Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिदोलखा महोत्सवमा उत्साहजनक सहभागिता

दोलखा महोत्सवमा उत्साहजनक सहभागिता


दोलखा । नेपाल चेम्बर अफ कमर्स दोलखाले आयोजना गरेको दोलखा महोत्सव २०७९ मा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता देखिएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सव आगामी फागुन २७ गतेसम्म चल्नेछ । महोत्सवको पहिलो र दोस्रो दिन महोत्सव हेर्न सहभागीहरुको भीड लागेको थियो ।

महोत्सवको उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार उद्घाटन गरेका थिए । कार्यक्रममा उनले व्यापारघाटा रोक्न उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्र चलायमान नहुदा दैनिक व्यापारघाटा बढ्दै गएको उनको भनाइ थियो । तीनै तहका सरकारले निजी क्षेत्रलाई साथमा राखेर काम गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए । धार्मिक, सांस्कृतिक, जलविद्युत् उत्पादन तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको दोलखालाई समृद्ध बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले दोलखामा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह समेत गरे ।

महोत्सवमा एक सय २० वटा स्टल रहेका छन् । महोत्सवको पहिलो दिन जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता समेत आयोजना गरिएको थियो । यस्तै दोस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

महोत्सवमा आर्थिक बहस, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट), विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा रोबोट प्रदर्शन, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन हुने बताइएको छ । साथै स्टीड फुड स्टिबल, माउन्टेन फ्लाइटमार्फत दोलखाका पर्यटकीय स्थल अवलोकन तथा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर अभौतिकीकरण शिविरलगायतका कार्यक्रम पनि रहेको चेम्बर दोलखाले जनाएको छ ।


क्याटेगोरी : कला / संस्कृति, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया