Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशबाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या

बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या


बरहथवा (सर्लाही) । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठवटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २९० घर पूर्णरुपमा नष्ट भएको छ भने ५७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राससलाई जानकारी दिए ।

यस्तै, जिल्लामा एक हजार ६६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिए । केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरुलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्न समेत वितरण गरिरहेका उनले जानकारी दिए ।

बलरा नगरपालिकाको ११ वडामा १०६ वटा घर पूर्ण रुपमा र २८२ घरमा आंशिक क्षति पुगेको छ भने ५०८ घर बाढीमा डुबेको छ । बाढीमा डुबेका घरमा समेत कम्मर कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा क्षतिको विवरण सङ्कलन गरिरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तह, विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राहत पुर्याउने काम गरिरहेको प्रजिअ अधिकारीले बताए ।

यस्तै, रामनगर गाउँपालिका–१, २, ६ र ७ का गाउँमा ८१ घरमा पूर्ण रुपमा र ९० घरमा आंशिक क्षति पुगेका छभने ३३० घर डुबानमा परेको छ ।

जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा पनि झिम नदीको बाढी पस्दा त्रिभुवननगर गाउँका ४० घरमा आंशिक क्षति पुगेको छ भने १९० घर बाढीले डुबानमा पारेको छ । बागमती नदीको बाँध फुटेर पसेको पानीले बसवरिया गाउँपालिका–२, ढापटोलमा आठ घरमा पूर्ण क्षति पुगेको छभने ११७ घर डुबानमा परेको छ ।

यसैबीच, सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका–४, हरपुर्वा गाउँमा पाँच घरमा आंशिक क्षति पुर्याएको छ भने चार घर डुबानमा परेको बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिइन् । चन्द्रनगर गाउँपालिका–१, २, ३, ४ र ५ का विभिन्न गाउँमा गरी ३२ परिवारको घर पूर्ण रुपमा र ५२ घरमा आंशिक क्षति पुगेको छ भने ३७० घर डुबानमा परेको छ । गाउँको अधिकांश कच्ची घरमा झिम नदीको बाँध फुटेर बाढी पसेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

जिल्लाको धन्कौल गाउँपालिका–३, ४, ५, ६ र ७ का गाउँमा बागमती खोलाको बाढी पसेको छ । यस पालिकामा ६३ वडा कच्ची घर पूर्ण रुपमा र १०५ वटा घरमा आंशिक क्षति पुगेको पालिकाले जनाएको छ भने, ३०० वटा घर डुबानमा परेको छ । बागमती खोलामा आएको बाढी बाँध भत्काएर गाउँतर्फ सोझिएको स्थानीय रामविनय महतोले बताए । बाढीले यस क्षेत्रमा तरकारी र धानबालीमा अत्यधिक क्षति पुर्याएको छ भने उखुखेतीमा समेत आंशिक क्षति पुगेको स्थानीयको भनाइ छ ।

यस्तै, विष्णु गाउँपालिका–७, डुमला टोलमा पनि एउटा घरमा बाढीले पूर्ण रुपमा क्षति पुर्याइदिएको छ । बाढी तथा डुबानबाट प्रभावित अधिकांश स्थानमा अझै कम्मरसम्म पानी जमेका कारण स्थानीयलाई पकाएर खानसमेत समस्या भएको बताएका छन् । दाउरा भिजेको र ग्यास चुल्हो विपन्न परिवारको पहुँचमा नरहेका कारण समस्या भएको उनीहरुले गुनासो गरे । तत्कालका लागि खाना पकाएर खाने व्यवस्था गरीदिन बसबरिया गाउँपालिका–२, ढापटोलका दीपेन्द्र ठाकुरले अनुरोध गरे ।

बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले स्वच्छ खानेपानी नपाएको गुनासो गरेका छन् । चापाकलहरु पानीमा डुबेका र खानेपानीको दिगो व्यवस्था नभएका कारण दुषित पानीका कारण स्थानीय सङ्कटमा रहेको बलरा नगरपालिका–१, निवासी चुनचुन महतोले बताए । स्थानीयले पहिलो आवश्यकताअनुसारको राहतसमेत नपाएको उनले गुनासो गरे । बाँस र माटोले बनेका खपडा, टायल र जस्ताको छाना भएका कच्ची घरहरु डुबानमा परेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x