Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिअपराधबाट चोखिन फेरि जप्न थालियो ‘प्रतिशोध’ र ‘घुसपैठ’को मन्त्र

अपराधबाट चोखिन फेरि जप्न थालियो ‘प्रतिशोध’ र ‘घुसपैठ’को मन्त्र


बितेको केही समयदेखि आफूले गरेका अपराधकर्मबाट जोगिन खासगरी नेतृत्व तहले अचुक मन्त्र ‘राजनीतिक प्रतिशोध’ र ‘घुसपैठ’ भन्ने जप्ने गरेका छन् । उनका बुझाइमा यो मन्त्र पढेपछि आफूले सौखत पनि माफ पाउनुपर्छ । उनका भनाइका आशय नै यस्तै रहने गरेका छन् ।

एक : सबैभन्दा पछिल्लो समय दुर्गा प्रसाइले नेपाल ठप्प पार्ने आन्दोलनको आह्वान गरे । त्यसमा आफ्नो आन्दोलन शान्तिपूर्ण हुने तर घुसपैठबाट आगजनी र तोडफोडसहितका हिंसात्मक काम भए त्यो घुसपैठियाबाट हुने भएकाले आफूले जिम्मा नलिने भनेर सार्वजनिक घोषणा नै गरे ।

दुई : त्यसको अघिल्लो दिन एकीकृत समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक बस्यो । त्यसमा भ्रष्टाचारको मुद्दा लागेको हँुदा त्यसले किनारा नपाउन्जेल अध्यक्षको पदबाट माधव नेपालले राजीनामा दिनुपर्ने भन्ने माग उठ्यो । त्यसको जवाफ दिँदै राजनीतिक प्रतिशोधको सबै मिलेर प्रतिकार गर्नुपर्नेमा उल्टो राजीनामा माग्ने ? भनेर उनले केन्द्रीय समितिका सदस्यहरुलाई एक प्रकारले हप्काए नै ।

तीन : यसैदिन सहकारी ठगीमा सर्वोच्च अदालतको समेत फैसलाबाट पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेले ‘आफ्नो कारागार बास बारे यो अन्तरिम सरकारको धारण के हो ?’ भन्दै त्यसको उत्तर मागे । उनले जेलबाटै विज्ञप्ती निकालेर भने –
‘अघिल्लो सरकारले ‘राजनीतिक प्रतिशोध’ का आधारमा मविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु ।’

दुर्गा प्रसाईंको घोषणा
दुर्गा प्रसाईं अपराधकर्मका एउटा उदाहरणीय पात्र मानिन्छन् । उनको विशेष परिचय गएको चैत्र १५ को तीन कुने ताण्डवबाट कायम भएको थियो । त्यसमा दुईजनाको हत्या र करिब ७५ करोडको सरकारी तथा निजी सम्पत्ति नष्ट भएको थियो । हत्या गरिएकामध्ये एकजनालाई त उनका कार्यकर्ताले जिउँदै आगो लगाएर मारेका भन्ने खुलेको थियो ।

उनको निश्कर्षमा यो काम घुसपैठियाबाट भयो । यति भन्दिएपछि उनी चोखिए । यिनै प्रसाईंले आउदो मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । उनकै अनुसार यो आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुनेछन् ।

यो आन्दोलनबाट जोगिन उनले नागरिकलाई दैनिक उपभोग्य वस्तुहरू जम्मा गर्न र समस्त कर्मचारीहरूलाई बिदामा बस्न निर्देशन पनि दिएका छन् । मुखले त उनले यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको भनेका छन् ।

नेपाली नागरिकलाई दैनिकरुपमा नै आवश्यक पर्ने डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्नू भनी सूचित गरेको अवस्थाले यो हिंसात्मक हुँदैन भन्ने ठाउँ दिँदैन । उनी आफैँले भनेका छन्–
आन्दोलनका क्रममा कसैले बन्द उल्लङ्घन गरेर दोकान खोल्छ भने तोडफोड भएमा, गाडी फुटाएमा वा आगो लगाएमा त्यसको जवाफदेही महाअभियान हुने छैन । चैत १५ गतेको घटनामा पनि यस्तै घुसपैठ भएको थियो । आफ्नो अभियानको उद्देश्य भने कसैको घर जलाउने होइन । भदौ २३ र २४ गते दुई घण्टा जेन–जीको आन्दोलन भयो । दुई घण्टासम्म राम्रो आन्दोलन थियो, तर त्यसपछि त्यो हाइज्याक भयो र विदेशीहरूको हातमा पुग्यो, त्यो आन्दोलन बंगलादेशी र माल्दिभ्सको मोडेलमा गयो र सत्ता हत्याउने खेल भयो । आफ्नो अभियान शान्तिपूर्ण हुने र कसैको घुसपैठबाट बन्द उल्लंघन गरेर तोडफोड गरेमा भने त्यसको जिम्मेवारी अभियानले लिने छैन । आफू नागरिकलाई बन्धक बनाउने जस्तो हिंसात्मक कार्यक्रम राख्ने र हिंसाको जिम्साचाहिँ घुसपैठियालाई दिने !

माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल त्यस्तापात्र हुन जसमाथि भ्रष्टाचारको आरोप लागेर विशेष अदालतमा मुद्दा नै दायर भएको छ । उनको बिगोमात्रै साढे १८ करोड छ भने जेल पनि बस्नुपर्नेछ । अहिले उनी धरौटीमा छुटेका हुन् ।

उनलाई धरौटीमा छाड्ने सन्दर्भको विशेष अदालतले आदेशमा भनिएको छ, ‘माधवकुमार नेपालको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) को अवस्था विद्यमान देखिन आयो । तसर्थ, पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी माधव कुमार नेपालको तत्कालीन पदीय हैसियत र भूमिका समेतलाई मध्यनजर गरी प्रस्तुत मुद्दाको पुर्पक्षका लागि नगदै ३५ लाख रुपैयाँ वा सो बराबरको बैंक जमानत दिए लिई तारिखमा राख्नू ।’

यो आरोपबाट सफाइ नपाउन्जेलसम्म उनले पार्टीको अध्यक्षता छाडिदिन दलभित्र पहिलेदेखि नै माग हुँदै आएको थियो । पछिल्लो समय बसेको केन्द्रीय समितिको बैठकमा पनि यो कुरा उठेपछि उनले उल्टो आफूमाथि प्रतिशोध साँधिएकाले त्यसको प्रतिकार गर्न भने । त्यो भ्रष्टाचारबारे उनकै शब्द– ‘मैले भ्रष्टाचार गरेको थिइनँ, केपी ओलीको आदेशमा मुद्दा चलाइयो । मैले भ्रष्टाचार गरेको होइन, त्यो भ्रष्टाचारको केस होइन । राज्यलाई हानि नोक्सानी गरेको लेखिएको छ । मैले राज्यलाई के हानि नोक्सानी गरेँ ? सरकारी जग्गा पतञ्जलीलाई दियो भनिएको छ । एक टुक्रा पनि दिइएको छैन । निजी जग्गालाई हदबन्दीभन्दा बढी भएकाले बिक्री गरेर सट्टापट्टा गरेको हो । हदबन्दीभन्दा बढी जग्गा प्रयोग गर्न दिइने कुरा कानुनबमोजिम गरेको गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको विशेष आदेशमा मलाई भ्रष्टाचार मुद्दा हालियो, अख्तियारले तामेलीमा राखिएको मुद्दा ब्युँत्याइएको हो । ओलीले बदलाको भावले मलाई बदनाम गराएका हुन् । यस्तोबेला जसले प्रतिशोध साँधे उनकैविरुद्ध प्रतिकार गर्नुपर्ने हो ।’

रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्यस्ता पात्र हुन् जो नेपाली राजनीतिमा यति ठूलो फौजदारी मुद्दा लागेको अरु कोही होस् । राणा र पञ्चायतकालमा कोही थिए भने त्यो अलग कुरा हो ।

उनीमाथि सहकारी ठगी सहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको छ । यतिबेला उनी यो अभियोगमा पाँचवटा अदालतमा मुद्दा खेपिरहेका छन् । उनीमाथि बिगो रकम २५ करोडभन्दा बढी छ । अभियोग दर्ता भएका सबै अदालतमा उनी आफैँले तिरेको धरौटीको रकम पनि तीन करोडभन्दा बढी छ ।

यी पाँचमध्ये एउटा जिल्लामा परेको अभियोगमा दुई तहका अदालतको फैसलाबाट उनी यतिबेला पुर्पक्षका लागि कारागार बासमा छन् । जिल्ला अदालतले एक करोडको धरौटी मागेको र त्यो बढी भयो भन्दै उनले गरेका पुनरावेदनमा एउटा उच्च अदालतले धरौटी होइन थुनामा बस्न भनेपछि उनी जेल चलान भएका हुन् ।

त्यसपछि फेरि उनी उच्चको यो थुनाविरुद्ध सर्वोच्च नै गए । तर सर्वोच्चले पनि पुर्पक्षका लागि थुनामै जान भनिदियो । यही फैसलाअनुसार उनी मुद्दाको अन्तिम किनारा नलागेसम्म कारागार मै बस्न बाध्य भए । यो एउटा जिल्लामा परेको मुद्दाको मात्र कुरा हो । बाँकी चारवटा अदालतमा परेका मुद्दाका कुरा त छँदैछ । यो ठाउँमा उनको कैदको हिसाब गरिएको छैन । एउटा सहकारीबाट मात्रै करिब तीन करोड अपचलन गरेको भन्दै आफैँले स्वीकारेको अवस्था पनि विद्यमान नै छ ।

यसअघि उनी एउटा सञ्चार कम्पनीको प्रबन्ध निर्देशक हुँदा आफ्नो एक्लो हस्ताक्षरबाट करिव ५० करोड रकम परिचालन गरेको भन्ने त उनको दलसमेत संलग्न रहेको संसदीय छानबिन समितिले नै बताइसेको छ । यी सबैले उनलाई अदालतको कठघरामा पुर्याएको हो ।

तर उनी भने यो अभियोगबाट छुटकारा पाउन ‘राजनीतिक प्रतिशोध’ भनेर मन्त्र जपिरहेका छन् । पछिल्लो समय जेलबाट उनले लेखेको चारबुँदाको एउटा पत्रमा पनि यो कुरा दोहोरिएको छ । आफूविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै लामिछानेले वर्तमान सरकारको धारणा माग गर्दा भनेका छन् –
(१) अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा मविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ‘फेवर’ होइन । हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नुपर्ला !
(२) पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ । आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुवै गर्छ ।
(३) एकपटक चिठ्ठा परेकाहरू पटक–पटक परोस् भन्ने ठान्छन् । तर, संयोग दोहोरिरहनुहुँदैन नि ! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश–लोभ छ । लोभीहरूले चिठ्ठा किन्न सक्छन् । तर, फेरि पर्छ नै भन्ने हुन्न । हरेक जालमा माछा पर्दैन नि !
(४) रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनु छ । त्यो क्षणिक लाभ–हानि सोचेर बन्दैन । अत्यन्तै खराब परिस्थिति आए पनि रास्वपालाई एक नम्बरको शक्ति बनाउने दृढतामा कमजोर हुन्न, मेहनत र समय कति लाग्छ त्यो ठूलो कुरा होइन ।


क्याटेगोरी : राजनिति
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x