Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘संस्थाको विकासमा जनशक्तिलाई प्राथमिकता दिनुपर्छ’

‘संस्थाको विकासमा जनशक्तिलाई प्राथमिकता दिनुपर्छ’


काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनका बोल्ने वक्ताहरूले संस्थाको विकासमा जनशक्ति नै महत्वपूर्ण विषय भएको बताएका छन् । महासम्मेलनको तेस्रो दिनको पहिलो सेसनमा विश्वमा कामको शैलीमा भइरहेको परिवर्तन र संस्थाको विकास विषयमा धारणा राख्दै वक्ताहरूले संस्थाको विकासका लागि जनशक्तिलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे ।

‘विश्वमा बदलिँदो कार्य वातावरण : संस्थागत सफलताको आधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै बैंकर अनिल केशरी शाहले कुनै पनि संस्थामा जनशक्तिको भूमिका महत्वपूर्ण हुनेभएकोले संस्थाको संस्थागत विकासको लागि जनशक्तिलाई प्रविधिसँगै सीप सिकाउनमा जोड दिनुपर्ने बताए । संस्थाको जति ठूलो ब्राण्ड भए पनि जनशक्ति सीपयुक्त र क्षमतावान् भएन भने संस्थाले प्रभावकारी पफर्मेन्स गर्न नसक्ने बताए ।

‘संस्थाको मूल स्रोत भनेको जनशक्ति हो । जनशक्तिमा लगानी गर्न पछि हट्नु हुँदैन । कर्मचारीलाई गाली गरेर संस्थाको विकास हुँदैन । टिमलाई कसरी मोटिभेट ग¥यो भने प्रतिफल निस्कन्छ, त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भने । उनले विश्वमा प्रविधिमा भइरहेको परिवर्तनलाई बुझेर र त्यसलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउँदै संस्थामा उमेरले कुनै ‘म्याटर’ नराख्ने धारणा राखे । आजको संसार अवसर र प्रतिस्पर्धाको भएको बताउँदै सीप विकास, नेटवर्क विस्तार र सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्ने धारणा राखे । यस्तै, छलफलमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रमा सबैको आकर्षण हुने किसिमले काम गर्न आवश्यक रहेको बताए । उनले सहकारीमा ठूलो नेटवर्क रहेको बताउँदै सो नेटवर्कको सही किसिमले सदुपयोग गरेर काम गर्नुपर्ने उनको भनाइ छ ।

‘अब सहकारीबाट सिकेर अरु ठाउँमा जाने होइन, अरु ठाउँबाट सिकेर सहकारीमा आउने वातावरण सिर्जना गर्नुपर्छ, नेटवर्कको अधिकत प्रयोग गर्नुपर्छ, अहिलेको समस्या हाम्रो कारणले मात्रै होइन, यो विश्वव्यापी कारणले हो, सहकारीमा क्षमता विकास गर्नुपर्छ,’ उनले भने । यस्तै, कार्यक्रममा भिजिनरी इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्र गुरुङले जुन रफ्तारमा संसारमा परिवर्तन भइरहेको छ सोही रफ्तारमा हामी पनि परिवर्तन हुनुपर्ने बताए । उनले सिक्ने र बुझ्ने मात्रै नभई हरेक विषयलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

छलफल कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका नेसनल प्रोजेक्ट संयोजक प्रकाश शर्माले दिनप्रतिदिन काम गर्ने शैली पविर्तन भइरहेको बताउँदै हामी पनि त्यसममा अभ्यस्त हुँदै जानुपर्ने बताए । काम लिने र काम गर्नेबीचको सम्बन्ध पनि प्रगाढ हुनु आवश्यक रहेको उनको भनाइ छ । ‘काम गर्नेले पनि संस्था आफ्नै हो भन्ने किसिमको अपनत्व महसुस गर्नुपर्छ, नेतृत्वले पनि सोही किसिमको व्यवहार गर्नुपर्छ, तब मात्रै संस्थाको विकासमा महत्वपूर्ण योगदान पुग्छ’, उनले भने ।

छलफल कार्यक्रमको चेयरको रूपमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल रहेका थिए । उनले पनि विश्वमा कामको शैलीमा परिवर्तन भइरहेकोले संस्थामा काम गर्ने जनशक्तिको विकासमा ध्यान दिनुपर्ने धारणा राखे । उनले क्षमतावान् र सीपयुक्त जनशक्तिलाई संस्थामा टिकाउनका लागि संस्थाले सोही किसिमको सहज वातावरण सिर्जना गर्नुपर्ने बताए । छलफल कार्यक्रममा सहभागीहरूले पनि वक्ताहरूसमक्ष आफ्ना जिज्ञासा राखेका थिए । उनीहरूले संस्थागत विकास र जनशक्तिको क्षमता अभिवृद्धि विषयसँग सम्बन्धित भएर आफ्ना जिज्ञासाहरू राखेका थिए ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया