Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासरावल गाउँपालिकाको भौतिक प्रगति ८० प्रतिशत

सरावल गाउँपालिकाको भौतिक प्रगति ८० प्रतिशत


बुटवल । सरावल गाउँपालिका नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) ले चालू आर्थिक वर्षको हालसम्म ८० प्रतिशतभन्दा धेरै भौतिक प्रगति गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राका अनुसार करिब ५४ प्रतिशतको हाराहारीमा वित्तीय प्रगति भएको छ भने चालू आवका लागि छुट्याइएका योजनाका कामहरू धमाधम काम भइरहेका छन् ।

सबै क्षेत्रमा अन्तिम समयमा एकै पटक कार्य हुने हुँदा भौतिक तथा वित्तीय प्रगति ह्वात्तै बढ्ने उनले बताए । चालू आवका लागि छुट्याइएका योजनाहरू निर्धारित समयमै सम्पन्न गर्नेगरी कार्य सम्पादन गरेको उनले बताए । उनका अनुसार चालू आर्थिक वर्षका लागि एक सय ५४ भन्दा बढी पूर्वाधार क्षेत्रका योजनाहरू रहेका छन् । यसमा एक करोडभन्दा बढीका चार वटा योजनामध्ये एक वटा वडा भवन निर्माणको रहेको र बाँकी तीन वटा सडकअन्तर्गतका योजनाहरू रहेका छन् । यस्तै उनले चालू आवमा करिब २६ प्रतिशत जति वित्तीय समानीकरणअन्तर्गतको रकम नआउने सम्भावना रहेकाले केही योजनाहरूलाई कटौती गरिएको बताए । कम प्राथमिकताका योजनाहरूलाई अर्को वर्षको लागि दायित्व सारेर गर्नैपर्ने कामलाई निरन्तरता दिएको उनले जानकारी दिए ।

कर्मचारी व्यवस्थापन, पूर्वाधार अभाव, आवश्यक कानुनको अभाव र सीमित स्रोत र साधनको उच्चतम प्रयोग गर्दै सानादेखि ठूलासम्मका असीमित योजनाहरूले कार्यसम्पादन गरिरहेको उनले बताए । गाउँपालिकाले प्राथमिकताका आधारमा योजनाहरू छनौट गरी दीर्घकालीन विकासलाई केन्द्रमा राखेर काम गर्ने रणनीति अवलम्बन गरेको उनको भनाइ थियो । दीर्घकालीन महत्वका योजनाहरूलाई सकेसम्म कार्यान्वयनमा ल्याउने रणनीति बनाएको उनले बताए । उनका अनुसार चालू आर्थिक वर्षमा सात वटा कार्यविधि र एक वटा ऐन निर्माण गरिएको छ । ऐन÷कानुन आवश्यकताअनुसार निर्माण गरिने हुँदा आवश्यकताअनुसार निर्माण गर्दै जाने उनले बताए ।

चालू आर्थिक वर्षमा भूमि आयोग सम्बन्धितको काम दुई वटा वार्डमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । बाँकी वार्डमा पनि काम भइरहेको छ । जग्गा वर्गीकरणको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन र १५ शैय्याको अस्पतालको लागि जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुग्नुका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपन्छी, पूर्वाधार विकासलगायत चौतर्फी क्षेत्रका योजनाहरू छनौट भएकोले तीनै क्षेत्रहरूमा काम भइरहेको जानकारी दिएको छ । गाउँपालिकाले लक्ष्यअनुसारको आन्तरिक आम्दानी उठाउने संघारमा पुगे पनि आन्तरिक आम्दानीका स्रोतहरू कम हुँदा संघ र प्रदेशमा निर्भर रहनुपर्ने बाध्यतात्मक अवस्था भएको प्रमुख प्रशासकीय मिश्राले बताए ।


क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x