Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’

गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’


काठमाडौं,उच्च आय भएका देशहरूले गरिब राष्ट्रहरूबाट नर्सहरू भर्ती गर्ने क्रम “नियन्त्रणभन्दा बाहिर” गएको विश्वको सबैभन्दा ठूलो नर्सिङ समूहका प्रमुखले बताएका छन्।

बीबीसीले दक्ष जनशक्ति पलायनका कारण घानाको स्वास्थ्य प्रणाली कसरी सङ्घर्षरत छ भन्ने कुराको प्रमाण पत्ता लगाएकै समयमा त्यस्तो टिप्पणी आएको हो।

अधिकांश विशेषज्ञ नर्सहरूले अन्य देशमा राम्रो पारिश्रमिकका लागि यो पश्चिम अफ्रिकी देश छाडिरहेका छन्।सन् २०२२ मा मात्रै घानाका १,२०० जना भन्दा बढी नर्सहरू यूकेमा नर्सिङ सेवाका लागि दर्ता भएका थिए।पछिल्लो समयम ब्रिटेनको न्याश्नल हेल्थ सर्भिस (एनएचएस) पदपूर्तिका लागि ईयू सदस्य राष्ट्रहरूभन्दा अन्य देशका जनशक्तिमा भर परेको छ।
यूकेले घानाबाट सक्रिय भर्तीमा प्रतिबन्ध लगाइएको भने पनि त्यहाँका नर्सहरूले सामाजिक सञ्जालमार्फत एनएचएसमा रिक्त पदबारे थाहा पाउँछन् र प्रत्यक्ष आवेदन दिन्छन्।

घानाको विकराल आर्थिक अवस्था पनि नर्सहरूलाई आवेदन दिन प्रेरित गर्ने एक प्रमुख कारक हो।इन्टरन्याश्नल काउन्सिल अफ नर्सेस (आईसीएन)का हवार्ड क्याटन घानाजस्ता देशबाट बाहिरिने जनशक्तिहरूको सङ्ख्यालाई लिएर चिन्तित छन्।

“मलाई लाग्छ अहिले स्थिति नियन्त्रणभन्दा बाहिर गइसक्यो,” उनले  भने।“छदेखि सात वटा उच्च आय भएका देशहरूले एकदमै धेरै जनशक्ति भर्ती गरिरहेका छन्, तर भर्ती हुने मानिसहरू भने आफैँमा कमजोर र असुरक्षित देशहरूबाट छन्। उनीहरू आफ्ना नर्सलाई पलायन हुनबाट रोक्न सक्दैनन्।”

पछिल्लो छ महिनामा ग्रेटर आक्रा रिजनल हस्पिटलको सघन उपचार कक्षमा कार्यरत २० जना नर्सहरू यूके र संयुक्त राज्य अमेरिकामा काम गर्नका लागि गएको त्यहाँकी नर्सिङ प्रमुख गिफ्टी एरीले बीबीसीसँग बताइन्। उनीहरूको पलायनसँगै अस्पतालमा गम्भीर असर देखिएको छ।

“सेवा प्रभावित भएको छ; हामी थप बिरामी भर्ना गर्न सक्ने स्थितिमा छैनौँ। काम ढिला हुने गरेको छ र यसको असर बिरामीमा परेको छ। कतिको मृत्यु भइरहेको छ,” उनले भनिन्।

उनले नर्स अभावका कारण सिकिस्त बिरामीहरूलाई लामो समय आकस्मिक विभागमा राख्नुपरेको जानकारी दिइन्।त्यहीँ कार्यरत एक जना नर्सले आफूसँगै पढाइ पूरा गरेकाहरूमध्ये आधाजसोले देश छाडेको हुन सक्ने र आफूहरू पनि उनीहरूसँगै काम गर्न इच्छुक रहेको बताइन्।

‘हाम्रा सबै अनुभवी नर्सहरू पलायन भए’
बीबीसीले केप कोस्ट म्युनिसिपल हस्पिटलमा पनि उस्तै अवस्था रहेको पायो।अस्पतालको नर्सिङ सेवाकी उपप्रमुख क्यारोलिन आङ्बोजाले गत वर्ष मात्रै २२ जना नर्सहरू यूके गएको बताइन्।

“क्रिटिकल केअरमा संलग्न र हाम्रा सबै अनुभवी नर्सहरू गइसकेका छन्। त्यसैले अब हामीसँग केही पनि छैन। काम गर्नका लागि दक्ष जनशक्ति छैनन्। सरकारले नयाँ नर्स भर्ती गरे पनि उनीहरूलाई तालिम दिने दु:ख बाँकी नै रहन्छ।”

कर्मचारी पलायनले साना क्लिनिकहरू पनि प्रभावित भएका छन्। साना स्वास्थ्य केन्द्रबाट एक जना मात्र नर्स बाहिरिँदा पनि त्यसको ठूलो असर देखिन सक्छ।

केप कोस्टमै अवस्थित इविम हेल्थ क्लिनिकमा एक नर्सले आकस्मिक विभाग र अर्कीले बहिरङ्ग विभाग छोडेका छन्। ती दुवै नर्सहरू अनुभवी थिए र यूकेमा कामको अवसर पाए।

त्यहाँका प्रमुख चिकित्सक जस्टिस आर्थरले नर्सहरूले काम छोड्नुको प्रभाव व्यापक भएको बताए।“बालबालिकाको खोप कार्यक्रम एउटा उदाहरण हो। यदि हामीले जनस्वास्थ्य सेवामा खटिएका नर्सहरू गुमायौँ भने खोप लगाउनुपर्ने बालबालिकाले पनि सेवा पाउँदैनन् र उनीहरू मृत्युको मुखमा पुग्छन्,” उनले भने।

शल्यक्रियापछिको हेरचाहका लागि पर्याप्त नर्सहरू नहुँदा वयस्क बिरामीले पनि ज्यान गुमाउन सक्ने उनले बताए।

विदेशमा उच्च पारिश्रमिक
बीबीसीसँग कुराकानी गरेका अधिकांश नर्सहरूले अन्यत्र राम्रो कमाइ हुने भएकाले घाना छोड्न चाहेको बताए।कुमासी सहर नजिकैको क्वासो हेल्थकेयर सेन्टरमा कार्यरत मर्सी असारी अफ्रियईले आफूले चाँडै यूकेमा रोजगारीको अवसर पाउने आशा गरिरहेको बताइन्।

“नर्सहरूको बहिर्गमन रोकिनेवाला छैन किनकि हाम्रा सेवाहरू निकै नाजुक छन्। हाम्रो कमाइ घरमा पठाउन पर्याप्त छैन। यो दुई हप्तामै सकिन्छ। यो हातमुख जोड्न मात्र ठिक्क छ।”

घानाका नर्सहरूले उनीहरूले यूकेमा आफ्नो देशमा कमाइरहेको भन्दा सात गुणा बढी पारिश्रमिक पाउने बताए।घानाको नर्सेस एन्ड मिडवाइभ्स अशोसिएशनकी परपेचुअल ओफोरी-आम्पोफोले आफ्नो देशको स्वास्थ्य प्रणालीलाई थप सहयोग चाहिएको बताइन्।

“सङ्ख्यालाई हेर्ने हो भने यूकेका लागि घानाबाट नर्स भर्ती गर्नु नैतिक छैन किनकि यहाँ व्यावसायिक नर्स र प्रशिक्षार्थी वा सहायक नर्सको अनुपातमा समस्या छ,” उनले भनिन्।

तर बसाइँसराइँ उनीहरूको अधिकार भएकाले नर्सहरूलाई रोक्नु सम्भव नभएको उनले बताइन्। उनीहरूलाई घानामै बस्न प्रोत्साहन गर्न सरकारले पहल गर्नु पर्ने उनको भनाइ छ। राजधानी आक्रामा अवस्थित स्वास्थ्य मन्त्रालयले यस विषयमा प्रतिक्रिया दिन मानेन।
नर्स र कुल जनसङ्ख्याको अनुपात कम भएका जोखिमयुक्त देशहरूको सूचीमा घाना ५५औँ स्थानमा पर्छ। कतिपयले “रेड लिस्ट” भन्ने उक्त सूची ठूला देशहरूले गर्ने प्रक्रियागत भर्ती निरुत्साहित गर्न तयार गरिएको थियो।

यूके सरकारले हालसालै घाना, नाइजेरिया र केन्यालाई स्वास्थ्य जनशक्ति सशक्तीकरणका लागि एक करोड पचास लाख पाउन्ड दिएको थियो।

यद्यपि यूकेले घानासँग औपचारिक सम्झौता गर्न खोजिरहेको बुझिएको छ, जसअन्तर्गत उसले निकै सक्रिय रूपमा भर्ती गर्न पाउँछ र भर्ती भएका नर्सबापत घाना सरकारलाई केही रकम उपलब्ध गराउँछ।उसले नेपालसँग यस्तै प्रकृतिको सम्झौता गरेको छ।

‘देखावटी नैतिक सम्मान’

तर आईसीएनका क्याटनले दक्ष जनशक्तिको बदलामा रकम पर्याप्त हुने तर्कमा प्रश्न उठाए।उनले त्यस्ता सम्झौताहरूले “नर्स गुमाइरहेका देशहरूले चुकाउनुपरेको मूल्यमाथि सही समीक्षा गर्नुको साटो नैतिक सम्मानको देखावटी तह सिर्जना गरेको” बीबीसीलाई बताए।
डब्ल्यूएचओका स्वास्थ्य जनशक्ति निर्देशक जिम क्याबेलका अनुसार यूके एनएचएसका रिक्त पदहरू पूर्ति गर्नका लागि अफ्रिकी देशहरूमा निर्भर हुनुको प्रमुख कारण ब्रेक्जिट हो।

“विश्वभरि नै श्रम बजार अत्यधिक प्रतिस्पर्धी छ। ब्रेक्जिटपश्चात् यूकेमा युरोपेली जनशक्तिको स्वतन्त्र आवागमन बन्द भएका कारण हामीले त्यसका असरहरू देख्दै छौँ। फलस्वरूप हामी कमनवेल्थ र अन्य राष्ट्रहरूबाट जनशक्ति आकर्षित गर्न लागिपरेका छौँ।”(बीबीसी)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया