Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाँके नाका एक हप्ताको लागि बन्द

बाँके नाका एक हप्ताको लागि बन्द


जिएम यादव
बाँके, चैत १०
बाँकेको नेपालगञ्जसँग जोडिएको नेपाल–भारत जमुनहा सीमानाका एक हप्ताको लागि बन्द गरिएको छ । आइतबार नेपाल र भारतीय सुरक्षा निकायका प्रमुखहरुको छलफलबाट जमुनहा नाका एक हप्तालाई सिल गर्ने सहमति भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन सीमानाका बन्द गरिएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताए ।

आइतबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली, सशस्त्र प्रहरी गुल्म ३० नम्बर गणका प्रहरी उपरीक्षक दीपक अधिकारी र भारत बहराइच जिल्ला अधिकारी शम्भु कुमार, बहराइचका एसपी बिपिन कुमार मिश्रासहितको दुईपक्षीय छलफलका क्रममा सीमा नाका बन्द गर्नेबारे सहमति भएसँगै जमुनाह नाका एक हप्ताका लागि बन्द गरिएको हो ।

शुक्रबारदेखि सवारीसाधनमा रोक लगाए पनि पैदलयात्रीहरुलाई भने आवागमनका लागि छुट गरिएको थियो । सीमानाका बन्द गर्ने निर्णय भएसँगै अब पैदलयात्रु तथा सवारीसाधन सञ्चालन हुन पाउने छैन । यद्यपि अत्यावश्यक सामग्री ढुवानी तथा एम्बुलेन्सको हकमा आवश्यकताअनुसार आवागमन गर्न दिने सहमति भएको हो ।

नेपालगञ्ज–सिमी लक डाउन : बाँकेसँग जोडिएको सीमावर्ती मुलुक भारत आइतबार कोरोनाविरुद्धको ‘महाअभियान’ भन्दै ‘जनता कफ्र्यु’मा जुटेको छ । आइतबार बिहान ७ बजेदेखि १२ घण्टासम्म कोही पनि नागरिक घरबाहिर निस्केनन् । छिमेकी मुलुकमा देखिएको कोरोना कहरको जोखिमलाई मध्यनजर गर्दै नेपालगञ्जलाई पनि आइतबारबाट ‘सेमि–लकडाउन’ गरिएको छ । नेपाल सरकारले नै अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिरहँदा शनिबार बसेको कोरोनाविरुद्धको उच्चस्तरीय संयन्त्रले आइतबारदेखि चैत २१ गतेसम्म खाद्यान्न, औषधिलगायत अत्यावश्यकबाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम बढेसँगै बाँके प्रशासनले पनि नेपालगञ्ज ‘लक डाउन’ गरेको जनाएको छ । संक्रमणको यो कठिन घडीमा कोरोनाको उच्च जोखिम भएको नेपालगञ्जलाई सुरक्षित पार्न ‘लकडाउन’ गर्नुपर्ने अवस्था आएको हो ।

अति आवश्यकबाहेक सबै व्यवसाय बन्द गर्न नेपालगञ्ज उवासंघको निर्देशन : नेपालगञ्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणविरुद्धको अभियानमा जुट्न उद्योगी व्यवसायीलाई आह्वान गरेको छ । अत्यावश्यक वस्तु तथा सेवाको कामबाहेकका उद्योग व्यवसाय बन्द गर्दै कोरोना संक्रमणविरुद्धको अभियानमा लाग्न आह्वान गरेको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्वारा संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण जनमानसमा त्रास उत्पन्न भएको भन्दै उद्योग व्यवसाय बन्दको आह्वान गरिएको छ । विज्ञप्तिमा चैत २१ गतेसम्म आफ्नो व्यापार व्यवसाय बन्द गरी विश्वभर फैलिएको कोरोना संक्रमणविरुद्धको अभियानमा पूर्ण समर्थन गर्दै सम्पूर्ण उद्योगी, व्यवसायीलाई व्यापार व्यवसाय बन्दका लागि अपिल गरिएको छ । नेपाल कोरोना संक्रमणको अत्यन्त जोमिखपूर्ण राष्ट्रको सूचीमा रहेकाले उद्योगी व्यवसायीहरुलाई उच्च सतर्कता अपाउन संघले भनेको छ ।

‘नेपालगञ्जसँग सीमा जोडिएको भारतमा कोरोनाको संक्रमण बढ्दै गएकोले यहाँका उद्योगी व्यवसायी थप सचेत र सजग बन्नुपर्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थाप्रति संघ समेत गम्भीर भएर कोरोना संक्रमणविरुद्धको अभियानमा सक्रियतापूर्वक लागेको छ ।’ संघले विपत्कालीन राहत कोष परिचालन समितिलाई थप प्रभावकारी बनाउँदै कार्यान्वयन परिचालन समिति गठन गर्ने तयारी गरेको जनाएको छ । संघले निर्माण गरेको राहत कोषमा आर्थिक सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई अपिल पनि गरेको छ ।

संघका अध्यक्ष मन्सुरीले कोरोना संक्रमण हुन नदिन सरकारी निकायका कार्ययोजनालाई सफल बनाउन आवश्यकताअनुसार थप अभियान बनाएर सञ्चालन गरिने बताए । नागरिकको स्वास्थ्य जोगाउन निजी क्षेत्रबाट गर्न सकिने सबै साथ र सहयोग गरिने अध्यक्ष जनाउँदै मन्सुरीले दैनिक उपभोग्य सामग्रीहरु सर्वसुलभ उपलब्ध गराउन र कुनै प्रकारको समस्या सिर्जना हुन नदिन उद्योगी, व्यवसायीहरुलाई अपिल गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया