Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जासुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान

सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान


कास्की, कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।

कूल ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सवस्टेशनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले दिए ।

उनका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत् गृहलगायत सम्पूर्ण क्षेत्रको काम सम्पन्न भइसकेको छ । आयोजना निर्माणमा रू आठ अर्ब ७० करोड खर्च भएको अध्यक्ष ढुङ्गानाले बताए । विसं २०७५ मङ्सिरदेखि निर्माण थालेको बताउँदै उहाँले २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको उल्लेख गरे ।

सुरुमा रू सात अर्ब ४७ करोड लागत भनिए पनि बाढी प्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बाढीका कारण रू एक अर्बभन्दा बढी नोक्सानी भएको छ । मुख्य सुरुङको लम्बाइ करिब छ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करिब आठ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करिब २५ करोड लागत थपिएको जनाइएको छ ।

आयोजनाका लागि रू दुई अर्ब १० करोड शेयर पुँजी रहेको छ । बाँकी सानिमा विकास बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कं लि।को लगानी रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

राससका अनुसार वार्षिक २४२ दशमलव ६५ गिगावाट घन्टा बिजुली उत्पादन हुने आयोजनाको सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवद्र्धक एवं सिभिल ठेकेदार फेवा कन्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छे मेटल एण्ड मेसिनरी प्रालि र इलेक्ट्रो मेकानिकल ठेकेदार एशिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ कम्पनी रहेका छन् ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा

तपाईको प्रतिक्रिया