Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहानगरको स्वास्थ्यचौकीमा म्याद गुज्रिएको औषधि वितरण

महानगरको स्वास्थ्यचौकीमा म्याद गुज्रिएको औषधि वितरण


सन्तोष पौडेल
वीरगञ्ज, चैत ७
वीरगञ्ज महानगरभित्र रहेका स्वास्थ्य चौकीहरूको लागि खरिद गरिएको औषधिमा अनियमितता भएको पाइएको छ । ठेकेदार कम्पनीले म्याद सकिन लागेका औषधि खरिद गरी अनियमितता गरेको पाइएको हो । सार्वजनिक खरिद ऐन अनुसार कम्तीमा बनेको मितिदेखि डेढ वर्षसम्म म्याद रहेको औषधि खरिद गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले म्याद सकिन लागेका औषधि खरिद गर्ने गरेको कर्मचारी स्रोतले बताएको छ । कर्मचारी स्रोतका अनुसार म्याद सकिन लागेका औषधि खरिद गर्दा कम्पनीले बढी कमिसन दिने कारण महानगरले सो औषधि खरिद गरेको हो । महानगरभित्र २४ वटा उपस्वास्थ्य चौकी र सातवटा शहरी स्वास्थ्य केन्द्र गरी ३१ वटा स्वास्थ्य चौकीमा पुस २१ गते पठाएको औषधिमा अधिकांश औषधिको दुई महीनाभित्र म्याद सकिंदैछ ।

स्वास्थ्य व्यवस्थापन समिति, पिपराका अध्यक्ष तथा वडा नं. १४ का अध्यक्ष भरत कुर्मीका अनुसार स्वास्थ्य चौकीमा पठाएको औषधि आफूहरूले बुझ्न नमान्दा पनि बलजफ्ती बुझाएर गएको प्रतिक्रिया दिए । पिपरा स्वास्थ्य चौकीमा आइरन चक्की, सल्फेट, स्लाइन पानी, जेन्टामाइसिन, जिंक, ओआरएस, बच्चालाई दिइने एन्टीबायोटिकलगायत दर्जनौं औषधिको अप्रिल र अगस्तमा म्याद सकिंदैछ । महानगरले पठाएको जीवनजल, जिङ्क सल्फेट तथा जिङ्क ओआरएसको म्याद गुज्रेको भेटिएको छ । वडाध्यक्ष्ँ कुर्मीका अनुसार कमिशनको भरमा खरिद गरिएका औषधि प्रत्येक स्वास्थ्य चौकीमा बलजफ्ती पठाउने गरिएको छ । त्यतिमात्र होइन, स्वास्थ्य चौकीमा बेटाडिन छैन । बेटाडिन नहुँदा दैनिक समस्या पर्ने गरेको कुर्मीको भनाइ छ । चैत ३ गते सडक दुर्घटनामा घाइते भएका श्रीपुर निवासी मनु पटेल, राजकिशोर पटेल, सालमती देवीलाई बेटाडिनको मलमपट्टी गरी पठाएको स्वास्थ्य चौकी इन्चार्ज सचिदानन्द जयसवालले जानकारी दिए ।

बाल पोषण कार्यक्रम अन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई दिने बालभिटा तथा तयार गरिएको पोषिलो पदार्थसमेत अहिलेसम्म महानगरले पठाएको छैन । आवको नौ महिना बितिसक्दा एकपटक मात्र औषधि पठाएको र बहुक्षेत्रीय पोषण अन्तर्गत कुनै सामान नपठाएको उनले बताए । साउनदेखि अहिलेसम्म आरयुटिएफ म्याद सकिएको पठाएकोले आफूहरूले फिर्ता गरेको वडाध्यक्ष कुर्मीले बताए । अस्पतालमा नसर्ने रोग रक्तचाप, क्यान्सर, दम, मधुमेहका बिरामीलाई दिइने निश्शुल्क औषधिसमेत महानगरले पठाएको छैन । ‘महानगरमा औषधि भए तापनि दिँदैनन्’, वडाध्यक्ष कुर्मीले भने, ‘गोदाममा करोडौं रुपैयाँको औषधिको म्याद गुज्रिएको छ, सोको लेखाजोखा छैन ।’

बर्थिङ सेन्टरमा महिलाहरूलाई चेक गर्नुभन्दा पहिले एचआइभी टेस्ट गर्नुपर्छ तर एक वर्षदेखि एचआइभी परीक्षण कीटसमेत दिइएको छैन । प्रदेश र सङ्घ सरकारले करोडौं रकम पठाए पनि जिन्सी, स्वास्थ्य महाशाखा, लेखा तथा कार्यकारी अधिकृत मिलेर अनियमितता गरिरहेका छन् भने एकातिर औषधि नपाउँदा नगरवासी त्राहिमाममा छन् ।

रले चालू आवमा स्वास्थ्य क्षेत्रमा दश करोड रुपैयाँ बराबरको बजेट विनियोजित गरेको छ । महानगरले सुनौलो हजार, पोषण, सामान्य आपत्कालीन अवस्था, आइरन चक्की, दक्ष स्वास्थ्यकर्मी, नसर्ने रोगको रोकथाम, आमा सुत्केरी, औषधि खरिद, एचआइभी संक्रमित व्यवस्थापन, पूर्ण खोप तथ्यांक संकलन, खोप सेवाको पहुँच, गुणस्तरीय स्वास्थ्यको लागि चौबीस घण्टा पानी, बिजुलीको व्यवस्थापन, एचआईभी परीक्षणको लागि अपुग उपकरण खरिद, विभिन्न रोग पहिचान गर्न कीट खरिद, स्वास्थ्य संस्था सुदृढीकरण, मरम्मत शीर्षकलगायतमा चालू आवमा दश करोड अठार लाख छुटयाएको देखिन्छ ।

यस विषयमा स्वास्थ्य महाशाखाका कर्मचारी तथा स्वास्थ्य स्टोरकिपर जहिर आलमले चालू आवमा बुधबार मात्र खरिद गरिएको बताए । सो औषधि आफू आउनुभन्दा अगाडि खरिद भएको बताए । आफूले म्याद सकिन लागेका औषधि बुझ्न नमान्दा तत्कालीन कार्यकारी अधिकृतको आदेशमा स्टोर सम्हालेको बताए । महानगरका चारवटा स्वास्थ्य चौकीमा समाचारको लागि पुग्दा स्वास्थ्य चौकी समस्यै समस्याले भरिएको थियो । तर महानगरमा पुग्दा स्वास्थ्य चौकीका कर्मचारीको लापर्बाही भएको बताइयो ।

औषधि पर्याप्त मात्रामा छ तर कोही लिन आउँदैनन् । स्वास्थ्य चौकीका कर्मचारीका अनुसार तीनरतीन महिनाभित्र स्वास्थ्य महाशाखाले औषधि पु-याउनुपर्छ । तर आफूहरूले नै औषधि ल्याउने तर ढुवानी खर्च नपाउने बताए । स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा पनि औषधि खरिदलगायत सर्जिकल सामान खरिदमा अनियमितता हुनु गलत भएको स्वास्थ्यकर्मीको भनाइ छ । सेभेन कम्युनिटीअन्तर्गत सात किसिमका औषधि अनिवार्यरूपमा स्वास्थ्य शाखामा हुनुपर्छ नत्र कुनै बेला कसैको पनि ज्यान जान सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । माग तथा आवश्यकताअनुसार औषधि खरिद गर्नुको साटो महानगरले आफूखुसी नचाहिने औषधि खरिद गरी थुपार्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया