Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमहिलाका लागि मोरङ अदालतले छुट्टै इजलास स्थापना गर्ने

महिलाका लागि मोरङ अदालतले छुट्टै इजलास स्थापना गर्ने


विराटनगर । मोरङ जिल्ला अदालतले आगामी आर्थिक वर्षदेखि महिलाको मुद्दा हेर्ने गरी छुट्टै इजलास स्थापना गर्ने भएको छ । राष्ट्रिय महिला आयोग काठमाडौंद्वारा विराटनगरमा आयोजित महिला हिंसा निवारणका लागि सुरक्षा निकायमा रणनीतिक योजना विषयक कार्यक्रममा महिलासम्बन्धी मुद्दाको न्याय सम्पादन छिटो तरिकाले गर्न एवं मुद्दाको चाप घटाउन इजलास थप गर्न लागिको जानकारी गराइएको थियो ।

कोशी प्रदेशमा चालू वर्षको १० महिनाको अवधिमा प्रहरीमा एक हजार तीन सय ३५ घरेलु हिंसासम्बन्धी उजुरी आएको कार्यक्रममा सहभागीहरूले जानकारी दिएका थिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नगरमा महिलामैत्री बजेट निर्माण गरेको बताउँदै महिला हिंसामा पीडितलाई चालू वर्षमा १० लाख राहत वितरण पनि गरिसकेको जानकारी दिए । महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम सञ्चालन गरी स्वरोजगारमा बनाउनेतर्फ पनि उनले विशेष जोड दिए ।

महिला आयोगकी सदस्य कृष्णा कुमारी पौडेल खतिवडाले महिलाहरूलाई प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत र समानुपातिकमा ५० प्रतिशत उम्मेदवार बनाउनतर्फ दलहरू अग्रसर हुनुपर्ने बताइन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले महिलाहरूलाई सबल र अब्बल बनाउन सचेतना र नीति तथा कार्यक्रममा पहुँच आवश्यक रहेको बताए । कोशी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले प्रदेशमा महिला हिंसाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै कोशी प्रदेशमा अहिलेसम्म प्रदेश प्रहरीबाट चार हजार महिलालाई सचेतना कार्यक्रम सञ्चालन गरी सकेको जानकारी दिए ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x