Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशपहिरोले सङ्खुवासभामा तीन घर बगायो

पहिरोले सङ्खुवासभामा तीन घर बगायो


किमाथाङ्का, (सङ्खुवासभा) । गए राति अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए ।

निमित्त प्रहरी प्रमुख लामिछानेले पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेको बताए । उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएको जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक लामिछानेले जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको बताए ।

पहिरोले कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर उत्तर–दक्षिण कोशी सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ । निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ ।


क्याटेगोरी : कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x