Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगसामुदायिक होमस्टेले लोभ्यायो पर्यटक

सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक


कमलामाई । पूर्वमा सेल्फी डाँडा, डाँडामाथिको बुट्टेदार पर्खालको कभर लगाएर एक पोज फोटो खिच्न मन लाग्छ । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर छ । पश्चिमतर्फ घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्यहरुले जो कोहीलाई पनि मोहित बनाउँछ । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले आकर्षणको केन्द्र बनेको छ ढुङ्ग्रेभञ्ज्याङ ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित यस गाउँमा ३० घरघुरीको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ घरधुरीले सामूहिक रुपमा होमस्टे (घरबास पर्यटन) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो होमस्टेका रुपमा स्थापित भएको भद्रकाली सामुदायिक होमस्टेमा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय जैविक परिकारहरु, स्थानीयवासीको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लट्ठ बनाउने गर्दछ ।

विसं २०७६ चैत २९ बाट सुरु भएको होमस्टे कोभिड कहरका कारण दुई वर्ष थलिएकामा अहिले पुनः पुरानै लयमा फर्किंदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापा मगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटकहरु चार दिनसम्म होमस्टेमा रमाएर जाने गरेको उनर्ले सुनाए ।

गत माघमा भक्तपुरबाट एक कलेजबाट २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन भनी आएको थियो । यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यतामा रमिरहन मन लाग्यो भनेर चार दिन बसेर फर्किएको अध्यक्ष थापा मगरले राससलाई सुनाए । “होमस्टेमा आउने पर्यटकहरु यहाँको स्थानीय शुद्ध परिकारहरु खान रुचाउँछन् । स्थानीय जातका कुखुरा, ढिँडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ”, उनले थपे, “एकपटक आएका पाहुना पटकपटक आउनुहुन्छ, यहाँको आत्मीय अतिथि सत्कार, होमस्टे स्थलबाट देखिने दृश्य र जैविक परिकारको स्वादले पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ ।”

होमस्टेमाथि रहेको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रमअनुरुप १७ घरधुरीका बासिन्दाले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादनहरु बिक्री गर्ने गरेका छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकारहरु यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रुहरु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिरहरु खिचेर, खिचाएर पुनः यात्रा तय गर्दछन् ।

पर्यटकहरु होमस्टेमा नै आएर बस्छन् । एक पटकमा ५० जनासम्म अटाउने क्षमता भएको यस होमस्टेको सेवा शुल्क महङ्गो छैन । अतिथि व्यवस्थापन खर्च रु २०, स्थानीय प्रजातिका कुखुरासहित खाना सेटको रु. दुई सय ५०, प्रतिकोठाको पाँच सय (एउटा कोठामा दुईवटा पलङ) र बिहानको खाजा एक सयमा (अन्डा, पुरी, तरकारी, सेल, फुलाउरा) लिन सकिन्छ । पर्यटककोे चाहनाअनुसार बेलुकाको खानापछि विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ ।

होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारीक वातावरण दिएरले सहजता मात्रै थपिदिएको छैन । स्थानीयवासीलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरू व्यवसायमा भन्दा होमस्टेमा फाइदा र लगानी सुरक्षित देख्छिन् । होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएको र अन्य जिल्लाका होमस्टेहरुको अवलोकन, भ्रमण गरेकी उनी ढुङ्ग्रेभञ्ज्याङवासीको होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन् । छोटो समयमा ४० जना अतिथिहरुको सत्कार गरेर रु. २३ हजार चार सय ९० कमाई गरिसकेको उनले बताइन ।

उनले भनिन्, “ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान साबित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाडी बजार पुग्नुको विकल्प थिएन । राजमार्ग निर्माण कार्य अगाडि बढेपछि अन्य ठाउँका व्यक्तिहरु आएर किराना पसल चलाएका थिए । लगानी गर्न सक्ने दुई/चारजना गाउँलेले उनीहरुबाट सिकेर पसल चलाउन सुरु गरे । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही परुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे ।

राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घरघरमा पानी, बत्तीको सुविधा थपियो । ठाउँको विकास भएसँगै स्थानीयवासीमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थाल्यौँ । तीन वर्षअघि मात्रै सबै दृष्टिकोणबाट पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गर्ने निर्णयमा हामी पुग्यौँ । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको सहयोग मिल्यो ।

“घर धेरै भए पनि एउटा परिवार बनेर हामीले सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौँ”, उनले भनिन् , “लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, कुखुरालगायतका अन्य परिकारहरु, जो परिवारका लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथिहरु यसैमा रमाउँछन् । काम खोज्दै भौँतारिनु नपर्ने, अरू व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौँ ।”

होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएको र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गरेकी उनलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापन शैलीमा परिर्वतन देखिन थालेको देख्दा खुसी लाग्छ । स्थानीय होमस्टे सञ्चालक विमला थापामगरले २७ पर्यटकको सेवा गरेर रु. ३३ हजार सात सय आम्दानी भएको सुनाइन्। अतिथिहरुले लिएको सेवा र सुविधाअनुसार शुल्क बढी र कम हुने उनको भनाइ छ । चुलो र चौकोमा मात्र सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घर, परिवारको खर्च आफ्नै कमाईले धान्न सक्ने भएकी छन् ।

अब उनलाई चुरापोतेका लागि पनि श्रीमान्सँग मागेर चलाउनुपर्ने बाध्यता छैन । “व्यवसाय गर्ने र बस्ने दुवै पक्षलाई होमस्टेमा फाइदा नै छ, असल संस्कार, खानपान भएका व्यक्तिहरु होटल, रेस्टुरेन्टभन्दा होमस्टेमै खाना, बस्न मन पराउँछन्”, उनले भनिन् । चन्द्रकुमारी जर्गा मगरलाई आफ्नो होमस्टेमा अतिथि आउँदा अध्ययनका लागि काठमाडौँ गएको छोरो पढाइ सकेर घर फर्किएको जस्तो लाग्छ । “अतिथिहरु हामीले खाने परिकारमा नै खुसी हुन्छन् । जुठेल्नोमा लगाएको सागसब्जी मीठो मानेर खान्छन् । उहाँहरुका लागि बजारबाट सामान किनेर ल्याउनु परेको छैन”, उनले भनिन् ।

पहिलोपटक अतिथि आउँदा उनलाई अत्यास लागेको थियो । श्रीमान्ले पत्याउनु भएको थिएन । नयाँ व्यक्तिसँग बोल्न डराउने मात्रै होइन, होमस्टे सुरुआत गरेपछि पहिलो पटक अतिथि आउँदा थरथर कामेको उनलाई अहिले जस्तै लाग्छ । तर, अहिले उनमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइ गर्नेदेखि अतिथि सत्कार, थरीथरीका परिकार बनाउन सिकाएको छ । छ कट्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन उनी आँफैले भ्याइरहेकी छन् । यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । यसले पाहुनाले पनि जैविक र ताजा खान पाउने र स्थानीयले पनि सजिलै राम्रो आम्दानी लिन सक्ने उनको धारणा छ ।

होमस्टेमा चार दिन बसेर फर्एकी भक्तपुरकी शुभेच्छा भट्टराईले भद्रकाली सामुदायिक होमस्टेको सत्कार, माया र हेरचाहजस्तो अरू ठाउँमा आफूले नपाएको बताइन् । यहाँको स्वच्छ वातावरण, हावापानी, गाउँलेको आत्मीय व्यवहार र भरिपूर्ण प्राकृतिक सुन्दरताले लोभ्याइरहन्छ । “एक दिनका लागि आएका यस ठाउँले चार दिनसम्म भुलायो । पुनः हप्ता दिन बस्ने गरी आउन मन छ, समय मिलाएर आउँछु”, उनले भनिन् ।

स्याङ्जाको सिरुबारीबाट २०५४ मा सुरु भएको होमस्टेलाई नेपाल सरकारले पर्यटन वर्ष मनाउनका लागि होटलहरुले मात्रै धान्दैन, गाउँगाउँमा होमस्टे खोल्नुपर्छ भनेर २०६७ सालदेखि संस्थागत दर्ता भएर सञ्चालन गर्न स्वीकृत गरेको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईंका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टेहरु संस्थागत दर्ता छन् ।

देशभर २२ हजार घरमा होमस्टे सञ्चालन भएको पाइन्छ । बागमती प्रदेशमा मात्रै एक सय २५ वटा होमस्टेहरु संस्थागत रुपमा दर्ता भएका छन् । यसमध्ये ७५ वटा होमस्टे सामुदायिक र अन्य निजी रुपमा चलेका छन् । राज्यको सम्बन्धित निकायमा कानुनी प्रक्रिया पूरा नगरी होमस्टे चलाउनेहरुको सङ्ख्या पनि धेरै रहेको छ । धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिकलगायत सबै पक्षबाट होमस्टे प्रभावकारी देखिए पनि यसको विकास, प्रवर्द्धन र व्यवस्थापनमा तीनै तहका सरकार चुकिरहेका उनको आरोप छ । अतिथि सत्कार, स्थानीय जैविक उत्पादन र संस्कृतिलाई व्यावसायिक बनाउनु, स्थानीय मौलिक कला प्रदर्शन तथा प्रवर्द्धन गर्नु होमस्टेलाई विकासको एउटा आधार बनाउन सकिन्छ ।


क्याटेगोरी : पर्यटन उधोग, प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया