सबै खानेकुरा स्थानीय क्षेत्रमै उत्पादित खानेकुरालाई प्रयोगमा ल्याउने गरेको अर्का होमस्टे सञ्चालक चेतराम रानाले बताए ।
उनले पहिला–पहिला होमस्टे सञ्चालनमा विभिन्न कठिनाईहरू आएका भए पनि पछिल्लो समयमा आफूहरूले विद्युत्लगायतका सुविधा व्यवस्थापन गरेर होमस्टेलाई आकर्षक बनाएको बताए । उनले आफूहरूको दैनिकीमा होमस्टे सञ्चालन गरेपछि पहिलाको भन्दा धेरै नै परिवर्तन भएको बताए । विशेष गरेर ग्रामीण क्षेत्रमा बस्न रुचाउने र स्थानीय अर्गानिक उत्पादनलाई प्राथमिकता दिने कमजोर आर्थिक अवस्था भएका पर्यटकका लागि सुविधा होस् भन्ने उद्देश्यले आफूहरूले होमस्टे सञ्चालन गरेको सञ्चालकहरूले बताएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर जर्नेल काठमाडौंमा
- प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री
- कुँवर असोसियोको उपाध्यक्ष निर्वाचित
- दराज ११.११ मा ८० प्रतिशतसम्म छुट पाइने
- हुन्डाई आयोनिक ५ ईभी अब एक सय किलोवाटमा
- काठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै
- समय सिमा सकिए पनि कुलमानले बुझाएनन् उर्जा मन्त्रालयलाई १५ बुदे विवरण
- अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया