Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोना संक्रमणको जोखिम हुने भन्दै पूर्णागिरी दर्शनमा रोक

कोरोना संक्रमणको जोखिम हुने भन्दै पूर्णागिरी दर्शनमा रोक


धनबहादुर जप्रेल
महेन्द्रनगर, चैत ५
विश्वभरमा महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सीमा क्षेत्रमा रहेको पूर्णागिरी मन्दिर दर्शनमा रोक लगाइएको छ । नेपाल–भारत सीमानाअन्तर्गत भारतको टनकपुरमा पर्ने पूर्णागिरी मन्दिर र कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धबाबा मन्दिरमा आउने जाने दर्शनार्थीलाई दुवै देशको संयुक्त टोलीले रोक लगाइएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । पूर्णागिरीको दर्शनमा धेरै भीडभाड हुने भएकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुवै देशमा दर्शनार्थीलाई आवतजावतमा समेत रोक लगाइएको प्रहरी नायब निरीक्षक चन्दले बताए ।

उनका अनुसार भारतीय नम्बर प्लेटका गाडीहरू नेपाल आउन दिइएको छैन भने नेपालका गाडीलाई पनि भारततिर जान दिइएको छैन तर पैदलयात्रीहरूलाई भने कुनै पनि रोक लगाइएको छैन् । दर्शनका लागि नेपाल आएका दर्शनार्थीलाई फर्किन दिइएको छ तर भारतबाट नेपाल प्रवेशमा भने रोक लगाइएको उनले बताए । सरकारले सभा, सम्मेलनलगायतका भीडभाड नगर्न आग्रह गरे पनि पूर्णागिरीको दर्शनपछि भने दैनिक पाँच हजार भारतीय दर्शनार्थी नेपाल भित्रिने गरेका थिए । जसले गर्दा सिमानामा स्वास्थ्य जाँचमा समेत समस्या हुनेगरेको थियो ।

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानीयले मेला स्थगित गर्न आग्रह गर्दै आएका थिए । तर, दुई देशीय धार्मिक मेला भएकाले नेपालले मात्रै स्थगित गर्न नमिल्ने भन्दै स्थानीय प्रशासनले लामो समयदेखि भारतीय पक्षसँग छलफल गर्दै आएको थियो । अन्ततः बन्द गर्ने निर्णय गरिएको दुवै पक्षले परिपत्र नै टाँस गरेर सूचना निकालेका छन् । भारतको उत्तराखण्ड प्रदेश सरकारले मंगलबारबाट पूर्णागिरीमा दर्शन रोक लगाउने निर्णय गरेका छ । मेलामा नेपाल भारतका हजारौँ दर्शनार्थीको आवतजावत हुने गर्दछ । कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएको भन्दै मेला तथा मन्दिरमा मंगलबारबाट दर्शन गर्न नदिइने भारतीय पक्षले जनाएको छ ।

पूर्णागिरी मेला फागुपूर्णिमादेखि वैशाख पूर्णिमासम्म लाग्ने गर्दछ । भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लामा पर्ने पूर्णागिरी माताको दर्शनपछि कञ्चनपुरको ब्रम्हदेवमा रहेको सिद्धबाबाको दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ । यसर्थ पूर्णागिरीको मेलामा पुग्ने दर्शनार्थीहरू महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा पनि पुग्ने गर्दछन् । उक्त समय फागुनदेखि जेठसम्म महेन्द्रनगरलगायत टनकपुरसम्म दर्शनार्थीको औधि भीडभाड हुनेगरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया