पुरानै गठबन्धनको साथ लिएर पौडेलको मनोनयन, नेम्वाङको पक्षमा एमाले मात्रै
काठमाडौं,आगामी २५ गतेका लागि तय गरिएको राष्ट्रपति निर्वाचनमा दुई जना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि शनिवार उम्मेदवारी दर्ता गराएका छन्। दुवैजना पूर्व सभामुख हुन् भने नेम्वाङ संविधानसभाका अध्यक्ष समेत भएका थिए।
पौडेलको प्रस्तावक र समर्थकमा आठ दलका नेता छन् भने नेम्वाङको प्रस्तावक र समर्थकमा नेकपा एमालेका सांसदहरू मात्रै रहेका छन्।
उम्मेदवारी दर्ताका लागि पौडेल प्रधानमन्त्री पुष्पकमल दाहालसँगै संसद् भवन परिसर नयाँ बानेश्वरमा स्थापना गरिएको निर्वाचन कार्यालय पुगेका थिए।
पौडेलको समर्थक र प्रस्तावक को को छन्?
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक कुमार राई र जनमत पार्टीका अब्दुल खान छन्।
समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, कांग्रेसका पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र माओवादीका हितराज पाण्डे छन्।
यसअघि शनिवार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
मनोनयन दर्तापछि पौडेलले आफूले सर्वसम्मत राष्ट्रपति हुन पहल गर्ने बताए।
“संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्ने मेरो कर्तव्य हुन्छ,” आफू निर्वाचित भएको अवस्थामा गर्ने कामबारे प्रतिबद्धता जनाउँदै उनले भने।
“गणतन्त्रलाई संस्थागत गर्ने चुनौती छ म संविधानको रक्षा गर्ने, सार्वभौमसत्तालाई बलियो गर्ने राष्ट्रिय एकता र अखण्डता बलियो बनाउने काम गर्छु।”
नेम्वाङको समर्थक र प्रस्तावक को छन्?
तस्बिर स्रोत,RSS
नेम्वाङको उम्मेदवारीमा पार्टी अध्यक्ष केपी ओली सहित नेताहरू पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक प्रस्तावक छन्।
समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।
उम्मेदवारी दर्तापछि नेम्वाङले आफू सबैको उम्मेदवार हुने र निर्वाचित हुने आशा व्यक्त गरे।
“म त्यो दायित्व संविधानभित्र रहेर पूरा गर्छु,” उनले भने।
पूर्व प्रधानमन्त्री ओलीले नेम्वाङ अनुभवी र संविधान निर्माणमा समेत योगदान पुर्याएको व्यक्ति भएको बताए। संविधानको रक्षा र कार्यान्वयनका लागि उनको उम्मेदवारी दिइएको ओलीको भनाई छ।
“हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्रै होइन स्वागतको विषय बन्दछ। हरेक मतदाताका निम्ति मतदान गर्न प्रेरित गर्ने हुन्छ,” ओलीले।
पुस १० गते नै राष्ट्रपतिको उम्मेदवारबारे पनि माओवादी सहितका दलहरूसँग सहमति भइसकेको ओलीको दाबी थियो।
“वर्तमान सरकार गठन गरेकै बेला पुस १० गते नै यसबारे एक ढङ्गले टुङ्गो लागिसकेको थियो। हामीले सार्वजनिक नगरेको मात्रै हो,” माओवादीको निर्णयलाई हल्लाको संज्ञा दिँदै ओलीले भने।
“आफूले गरेका प्रतिबद्धताबाट कोही पनि पछि नहट्ने विश्वास हामीलाई छ।” उनले नेम्वाङको उम्मेदवारी कुनै दाउपेच नभएको पनि बताए।
अध्यक्ष ओलीले अहिले नै भावी राष्ट्रपतिमा कसले जित्छ भन्ने टुङ्गो नलागिसकेको उल्लेख गर्दै आफ्ना उम्मेदवारले सफलता पाउने विश्वास पनि व्यक्त गरेका थिए।
तर पौडेलको मनोनयनलाई समर्थन गर्ने दलहरूको सङ्घीय संसद् र प्रदेश सभामा कायम मतभार हेर्दा उनी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्ने निश्चित देखिन्छ।
राष्ट्रपति निर्वाचनको प्रक्रिया
तस्बिर स्रोत,SHEKHAR ADHIKARI
शनिवार बिहान १० बजेदेखि ३ बजेसम्म तय गरिएको मनोनयन दर्ताको समयमा पौडेल र नेम्वाङको मात्रै उम्मेदवारी परेको हो।
आगामी पाँच वर्षका लागि राष्ट्रपति चयन गर्न फागुन २५ गते निर्वाचन हुँदै छ। राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यले मात्रै मतदान गर्न पाउँछन्।
सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक हुने व्यवस्था संविधानमा छ। अहिले सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गतेबाट सकिँदै छ।
त्यसअघि फागुन २७ मा उपराष्ट्रपतिका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यसूची निर्वाचन आयोगले प्रकाशन गरेको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ। (बीबीसी)
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया