माओवादीले तीनमहिने विशेष अभियान चलाउने, सात प्रदेशका सात वडामा अध्यक्ष आफैँ सहभागी हुने
काठमाडौं, प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिए। माओवादी केन्द्रले विशेष अभियानका रुपमा तीनमहिने अभियान सञ्चालन गर्ने भएको छ । सो अभियानमा सात प्रदेशका सात वडावडामा आफैँ खटिने अध्यक्ष प्रचण्डको भनाइ थियो । सो अभियानमा पार्टीका सबै नेता तथा कार्यकर्ता कार्यक्षेत्रमा खटिनुपर्ने उनको भनाइ छ ।
आफू पनि सात वडा प्रदेशको विभिन्न सात वडामा पुगेर जनतासँग साक्षात्कार गर्ने उल्लेख गर्दै उनले अब सबै नेता तथा कार्यकर्ता जनतासँग एकाकार हुनैपर्ने र जोडिनैपर्ने बताए । उनले अहिले पनि पार्टी र नेतृत्व घेराबन्दीमा रहेको उल्लेख गरे । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सरकारका तर्फबाट भएको काम कारबाहीका बारेमा समेत जनतालाई जानकारी दिन आग्रह गरे ।
अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान योजनाबद्ध तरिकाले सञ्चालन गरिएको उल्लेख गरे। उनले अभियानलाई साथ दिन निर्देशनसमेत दिएका छन् । सुशासन एवम् समृद्धिको यात्रामा देश अगाडि बढ्ने स्पष्ट पार्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने बताए । उनले भने, “माओवादीले गरेन भने त्यसको नेतृत्व अरू कसैले गर्न सक्दैन भनेर योजनाबद्ध तरिकाले अघि बढेका हौँ । हामी यसलाई त्यतिकै छाड्दैनौँ, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला ।”
उनले पार्टीको मुख्य नेतृृत्व वरिपरि गोलबन्द भएर विधि पद्धतिमा रहेर जनतासँग एकाकार भएर परिवर्तनको स्वामित्व लिने गरी अगाडि बढ्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले विचार र राजनीतिमा पार्टी एकमत भएको र भावनात्मक रुपमा एकै ठाउँमा आएको उल्लेख गरे । उनले जनतासँग एकाकार भएको खण्डमा माओवादीले पुनः देशको पूर्ण नेतृत्व गर्ने बताए । उनले विगतमा पार्टीमा केही अन्यौलमा परेजस्तो भए पनि केन्द्रीय समितिको बैठकपछि ती सबै हटेको स्पष्ट पारे ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक असाधारण रुपमा सम्पन्न भएको र विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिए। समाजवादी क्रान्तिको अभियान सुरु भएको उल्लेख गर्दै उनले ‘जनतासँग माओवादी विशेष रुपान्तरणका लागि अभियान’ सञ्चालन गर्न लागिएको बताए।
उनका अनुसार अभियानको आगामी भदौ १६ गते उद्घाटन हुन्छ । अभियानमा जनताको घरघरमा जाने र जनताको गुनासो सुन्ने र पार्टीमा केन्द्रित गरिने प्रवक्ता महराले जानकारी दिए । यही साउन १७ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमाथि नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
माओवादीले केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाएको छ । केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता थियो । बैठकमा पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहको तथ्याङ्क प्रस्तुत भएको थियो ।
माओवादीको केन्द्रीय समिति बैठक एक वर्षपछि बसेको हो । यसअघि २०७९ साल असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको थिएन । पार्टी अध्यक्ष दाहालको नेृत्वमा वर्तमान सरकार गठन भएपछि गत माघ २६ गते ‘श्रव्य दृश्यका माध्यमबाट केन्द्रीय समितिको बैठक बसेको थियो । माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो । माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोधपछि स्थगित गरेको थियो ।रासस
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया