Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिनक्कली शरणार्थी प्रकरणः ‘ठगिनेमा विद्यार्थीदेखि गृहिणीसम्म’, खाणसँग सोधपुछ

नक्कली शरणार्थी प्रकरणः ‘ठगिनेमा विद्यार्थीदेखि गृहिणीसम्म’, खाणसँग सोधपुछ


काठमाडौं,नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठूलो रकम उठाएको एउटा गिरोहको पासोमा आफू “अज्ञानतावश फसेको र अहिले बिचल्लीमा परेको” एक उजुरीकर्ताले बताएका छन्।

नेपाल प्रहरीले उक्त प्रकरणको अनुसन्धान गरिरहेको छ।अनुसन्धानको सिलसिलामा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित कैयौँ उच्चपदस्थ अधिकारी पक्राउ परेका छन्। सोही प्रकरणमा मुछिएका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीवार दिउँसोसम्म फरार छन्।

उक्त प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता सीताराम रिजालले बुधवार पक्राउ परेका खाणसँग सोधपुछ गर्न थालिएको बताए।

 सम्पर्कमा आएका दाङका उजुरीकर्ताले भुटानी शरणार्थी र उनीहरूको पुनर्वासबारे आफूलाई विगतमा खासै जानकारी नभएको तर सहजै अमेरिका जान पाइने लोभमा पटकपटक गरी आफूले साढे १५ लाख रुपैयाँ तिरेको दाबी गरेका छन्।उनीसहित छ जनाले आफूहरू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

कस्तो प्रलोभन
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहले भुटानी शरणार्थीको परिचय बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ व्यक्तिबाट रकम असुलेको विवरण आएका छन्।

आफू ठगीको सिकार भएको भन्दै उजुरी दिने दाङ शान्तिनगर गाउँपालिकाको बाघमारेका डम्बरबहादुर खत्री पनि एक हुन्।“हामी दाङमा बस्ने मान्छे। भुटानी शरणार्थी भन्ने शब्द पनि राम्रोसँग थाहा थिएन। अनि यस्तो खालको काम पनि हुन्छ भन्ने हामीलाई जानकारी थिएन,” उनले भने।

“यो पूर्वमा त्यो पनि झापा, मोरङ र सुनसरीमा बढी चल्दोरहेछ। उनीहरूले ‘यस्तोयस्तो तरिका छ… त्यहाँ [अमेरिका] गएपछि काम गरे पनि नगरे पनि १,५०० डलर हुन्छ’ भनेर प्रलोभन देखाए।”
अमेरिका पठाइदिने र भुटानी शरणार्थी बनेर जान सजिलो हुने आश्वासन दिँदै रकम लिने व्यक्तिले आफ्नो गृहसचिवसँग सम्बन्ध भएको गरेको उनले बताए।

“हाम्रो चिनजान भएको गाउँपालिकाकै एकजना साथी काठमाण्डूमा हुनुहुन्थ्यो। उहाँहरूका दिदीभिनाजुसहित छ-सात जनाले फारम भर्नुभएको रहेछ। त्यसपछि उहाँकै सामुन्ने हाम्रो भेट भयो।”

टेस्ट परीक्षा उत्तीर्ण खत्रीले आफूले किस्ताबन्दीमा रकम बुझाएको र त्यसका लागि फारम भराउनेदेखि विभिन्न काम गराइएको दाबी गरे।

“उनीहरूले फारम भर्ने बेलामा पाँच लाख रुपैयाँ मागे। मेडिकल गर्नका लागि विराटनगर विराट मेडिकलमा जाँदा पनि प्रतिव्यक्ति पाँच लाख देखि १० लाख रुपैयाँ मागे। फोटो खिचे र औँठा छाप लिने भनेर पनि मागे। तीन-चार चरणमा पैसा उठाएपछि अन्तिममा ट्राभल डक्युमेन्ट बनाउने कुरा गरे।”

विदेश जानलाई आवश्यक पर्ने त्यस्तो यात्रा अनुमतिपत्र कहिले पनि जारी नभएको र जारी भएका व्यक्तिका हकमा पनि नक्कली बनाइएको उनले बताए।

अमेरिका यात्रा अनिश्चित बनेपछि आफूहरूले बुझाएको रकम फिर्ता मागेको खत्रीले बताए।”हामीले अब हामी सक्दैनौँ। मर्नुभन्दा उपाय देखिँदैन। कि रकम फिर्ता गर्नू नत्र सबै कुरा हामी सडकमा ल्याइदिन्छौँ भनेपछि उनीहरू फरार भए। हामीहरू काठमाण्डूमा गएर प्रहरीमा निवेदन दियौँ।”

खत्री र उनका साथीहरूले गाउँकै एक व्यक्तिले गराएको चिनजानका आधारमा रकम बुझाएको भनिएका व्यक्ति अहिले प्रहरीको नियन्त्रणमा छन्।

अनुसन्धानबारे नेपाल प्रहरी के भन्छ ?
उच्च तहको राजनीतिक एवं प्रशासनिक संयन्त्र तथा मानव तस्करी गर्ने सन्दिग्ध गिरोह सम्मिलित नक्कली भुटानी शरणार्थी खडा गर्ने प्रकरण नेपाल प्रहरीले हालैका वर्षमा अघि बढाएको सर्वाधिक चर्चित अपराध अनुसन्धानमध्ये एक हो।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रतिबद्धतासहित ‘नेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएको’ विषयप्रति आफू चिन्तित रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी हेर्ने निकाय यूएनएचसीआरले बताइसकेको छ।

नेपाल सरकारले अघि बढाएको अनुसन्धानको उक्त निकायले स्वागत गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप नहुने बताउँदै आएका छन्।

जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता सीताराम रिजालका अनुसार यो प्रकरणमा २० वटा उजुरी परेका छन्। आफू ठगिएको भन्दै १०६ जना प्रहरीको सम्पर्कमा आएको र उजुरी “पाँचदेखि छ वा आठदेखि १० जनासम्मले पनि हालेको” रिजालले बताए।

उनका अनुसार त्यसरी ठगिएका भनिएका व्यक्तिमा पूर्वको झापादेखि पश्चिम नेपालको दाङ र गुल्मीका छन्। उनीहरू भिन्नभिन्न पृष्ठभूमिका छन्।

“अहिलेसम्मका उजुरीका आधारमा २३ करोड रुपैयाँ जति ठगी गरिएको देखिन्छ। उजुरी दिनेमा विद्यार्थीदेखि गृहिणीसम्म छन्। अन्य पनि पीडित छन् कि भनेर हामी हेर्दै छौँ।”

प्रहरीले उक्त प्रकरणमा झन्डै एक दर्जन व्यक्तिलाई पक्राउ गरेको छ। गिरोहका सदस्यहरूको सम्बन्धबारे समाचार आएपछि प्रहरीले पक्राउपुर्जी जारी गरेसँगै फरार रहेको भनिएका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई नेकपा एमालेले बुधवार निलम्बित गरेको थियो। रायमाझी पहिला माओवादी पार्टीमा थिए।

भुटानी शरणार्थीको सूचीमा नक्कली मानिसहरू थपेर अमेरिका पठाउने भन्दै रकम असुल गरेको आरोपमा गत साता सचिव टेकनारायण पाण्डेसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित आठ जना पक्राउ परेका थिए।

रामबहादुर थापाका छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको विवरण सञ्चारमाध्यममा प्रकाशित भएको छ।पूर्वमाओवादी नेता थापा पनि अहिले नेकपा एमालेमा छन्।

बालकृष्ण खाणकी पत्नी मञ्जु खाण अनि पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको नाम समेत यसमा मुछिएको भन्ने विवरणहरू आएका छन्। मञ्जु खाण र आरजु राणा देउवा दुवै जना सांसद छन्।

उनीहरूले आफूमाथि लागेका आरोपको खण्डन गरिरहेका छन्।जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता रिजालले प्रहरी अनुसन्धान गोप्य हुने भन्दै अनुसन्धान भइरहेका र पक्राउपुर्जी जारी गरिएका व्यक्तिहरूको बारेमा भन्न नमिल्ने बताए।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी खडा गर्नेलाई कारबाही गर्ने बताउँदै आएका छन्।

कस्तो चिन्ता
दाङका खत्री प्रहरीले अनुसन्धान अघि बढाएको भए पनि आफूहरूलाई भने डर लागिरहेको बताउँछन्।“हामीले निवेदन दिएका छौँ। तर ठूलो सञ्जाल र ठूला नेताहरूको मिलेमतोमा यो मुद्दालाई डिसमिस पार्ने र केहीलाई जेलमा राखे पनि हामी जो ठगिएका छौँ सबै व्यक्तिलाई अलपत्र पारिने पो हो कि भन्ने पनि लागिरहेको छ।”

तर अहिलेसम्मको प्रहरी अनुसन्धानलाई आफूले राम्रो रूपमा लिएको उनको भनाइ छ।दुई छोरा र श्रीमतीसहित चार जनाको परिवार रहेको बताउने उनले भने, “उनीहरूले गलत काम गरिसकेपछि हाम्रो पैसा फिर्ता गर्नुपर्ने हो। हाम्रो रगतपसिना बगेको छ र हामी घरबारविहीन हुन लागेका छौँ। ठूलो सञ्जाल देख्दा आस मरे जस्तै भएको छ।”

सामाजिक सञ्जालमा कतिपय व्यक्तिले सहजै नक्कली शरणार्थी बन्न रकम बुझाउन तयार हुने व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याएर कारबाही गरिनुपर्ने माग गरिरहेका छन्।

तर हाल दाङमा नै बसिरहेका खत्री खेतीपाती गरेर परिवार पाल्न धौधौ रहेको भन्दै अवसरको लोभ देखाएर गलत काम गर्न प्रेरित गर्ने व्यक्तिहरूलाई कारबाही गरिनुपर्ने बताउँछन्।

उनले थपे, “हामीलाई थाहा भएन। लोभलालच देखाएर गलत गराइयो। घरमा त्यसै बसेर के हुन्छ बरु त्यतातिर लागौँ भन्ने भयो। हामीलाई होइन, गलत गर्नेलाई कारबाही गरिनुपर्छ।”

भविष्यमा आफूले के गर्ने भन्ने अन्योल रहेको उल्लेख गर्दै उनले भने, “यो एउटा आपत् हो, १५/२० लाख रुपैयाँ भनेको चानचुने कुरा होइन। साहुको ऋण केले बुझाउने, बाँच्ने कसरी? अप्ठ्यारो छ।”(बीबीसी)


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया