Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जामन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु :ऊर्जामन्त्री बस्नेत

मन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु :ऊर्जामन्त्री बस्नेत


काठमाडौं,नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।

सिंहदबारस्थित मन्त्रालयमा आज पदवहालीका क्रममा उहाँले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ हुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे । उनले सबैको विज्ञताको भरपुर सदुपयोग गर्दै मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिए ।

ऊर्जामन्त्री बस्नेतले मुलुकको विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी रहेको भन्दै उक्त प्रयोजनका निम्ति नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे। उनले भने, “देशको समृद्धिले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । मानिसमा पैदा भएको निराशालाई आशावादी बनाउने ढङ्गले परिणाममुखी काम गर्न जरुरी छ ।”

मन्त्री बस्नेतले मुलुक विशिष्ट परिस्थितिमा रहेकाले विशिष्टीकृत ढङ्गले काम गर्न जरुरी रहेको खाँचो औँल्याए । “मानिसमा आशावाद जगाउन जरुरी छ । मुलुकको आवश्यकताका आधारमा ‘टिम स्पिरिट’ का साथ इमान्दारीपूर्वक काम गर्न सबै सक्रिय हुनुपर्छ”, उनले भने ।

ऊर्जामन्त्रीको पहिलो निर्णय

ऊर्जामन्त्री बस्नेतले पदबहालीसँगै पहिलो निर्णयका रूपमा विश्व मौसम सङ्गठन (डब्लुएमओ) बाट विकास भई मन्त्रालयमा रहेको ‘साउथ एसिया फ्लास फ्लड गाइडेन्स सिस्टम’ तथा डब्लुएमओसँग सम्बन्धित कार्यका लागि समन्वय र सहकार्य गर्न सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखालाई फोकल शाखा र उक्त शाखाका सि.डि.हाइड्रोलोजी सुनिल पोखरेललाई नेशनल फोकल प्वाइन्ट तोक्ने निर्णय गरिएको छ ।

ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले अनुभवी र निर्भिक मन्त्री पाएको भन्दै मन्त्रीको स्पिरिटमा मन्त्रालयको कामलाई नतिजामुखी बनाउन हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरे । उनले मन्त्रालय मातहत निकायको कामलाई प्रभावकारी समन्वयका साथ अघि बढाउने उल्लेख गरे ।

मन्त्री बस्नेतको राजनीतिक यात्रा

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले यसअघि विसं २०६८ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, विसं २०७२ मा गृहमन्त्री र २०७४ मा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा जाजरकोट जिल्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा मन्त्री बस्नेत निर्वाचित भएका थिए । उन्को जन्म विसं २०२७ मा जाजरकोट जिल्लाको भेरी नगरपालिका–१, कालेगाउँमा भएको थियो ।

तीन दशकदेखि राजनीतिमा आबद्ध मन्त्री बस्नेतको राजनीतिक यात्रा भने विसं २०४१ मा अनेरास्ववियुबाट भएको थियो । उनले अनेरास्ववियुको विद्यालय एकाइ समिति र जिल्ला समिति सदस्यबाट राजनीतिक यात्रा सुरु गरे ।

विसं २०४७ मा नेकपा (मशाल) को सदस्यता जिल्ला समन्वय समिति सदस्य, क्षेत्रीय ब्युरो सदस्य हँुदै नेकपा (एकता केन्द्र) र विसं २०५५ मा माओवादी केन्द्रीय सदस्य बने । उनी पार्टीभित्र पोलिटब्युरो सदस्य, एमाओवादी स्थायी समिति सदस्य हुँदै विसं २०७५ मा नेकपा ९एमाले० को स्थायी समिति सदस्य बन
। उनले राजनीतिक आन्दोलनका क्रममा १२ वर्ष भूमिगत जीवन बिताएका थिए ।

पहिलो पटक विसं २०७० को संविधानसभा सदस्यका रूपमा उनको संसदीय यात्रा सुरु भएको थियो । उहाँ दोस्रो पटक विसं २०७४ को निर्वाचनमा जाजरकोट–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।रासस


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा

तपाईको प्रतिक्रिया