Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशकामपाद्वारा कम्पोष्ट मल बनाउन सुरु

कामपाद्वारा कम्पोष्ट मल बनाउन सुरु


काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहोर विसर्जन स्थान बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।

टेकुमा १२ टन कुहिने फोहोरबाट बिहीबार दखेी मल बनाउने काम सुरु गरिएको हो । कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ । यसअघि कामपाले काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो । एकै स्थानमा पर्याप्त जमिन उपलब्ध गर्न नसकेपछि कामपाले थोरै ठाउँमा पनि मल बनाउनका लागि प्रक्रिया सुरु गरेको जनाएको छ । श्रेष्ठले भने, ‘सबै फोहोर एकै स्थानमा जम्मा गर्ने र कामपाको केन्द्रीय कार्यलयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहोरको जिम्मा लिएर कम्पोष्ट मल बनाउन थाल्नुपर्छ । यसका लागि आवश्यक सहयोग गर्न विभाग तयार छ ।’ उनका अनुसार कामपाले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोष्ट मल बनाउन तयारी गरिरहेको छ ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर स्रोतमा नै वर्गीकरण गरेर लैजानुपर्नेछ । त्यसका लागि कामपाले फोहोर वर्गीकरणको प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गर्नेछ । आगामी एक महिनाभित्र बञ्चरेडाँडामा पनि फोहोरबाट मल बनाउने कामको थालनी हुने भनाइ कामपाको छ । योसँगै कामपाका ३२ वटै वडा र नागरिकलाई पनि मल उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने कामपाको तयारी छ । त्यसका लागि मल उत्पादन गर्ने भाँडो सहुलियत दरमा कामपाले नागरिकलाई वितरण गरिरहेको छ ।

कामपाले गत साउन एक गतेदेखि स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्न भने पनि अहिले केही वडामा मात्रै फोहोर वर्गीकरण गरिन्छ भने केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ । महानगरको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुनसकेको छैन । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ । ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । कामपाको कुहिने फोहोर उपत्यकामा नै व्यवस्थापन गर्ने लक्ष्य तत्कालको भने होइन । पछिल्लो समय उत्पादन हुने फोहोरको मात्रा बढिरहेको र व्यवस्थापनमा समस्या आइरहेको अवस्थामा स्रोतमा नै फोहोरको वर्गीकरण गरी मल उत्पादन गर्ने कार्यले ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ ।

फोहोरको वर्गीकरणविनै सबै फोहोर एकै स्थानमा व्यवस्थापन गर्नुपर्दा स्थानको अभावका कारण समय समयमा समस्या आउने गर्दा वर्षाको समयमा महिनादिनसम्म काठमाडौँ उपत्यकाको फोहोर सडकमा नै थुप्रिने समस्या सामान्य बनिसकेको छ ।


क्याटेगोरी : बिबिध, बागमती प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया