Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसगरमाथा आरोहणमा समस्या

सगरमाथा आरोहणमा समस्या


सोलुखुम्बु । सगरमाथा आरोहण गर्न अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए पनि बाटो नबनेका कारण आरोहण अवधि छोटिने भएको छ । विगतका वर्षमा यतिबेला आरोहणका लागि (डोरी टाँग्ने) बाटो तयार भइसकेका हुन्थे तर यस पटक प्रतिकूल मौसमका कारण बाटो तयार नहुँदा आरोहण अवधि छोटिने भएको हो ।

गतवर्ष वैशाख २४ गते ११ जना शेर्पा समूह (आईसफल डाक्टर)ले चुचुरोसम्मै बाटो तयार पारेपछि सगरमाथा आरोहण सुरु भएको थियो । नेपाल पर्यटन विभागका अनुसार हाल साउथ कोल (चोथो शिविर)सम्म बाटो तयार भइसकेको छ तर त्यहाँभन्दा माथिको बाटो तयार पार्न बाक्लो हिमपात र उच्च गतिको हावाहुरी बाधक बनिरहेको छ ।

प्रतिकूल मौसमका कारण चुचुरोसम्मको बाटो बनाउन अझै एक साता लाग्ने भएपछि यस पटकको आरोहण अवधि छोटो हुने विभागले जनाएको छ । विभागका निर्देशक युवराज खतिवडाका अनुसार आरोहणका लागि सगरमाथा क्षेत्रमा रहेका आरोही तेस्रो शिविरसम्म आरोहणको अभ्यास गर्दै चुचुरोमा पुग्न अनुकूल मौसमको प्रतीक्षामा छन् ।

जेठ १५ गते सगरमाथा आरोहणको अन्तिम दिन भएकाले यसपटक छोटो समयमा धेरै आरोही आरोहणको प्रतीक्षामा रहेको बताइएको छ । सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या उल्लेख्य रहेकाले सम्भावित ट्राफिक जामलाई व्यवस्थापन गर्न सम्बद्ध एजेन्सीहरूलाई व्यवस्थापनका लागि निर्देशन समेत दिइसकेको खतिवडाले बताए । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार एक सातादेखि प्रतिकूल बनेको मौसमका कारण बाटो बनाउन खटिएका आइसफल डाक्टरहरू आधार शिविर झरेका छन् । मौसम सुधारको संकेत पाउनेबित्तिकै बाटो बनाउन जाने तयारी अवस्थामा रहेको बताइएको छ ।

इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले आगामी एक साता मौसम सफा रहे वैशाख २९ गते चुचुरोसम्म बाटो तयार हुने विश्वास व्यक्त गरे । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म वैशाख १० गते नै बाटो खुलिसकेको थियो ।

यस पटक ६५ देशका ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएको विभागले जनाएको छ । जसमा ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो सिजनको आरोहणमा सबैभन्दा बढी आरोहीको संख्या हो । यसअघि सबैभन्दा धेरै सन् २०१९ मा तीन सय १५ जनाले आरोहण अनुमति लिएका थिए ।

खुम्बुका होटलमा बस्ने ठाउँको अभाव : वसन्त ऋतृ सुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको चाप बढेको छ । पर्यटकको चाप बढेसँगै बस्ने होटलको अभाव हुन थालेको छ । पदयात्रा र हिमाल आरोहणका लागि आएका पर्यटकले यतिबेला खुम्बु गाउँपालिका क्षेत्रका होटलहरु भरीभराउ भएका छन् ।

लोबुचे र गोरक्षेप क्षेत्रमा पर्यटकहरुलाई बस्न समस्या भएको पाइएको छ । हरेक बर्ष वसन्त ऋतुमा हिमाल आरोहण र पदयात्राका लागि जानेहरुका कारण खुम्बु क्षेत्रमा चहलपहल बढी हुने गरेको छ । कोरोना महामारीका कारण अघिल्ला केही बर्ष भने यस क्षेत्र सुनसान बनेको थियो । पर्यटकहरुसँग गाइड र सामान बोकेर जाने भरियासमेत हुने गर्छन् । भरियाहरुले बढी खाने बस्ने ठाउँको समस्या झेल्नुपरेको छ । बस्नका लागि ठाउँ नहुने र भरिया भनेर खाने कुरामा फरक गरिने, गुणस्तरीय नहुने भएकाले आफूहरुलाई गाह्रो हुने गरेको भरियाहरुको गुनासो छ ।

उनीहरुका अनुसार सगरमाथा आधार शिविर जाने बाटोमा होटल, लजहरु रहे पनि लोबुचे र गोरक्षेप क्षेत्रमा अभाव छ । पोटर (भरिया) हाउसमा मान्छे नअटेर तीन–चार घण्डा हिडे्रर तल आएर बास बस्नुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ । सगरमाथा आधार शिविर पदयात्रामा जादै गरेका पदयात्री बिनोद राईले लोबुचे र गोरक्षेप क्षेत्रमा सिमित होटल र लज हुँदा पर्यटक र पथप्रदर्शक भान्सा कोठा मै रात बिताउनुपर्ने अवस्था रहेको बताए । त्यस्तै, विदेशी तथा आन्तरिक पर्यटकहरु लिएर सगरमाथा आधार शिविर गइरहेकी एक महिला गाइडले लोबुचे र गोरक्षेप क्षेत्रमा पर्यटकहरु साथै भरियाले सास्ती भोग्नुपरेको बताइन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया