Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोग१० महिनामा आठ लाख पर्यटक

१० महिनामा आठ लाख पर्यटक


काठमाडौं । नेपालमा पर्यटक आगमन बढ्दै गएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अंग्रेजी वर्ष सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ पर्यटक नेपाल घुम्न आएका छन् ।

पर्यटक आगमनको यो तथ्यांकले कोभिड–१९ महामारीका कारण खुम्चिएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको संकेत गर्छ । पर्यटन बोर्डका अनुसार पछिल्लो एक महिना अर्थात् अक्टोबर महिनामा मात्रै एक लाख १७ हजार तीन सय छ जना पर्यटक नेपाल आएका छन् । यो तथ्यांक सन् २०१९ को अक्टोबर महिनाको भन्दा धेरै हो । सो वर्ष एक लाख १३ हजार आठ सय १६ जना पर्यटक नेपाल घुम्न आएका थिए । नेपालमा सन् २०१९ मा हालसम्मकै उच्च ११ लाख ९७ हजार पर्यटक भित्रिएका थिए ।

कोभिड–१९ महामारीका कारण सन् २०२० मा दुई लाख ३० हजार, सन् २०२१ मा एक लाख २५ हजार र सन् २०२२ मा छ लाख १४ हजार पर्यटक नेपाल घुम्न आएका थिए ।

सन् २०२० को सुरुदेखि विश्वभर कोभिड–१९ महामारी फैलिएपछि नेपालको पर्यटन क्षेत्र प्रभावित भएको थियो । त्यसयता सन् २०२२ सम्म पनि पर्यटक आगमन न्यून थियो । तर, सन् २०२३ मा पर्यटक आगमनमा राम्रो सुधार आएको छ । नेपालमा सेप्टेम्बरदेखि डिसेम्बरसम्म तुलनात्मकरूपमा अन्य महिनामा भन्दा धेरै पर्यटक आउने गरेका छन् ।

बोर्डका अनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट १८ हजार चार सय ८० जना आएका छन् । खासगरी भारतबाट धार्मिक पर्यटकहरू नेपाल आउने गरेका छन् । भारतपछि अमेरिकाबाट १६ हजार आठ सय ७९ पर्यटक नेपाल आएका छन् । पर्यटक धेरै आउने तेस्रो मुलुक बेलायत छ । अक्टोबर महिनामा बेलायतबाट मात्रै आठ हजार दुई सय १७ जना पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै, चीनबाट छ हजार ७५, अस्ट्रेलियबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार नौ सय १६, फ्रान्सबाट पाँच हजार दुई सय ७१, बंगलादेशबाट चार हजार दुई सय ९२, श्रीलंकाबाट दुई हजार पाँच सय ७ र इटलीबाट दुई हजार चार सय ६७ पर्यटक नेपाल घुम्न आएका छन् ।

नेपालमा आउने अधिकांश पर्यटकहरू मनोरञ्जन, यात्रा र भ्रमणका लागि आउने गरेका छन् । यसमा पनि पदयात्रा र पर्वतारोहणका लागि बढी पर्यटक नेपाल आउँछन् । त्यसपछि तीर्थयात्राका लागि पर्यटक नेपाल आउने गरेका छन् । पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर, लुम्बिनी नेपालका प्रमुख धार्मिक गन्तव्य हुन् । यसबाहेक साहसिक जलयात्रा, सभा सम्मेलन, व्यापार, प्रशासकीय कामकाजका लागि पनि विदेशीहरू नेपाल आउनेगरेका छन् ।


क्याटेगोरी : पर्यटन उधोग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया