Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिराष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले के भने?

राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले के भने?


काठमाडौं,आगामी वैशाख १० गते देशका तीनवटा क्षेत्रमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउन लागेका तीनजना उम्मेदवारले शनिवार राजधानी काठमाण्डूमा संयुक्त पत्रकार सम्मेलन गर्दै आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्।

बारा क्षेत्र नम्बर-२, चितवन क्षेत्र नम्बर-२ र तनहुँ क्षेत्र नम्बर-१ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

तनहुँ क्षेत्र नम्बर-१ बाट नेपाली कांग्रेबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा क्षेत्र नम्बर-२ मा जनता समाजवादी पार्टी जसपाका तर्फबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि ति क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो।

त्यस्तै चितवन क्षेत्र नम्बर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्च अदालतबाट भएको निर्णयसँगै उनको सांसद पद गएपछि त्यहाँ पुन: निर्वाचन हुन लागेको हो।

कसले के भने?
रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्वतन्त्र मञ्च भएको बताए।उनले स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता धेरै मानिससँग संवादमा रहेको खुलासा गरे।

उनले नेपालबाट धेरै नेपालीहरू विभिन्न कारणले देश छाडेर गएको प्रसङ्ग उप्काए।लामिछानेले भने, “नेपालमा कहीँ कतै सम्भावना नदेखेर उहाँहरू विदेश जानु भएको छ।”

वाग्ले र खरेललाई आफ्नो पार्टीमा स्वागत गर्न पाउँदा आफूलाई गौरव अनुभूति भएको लामिछानेले बताए।लामिछानेले “केही मानिसहरूले आफ्नो र आफ्ना वरिपरिकाहरूको प्रगतिका लागि मात्र काम गरेकाले” देशको अहिलेको अवस्था आएको दाबी गरे।

उनले भने, “राजनीतिभित्रको अपराधीकरण हो कि अपराधीकरणको राजनीतिकरण भएको हो भन्ने थाहा नभएर धेरै राजनीतिमा नआएका हुन्।”

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी देशकै ठूलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी पनि गरे।वाग्ले र खरेलको आगमन त्यसको सङ्केत मात्र भएको उनको भनाइ छ।
नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका वाग्लेले नेपाल बनाउन ढिलो भइसकेको बताए।उनले कतिपयले आफूलाई निगाह बस्नुपर्छ भन्ने गरेको तर अब ढिलो भइसकेको बताए।

उनले नेपालमा अब पहिले जस्तो “जेलनेलको भत्ता खाने राजनीति” गर्ने बेला नभएको बताए।उनले समय तोकेरै कति पटक र कति समय जनप्रतिनिधि हुने भनेर राजनीतिज्ञले तय गर्नुपर्नेमा जोड दिए।

“नेपाललाई चाँडै बनाउनु पर्‍यो भन्ने हुटहुटी”ले आफूले पछिल्लो निर्णय लिएको वाग्लेको दाबी छ।नेपालमा अब बिस्तारै बूढो पुस्ताको हुने बेला भइसकेकाले चाँडै नेपालले प्रगति गर्नुपर्ने अवस्था रहेको उनले बताए।“नेपाललाई छिटो बनाउनुपर्ने राजनीतिक प्रतिबद्धताको कमी देखिन्छ,” उनले भने।

त्यसलाई पूर्ति गर्नका लागि आफूहरूले नयाँ खालको राजनीति सुरु गर्न लागेको वाग्लेले बताए।उनले कुशासन र आर्थिक मन्दीलाई ठूलो धक्का दिनुपर्ने अवस्था आइसकेको दाबी गरे।

टिकट पाउन र चुनाव लड्नका लागि पनि ठूलो रकम खर्चनुपर्ने अवस्था रहेको र त्यसले देशमा सुशासन नआउने बताए।खरेलले कुशासनको अन्त्य र सामाजिक न्यायका लागि आफूहरू एक ठाउँमा आएको बताए।उनले भने, “सुशासन कायम गर्नका लागि नेपाल आमालाई माया गर्ने मान्छेहरू एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ।”

उनले तीन जना उपनिर्वाचनका लागि मात्र होइन दीर्घकालीन रूपमा सङ्गै उभिनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकमा सहभागी हुन्छ कि हुन्न?
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सभापित लामिछानेले आफूहरूले उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए।

उनले चुनावी गठबन्धनलाई निर्वाचन आयोगले नै निषेध गर्नुपर्ने बताए।चुनावी गठबन्धन भनेको राजनीतिक “सिन्डिकेट” भएकाले त्यो आफूहरूले नचाहेको उनको भनाइ छ।

त्यस्तै सरकारमा उक्त दलको सहभागिताबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा लामिछानेले भने, “हामीले नीति हेर्ने हो नेता हेर्ने होइन त्यसैले नीतिका आधारमा निर्णय हुन्छ।”उनले उपनिर्वाचनपछि नै त्यसबारे निर्णय हुने बताए।

रास्वपाका उम्मेदवार किन छन् चर्चामा?
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बारा क्षेत्र नम्बर-२ मा पूर्व प्रहरी अधिकारी रमेश खरेल, चितवन क्षेत्र नम्बर-२ बाट लामिछाने र तनहुँ क्षेत्र नम्बर-१ बाट अर्थशास्त्री तथा नेपाली कांग्रेसका पूर्व नेता स्वर्णिम वाग्ले उम्मेदवार बन्ने भएका छन्।

उनीहरू तीनै जनाबारे नेपालको राजनीतिक वृत्त र सामाजिक सञ्जालमा चर्चा भइहरेको छ।पूर्व प्रहरी अधिकारी खरेल सेवामा रहँदा कतिपयका भनाइमा “स्वच्छ छवि भएका व्यक्ति”का रूपमा चिनिएका थिए।

उनले पछिल्लो आम निर्वाचनमा नेपाल सुशासन पार्टी नामको आफ्नै दल खोलेर प्रतिष्पर्धा गरेका थिए।उनी स्वयम् काठमाण्डू क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका भए पनि उनले त्यसबेला चुनाव जित्न सकेनन्।

उप-निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्ने भएका छन् भने उनले आफ्नो दललाई पनि स्वतन्त्र पार्टीमै मिलाउने खबरहरू आएका छन्।
पूर्व सञ्चारकर्मी लामिछाने पहिले आफूले चुनाव जितेको चितवन क्षेत्र नम्बर-२ बाट नै पुन: चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्।

पछिल्लो आम निर्वाचनभन्दा ६ महिना अघिमात्र पार्टी गठन गरेर प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ गरी प्रतिनिधिसभामा कुल २० सिट ल्याउँदै लामिछानेको दल चौथो ठूलो संसदीय शक्ति बनेको थियो।

चुनवालगत्तै बनेको गठबन्धनबाट उनी उपप्रधान तथा गृहमन्त्री समेत बनेका थिए।तर नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको नागरिकतालाई मान्यता नदिएपछि लामिछानेको सांसद पद गुमेको थियो।

सांसद पद गुमेपछि पनि उनी निरन्तर चर्चा र विवादमा रहेका छन्।तनहुँ क्षेत्र नम्बर-१ बाट उम्मेदवार बनेका वाग्ले अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।

उनले गत बिहीवार मात्र नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका थिए।उनले पार्टी त्याग गरेको घोषणा गर्दा नेपाली कांग्रेस र त्यसको नेतृत्वप्रति उठाएका प्रश्नहरूले उनी चर्चामा रहेका छन्।

उनी काठमाण्डूस्थित एउटा थिङ्क ट्याङ्कका प्रमुखका रूपमा रहेका छन् भने यसअघि उनले विभिन्न दातृ निकायमा पनि काम गरिसकेका छन्।(बीबीसी)


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया