Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पले ध्वस्त स्कुल अझै बनेनन्

भूकम्पले ध्वस्त स्कुल अझै बनेनन्


सुबास बस्नेत
दोलखा, चैत ७
दोलखाको सदरमुकामनजिकै रहेको भिमेश्वर नगरपालिका वडा नम्बर एकमा रहेको सुन्द्रावती आधारभूत विद्यालयले जस्ताको टहरामा राखेर विद्यार्थीलाई पठनपाठन गराएको करिब ५ वर्ष बित्यो । भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि सदरमुकामनजिक रहेको यस आधारभूत विद्यालयको भवन निर्माण अझै हुन सकेको छैन । ०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले विद्यालयको ५ वटा भवन पूर्णरूपले ध्वस्त भएको करिब ५ वर्ष बित्न लाग्दा पनि सरकारले विद्यालय निर्माणमा कुनै चासो नदेखाएको सुन्द्रावती आधारभूत विद्यालयका शिक्षकको दुखेसो रहेको छ ।

कक्षा १ देखि ८ सम्मका एक सय ८० जना विद्यार्थी अहिले अस्थायी जस्ताको टहरामा बसेर पढ्नुपर्ने बाध्यता रहेको छ । विद्यालय व्यवस्थापन समितिले पटक–पटक सरकारी निकायमा भवन माग गरे पनि विद्यालयको भवन निर्माणमा सम्बन्धित निकायले कुनै चासो देखाएको छैनन् । जीर्ण हुँदै गएको विद्यालयको कक्षाकोठाभित्र जोखिम मोलेर पढाउनुपर्ने अवस्था रहेको हुँदासमेत स्थानीय सरकारले विद्यालय निर्माणमा कुनै चासो नदेखाएको शिक्षक र विद्यार्थीको दुखेसो छ । गाउँपालिका र भवन निर्माण प्राधिकरणलाई पटक–पटक विद्यालय भवन निर्माण गरिदिन निवेदन दिँदासमेत स्थानीय सरकारले चासो नदेखाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जङ्गबहादुर थामीले जानकारी दिए ।

दोलखामा सुन्द्रावती आधारभूत विद्यालयसहित अझै एक सयभन्दा बढी विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको छ । केही विद्यालयको पुनर्निर्माण सुरु भए पनि जिल्लाका ३० भन्दा बढी विद्यालयको विद्यार्थी संख्या अपुग भएको हुँदा पुनर्निर्माण हुन बाँकी रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार दोलखामा चार वर्षको अवधिमा हालसम्म दुई सय २१ वटा सामुदायिक विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।

भूकम्पले तीन सय ६५ वटा विद्यालय पूर्णरूपमा क्षेति भएका थिए । तीमध्ये दुई सय २१ वटा विद्यालय भवनको मात्रै पुन निर्माण सम्पन्न भएको छ । केही विद्यालय निर्माणको क्रममा रहे पनि दर्जन बढी विद्यालयमा अस्थायी भवनबाट पठनपाठन हुँदै आएको जिल्लाका शिक्षा प्रमुख देवकुमार बरालले जानकारी दिए । भवन निर्माण हुन नसकेका दर्जन बढी विद्यालयको शिक्षा निकाय र स्थानीय पुनर्निर्माण प्राधिकरणसँग छलफल गरेर भवन निर्माण सम्बन्धमा छलफल गरिने प्रमुख बरालले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया