Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन


ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराउनुभएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जलनको उपचारका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गरे ।

गत पुस ३ गते ग्यास जलनबाट घाइते भइ भारतमा उपचार गराएर पर्कनु भएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गरे ।उनले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यसबारेमा जानकारी गराएको बताए । उनले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाको ज्यान गएको जानकारी दिए । यस वर्षमात्रै हालसम्म एक सय ११ जनाको ज्यान गएको सांसद भण्डारीले तथ्यांक पेश गरे।
उनले भने, “गाउँ–गाउँमा ग्यास र बिजुली पुग्यो । के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौ । ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ ।”

सांसद भण्डारीले आफूलाई उद्धार गरेर हालको अवस्थामा ल्याउने वर्तमान सरकार र शुभचिन्तक सबैलाई धन्यवाद दिए । आफू उपचार गरेर आएको अस्पताल बाबु छोराले चलाएको र दक्षिण एशियाको सबैभन्दा उत्कृष्ठट रहेको भन्दै सांसद भण्डारीले मुलुकभित्र पनि त्यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारको पुनः ध्यानाकर्षण गराए ।उनले पछिल्लो तीन वर्षमा तीन जना मात्रै भेन्टिलेटरमा पुगेर बाँचेर आएको उल्लेख गर्दै नेपालमा पनि राम्रा स्वास्थ्यकर्मी भएको बताए ।
हालसम्म जलनको उपचारका लागि कीर्तिपुरमा रहेको अस्पतालले धानीरहेको उल्लेख गर्दै उनले सरकारले दिने उपचार सहयोगमा जलनको बिरामीलाई पनि जोड्न माग गरे ।

उनले खाना पकाउने ग्यासमा स्वचालित रेगुलेटर राख्ने व्यवस्था गर्न र त्यसका लागि कानुन निर्माण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।सांसद रघुवीर महासेठले जनतालाई विकास र प्रतिवद्धता चाहिएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा विदेश गएर षड्यन्त्र गरिरहेको भन्ने सुनिएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।

सांसद महासेठले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्न सुझाव दिए । उनले बन्द अवस्थामा रहेका वीरगञ्ज कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पनि सञ्चालनमा ल्याउन आग्रह गरे।सांसद रामकुमार राईले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा चालेको कदमले जनतामा एक प्रकारको उत्साह पैदा गरेकाले अझै प्रभावकारी रुपमा गैरकानूनी सम्पत्ति आर्जन गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।रासस


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया