Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारनयाँ पुस्ताले गाउँ छाडेपछि शेर्पागाउँ रित्तै !

नयाँ पुस्ताले गाउँ छाडेपछि शेर्पागाउँ रित्तै !


दोलखा । पछिल्लो समय जिल्लाका धेरै जसो गाउँघरमा मानिसको संख्या घट्दै गएको छ । कतिपय गाउँमा ताल्चा लगाएका घर मात्रै भेटिन्छन् । नयाँ पुस्ताले पुरानो थातथलो छोडेर शहर पस्दा गाउँ सुनसान बन्दै गएका हुन् ।

जिल्लाको बैतेश्वर गाउँपालिका–४ काब्रे ठूलोवनको शेर्पागाउँ हिजोआज सुनसान छ । यस गाउँमा २०७२ सालको भूकम्प जानुअघि गाउँमा १९ घरपरिवार बसोबास गर्दै आएका थिए । तर भूकम्पपछि सो गाउँमा जम्मा ९ घरपरिवार मात्रै बसोबास गर्दै आएका छन् । ठुलोवनको शेर्पा गाउँमा बसोबास गर्ने १० घरपरिवाले भूकम्पपछि पुर्खेउली थलो छोडेर हिडेका हुन् । गाउँका धेरैले गाउँघर छोडेर सहर तथा विदेश पस्दा सिङ्गो गाउँ हिजोआज रित्तै बनेको स्थानीय दानिमा शेर्पाले बताए । उनको टोलमा पनि उनी एक्लै छन् । परिवार र गाउँका सबै काठमाडौ तथा नजिकका सहर लागेपछि आफु एक्लै बस्दै आएको उनले बताए । उनको टोलमा भूकम्पपछि बनेका ४ वटा घर अहिले रित्तै छन् । सुविधा खोज्दै नयाँ पुस्ता सहर लागे अहिले गाउँमै भएका सुविधा र विकासको उपयोग गर्ने मान्छे नै नभएको उनको गुनासो छ । दुई/चार जना बुढेसकाल लागेका दाजुभाइ मात्रै गाँउमा रहेको उनले सुनाए । गाउँमा अहिले पनि १९ वटा घर बनेका छन् । ठुलोवन शेर्पा गाउँ बैतेश्वर गाउँपालिकाकै लेकमा पर्ने गाउँ हो, यहाँका स्थानीयको मुख्य पेशा नै आलु खेती हो । भूकम्प अघि गाउँमा सडक, खानेपानी, बिजुली, विद्यालयलगायतको समस्या थियोे, गाउँभरि मान्छे थिए । अहिले गाउँका घर आगनमै सडक पुगेको छ, खानेपानी, विद्युत तथा विकासका नयाँ–नयाँ संरचना धमाधम निर्माण भइरहेको छ, तर गाउँमा बस्ने मान्छे छैनन् । यहाँ अहिले विकासको भन्दा पनि गाउँमा बसोबास गर्ने छिमेकीको आवश्यक रहेको शेर्पा बताउँछन् । केही वर्षअघि ठुलोवनको शेर्पागाउँमा एक सयको हाराहारी जनसंख्या रहेको थियो । तर अहिले गाउँमा कर्म शेर्पा, पासाङ शेर्पा, लोमु शेर्पा, मैलि शेर्पा, तेम्बा शेर्पा, दानिमा शेर्पा, दाक्षकि शेर्पालगायत दर्जनको हाराहारीमा मात्रै गाउँमा बसोबास गर्छन् ।

गाउँमा थोरै मान्छेको मात्रै बसोबास भए पनि गाउँवरपरका जग्गा भने हरियाली छ । स्थानियले बारीभरि आलुखेती गरेका छन् । युवा र नयाँ पुस्ताले गाउँ छोडेर हिंडे पनि आफूहरुले गाउँ छोड्न नसकेको दानिमा बताउँछन् । यहाँका स्थानिय मिलेर करिब २ सय रोपनीमा आलु खेती गर्दै आएका छन् । आम्दानीको मुख्य स्रोत आलु खेती भएकाले घरखर्च चलाउन आलु बिक्री गरेर नै पुग्ने गरेको स्थानीय तेम्बा शेर्पाले बताए । सिजनमा यहाँ एक जना किसानले ५० हजार हजार देखी ४ लाख रुपैयाँसम्मको आलु उत्पादन गर्दै आएका छन् । पालिकाको सहयोगमा सडक विस्तार भएसंगै काठमाडौदेखी आलु लिन गाउँमै ठेकेदार गाडी लिएर आउने गरेको स्थानीय कर्म शेर्पाले बताए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया