Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधऐतिहासिक मानदेव पथको उद्घाटन

ऐतिहासिक मानदेव पथको उद्घाटन


काठमाडौं, चैत ४
लिच्छविकालीन राजा मानदेवद्वारा निर्मित चाँगुनारायण मन्दिर जाने ऐतिहासिक मानदेव पथ सडकको उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले भक्तपुरको व्यासी, झौखेल, गेलालगाउँ हुँदै चाँगुनारायण मन्दिर जोड्ने पक्की सडकको सोमबार उद्घाटन गरेका हुन् ।

चाँगुनारायण मन्दिर क्षेत्र ऐतिहासिक रहेको भन्दै मन्त्री नेम्वाङले पर्यटकीय रुपमा यस क्षेत्रको ठूलो महत्व रहेको बताए । उनले नगरकोट जाने बाटो पनि चाँडै सम्पन्न हुने बताए । ‘नगरकोट पर्यटनको एउटा प्रमुख केन्द्र हो । त्यसलाई हरियाली बनाउनुपर्छ । धूलोरहित कालोपत्रे बाटो बनाइनुपर्छ र पर्यटककालागि सहज पहुँच मार्ग बनाइनुपर्छ तर केही समस्या भएको छ । हामी समस्या समाधानका लागि छलफल गरिरहेका छौँ’, उनले भने । त्यसलाई नीतिगत रुपमा चाँडै टुंग्याएर नगरकोट आउने पर्यटकहरुलाई सहज बनाइने उनको भनाइ छ ।

भक्तपुरदेखि काठमाडौं जोड्ने नाका कोटेश्वरको जामलाई अस्थायी रुपमा समाधान गर्न जडीबुटीदेखि कोटेश्वरसम्म चार लेनबाटो खोल्न ठेक्का लगाइएको उल्लेख गर्दै उनले दीर्घकालीन समाधानका लागि तयारी गरिएको बताए । उनले भने, ‘एयरपोर्टबाट अन्डरपास निकालेर जडीबुटी जोड्नुपर्छ, त्यसको प्रारम्भिक काम सुरु भएको छ, जाइकाले अध्ययन सुरु गरेको छ, तीन वर्षमा यो काम सक्ने लक्ष्य लिएका छौँ ।’ कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले चाँगुनारायण नगरपालिकामा कालोपत्र गर्ने अभियान शुरु भएको उल्लेख गर्दै आउँदो तीन वर्षमा चाँगुनारायण उत्कृष्ट सहर बन्ने दाबी गरे ।

‘एक लाख रोपनी जग्गामा स्मार्ट सिटी यही बन्दै छ, चाँगुनारायण इञ्जिनियरिङ कलेज नगरपालिकाले चलाउदैछ, झौखेल चाँगुको ज्योतिर्लिङ्गेश्वरमा नौ करोडको बजेटमा सडक कालोपत्र हुँदै छ’, उनले भने, ‘सात सय रोपनीमा वीर अस्पताल बन्दै छ, रातो किताबमा भर्खरै २० सडकका योजना थप गरेका छौँ ।’ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नगर प्रमुख सोमप्रसाद मिश्रले समेत धारणा राखेका थिए । कार्यक्रममा ठेक्का सम्झौता मितिभन्दा अगावै निर्माण सम्पन्न गरेकोमो खरिढुंगा निर्माण कम्पनीका निर्देशक वीरेन्द्र थापालाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया