Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाटोमै भेटिन थाले दुर्लभ वन्यजन्तु

बाटोमै भेटिन थाले दुर्लभ वन्यजन्तु


सुबास बस्नेत
दोलखा, चैत ४
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीमा दुर्लभ वन्यजन्तु सालक अलपत्र अवस्थामा फेला परेको छ । सुन्द्रावतीस्थित कालिनाग सामुदायिक वन नजिकै गोरेटो बाटोमा फेला पारिएको सालक सोही वनमा छाडिएको छ । स्थानीयले आइतबार फेला पारेको सालक सोमबार जिल्ला प्रहरी कार्यालय चरीकोट बुझाएका थिए । सालकलाई प्रहरीले सोमबारै डिभिजन वन कार्यालयमा बुझाएपछि स्थानीय र वनका कर्मचारीको टोलीले भेटिएकै क्षेत्रमा छाडिदिएको हो ।

बच्चा अवस्थाको सालक फेला परेपछि स्थानीयले एकरात गाउँमै राखेर सोमबार प्रहरीलाई बुझाएका हुन् । डिभिजन वन कार्यालय, भीमेश्वर सबडिभिजनका इन्चार्ज कमल थापाले सालक स्वस्थ पाइएकाले उसको प्राकृतिक अनुकूलताका लागि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित वनमा छाडिएको जानकारी दिए । माउसँग छुटेपछि बच्चो सालक बाटोमा निस्केको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । सालक प्रायः नेपाल, भारत, चीनलगायतका दक्षिण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भूभागमा पाइन्छ ।

विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । यद्यपि पहाडी केही जिल्लामा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञहरुको भनाइ छ । सालकले मुख्य रूपमा धमिरा र कमिलालगायत साना कीराहरू मन पराउँछ । खपटा बिक्रीवितरणका लागि चोरीशिकार हुने गरेका सालकको अस्तित्व संकटमा छ । दोलखामा सालकको संख्या के कति छ भन्नेबारे डिभिजन वनसँग पनि तथ्यांक छैन । केही दिनअघि पनि दोलखामा राष्ट्रिय पन्छी डाँफेको उद्धार गरिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया