Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध१० लाख आठ हजार थान मास्कसहित पाँच जना पक्राउ

१० लाख आठ हजार थान मास्कसहित पाँच जना पक्राउ


काठमाडौं, चैत ४
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न आम नागरिकलाई अनुरोध भइरहेको समयमा मास्क कालोबजारी बढ्न थालेपछि प्रहरीले अनुगमनमा सक्रियता देखाएको छ । सोहीअनुरूप प्रहरीले मास्क कालोबजारी गर्ने कार्यमा संलग्न पाँच जनालाई १० लाख आठ हजार थान मास्क र बा.७ च ७२६३ नम्बरको गाडीसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ओखलढुंगा, खिजादेवी गाउँपालिका १ घर भई ललितपुर इमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, बारा गढीमाई उपमहानगरपालिका २ घर भई हाल काठमाडौँ कपन बस्ने ३४ वर्षीय सञ्जय रेग्मी, चितवन टाँडी नगरपालिका १ घर भई काठमाडौँ स्वयम्भू बस्ने २६ वर्षीय अजिम बक्स मिया, आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक काठमाडौँ महानगरपालिका २३ बस्ने २४ वर्षीय सुरज गोयल र सोही सप्लायर्सका सञ्चालक भारत राजस्थान घर भई काठमाडौँ बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी रहेका छन् ।

कोरोना भाइरस प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न आम नागरिकलाई अनुरोध भइरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधिजन्य सामानहरूको कृत्रिम अभाव खडा गरी कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गरी सूचना लिने तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा प्राप्त विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ कपनस्थित मिलन चोकबाट उनीहरूलाई आइतबार एक लाख ६८ हजार थान मास्क र सो बेच्न प्रयोग भएको उक्त सवारी साधनसहित पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा उनीहरूले काठमाडौँ चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीस्थित घर भाडामा लिई आरडीजी इन्टरनेशनल सप्लायर्सका नाममा गोदाम सञ्चालन गरेको जानकारी प्राप्त भएपछि सो गोदाम आइतबार सिल गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायको प्रतिनिधिको उपस्थितिमा सोमबार बिहान तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा थप आठ लाख ४० हजार थान मास्क बरामद भएको हो । उनीहरूले ३ रूपैयाँ २५ पैसा पर्ने उक्त मास्कलाई ३१ रूपैयाँ मूल्यमा बिक्रीवितरण गर्न लागेको प्रहरीले जनाएको छ । उनीहरूलाई कालोबजारी तथा सामाजिक हितविरुद्धको अपराध ऐन, २०३२ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया