Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारयो साता के होला सेयरबजार ?

यो साता के होला सेयरबजार ?


काठमाडौं । उच्च ब्याजदर, तरलता अभाव र आन्तरिक अर्थतन्त्रका कारण लामो समयदेखि सेयर बजार प्रभावित छ । करिब १९ महिनायता लगानीकर्ताले सेयरका भाउहरु बढेको स्वाद खासै चाख्न पाएका छैनन् । केही अल्पकालीन लगानीकर्ताले छोटो समयको उतारचढावमा राम्रै फाइदा लिए पनि सर्वसाधारण लगानीकर्ताले ठूलो धनराशी गुमाउनुपरेको छ । अहिले बजार एक हजार नौ सय आठ विन्दुमा छ । १० महिनायता बजार एक हजार आठ सय र दुई हजार दुई सय विन्दुको बीचमा छ ।

त्यसो त बजारमा लगानीकर्ताको मनोविज्ञान थाहा पाउन सूचकको विगत हेर्नुपर्ने हुन्छ । कोभिड–१९का बेला अर्थतन्त्र ठप्प भई लगानीका अन्य क्षेत्र बन्द रहेका बेला सेयरबजार र घरजग्गामा लगानी बढेको थियो । यही कारण सेयरबजार अत्यधिक बढेको थियो । कोभिड अघि २०७७ असार १५ गते एक हजार एक सय ८८ विन्दुमा रहेको नेप्से कोभिड सुरु भएलगत्तै लगातार बढेर २०७८ भदौ ३ गते तीन हजार दुई सय २७ विन्दुको उच्चतम विन्दु चुमेको थियो । जुन कम्पनीहरुले राम्रो नाफा गरेर भन्दा पनि देशको अर्थतन्त्र ठप्प भएर भएको थियो । त्यसबेला बैंकहरुको लगानी सेयरबजारमा केन्द्रित थियो भने ब्याजदर पनि एकल विन्दुमा झरेको थियो । यही कारण छोटो समयमा नै नेप्से दुई हजारभन्दा बढी अंकले बढेको थियो ।

तर कोभिडको संक्रमण हट्दै गएपछि अर्थतन्त्र पनि पुरानै लयमा फर्किँदै गयो । उद्योग कलकारखाना चल्न थाले । उद्योगी व्यवसायीले सेयरमा गरेको लगानी झिकेर उत्पादन र आयातका लागि प्रयोग गरे । राष्ट्र बैंकले पनि सेयरधितो कर्जामा एक बैंकबाट चार करोड र सबै बैंकबाट १२ करोडसम्म मात्रै कर्जा लिन पाउन व्यवस्था गरिदियो । त्यसपछि सेयरबजारमा घट्दो क्रम सुरु भयो । परिणाम बजार २०७८ मंसिर २७ गते दुई हजार दुई सय सय ५९ विन्दुमा झ¥यो । त्यसपछि करेक्सन गरेर २०७८ माघ ४ गते दुई हजार नौ सय ८१ विन्दु पुगेको नेप्से त्योभन्दा माथि बढ्न सकेन । लगातार गिरावट आउँदा २०७९ असार १० गते एक हजार आठ सय छ विन्दुमा झ-यो । यतिबेला नेप्से हालसम्मको उच्च विन्दुको तुलनामा ४४ प्रतिशतले तल झरिसकेको थियो । त्यसयता बजार एक हजार आठ सय विन्दुभन्दा तल झर्न सकेको छैन । जसलाई धेरै लगानीकर्ताले मनोवैज्ञानिक रेखाको रुपमा चित्रण गर्ने गरेका छन् । कोभिड अगाडिको स्थितिसँग तुलना गर्ने हो भने बजार बढेको नै देखिन्छ । तर धेरै लगानीकर्ता त्यसलाई मान्न तयार छैनन् ।

अर्थमन्त्रीसँग बजारको साइनो
तीन महिनाअघि अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्त हुनेबित्तिकै बजारमा तीव्र गतिको वृद्धि देखिएको थियो । त्यसबेला पौडेलप्रति सेयरबजारका लगानीकर्ता र समग्र निजी क्षेत्र आशावादी दिए । किनभने पौडेलले निजी क्षेत्रप्रति उदार नीति लिन्छन् भन्ने विश्वास थियो । उनले राष्ट्र बैंकका गभर्नरबाट चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा परिमार्जन गराएर निजी क्षेत्रलाई आश्वस्त पारेका थिए । तर ब्याजदर घटाउने वातावरण बनाउन नसक्दा बजारले फेरि ओरालो यात्रा तय गरिसकेको थियो । पौडेल दुई महिना नबित्दै अर्थमन्त्रीबाट बाहिरिए ।

अहिले नेपाली कांग्रेसमा डा. प्रकाशशरण महत अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका छन् । धेरैले अर्थमन्त्रीको आचरणले बजार प्रभावित हुने बताएका छन् । नवनियुक्त अर्थमन्त्री महतले शुक्रबार पदभार ग्रहण गर्दै सेयरबजारसहित समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइसकेका छन् । तर गभर्नर महाप्रसाद अधिकारी एमालेनजिक रहेको र महतलाई कति सघाउँछन भन्नेमा भरपर्ने कतिपय लगानीकर्ताको विश्लेषण छ । त्यसैले अहिलेको परिस्थितिमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको समन्वयबाट नै बजारको अवस्था निर्धारण हुने देखिन्छ ।

गत साताको बजार
गत साता नेप्से छ दशमलव ५९ अंकले घटेर एक हजार नौ सय आठ दशमलव ५६ विन्दुमा झरेको छ । साताभर पाँच अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । औसत कारोबार एक अर्ब १४ करोड रुपैयाँको भएको छ । साताभर लगानीकर्ताकोे सम्पत्ति सात अर्ब ३७ करोड रुपैयाँले घटेर २७ खर्ब ६४ अर्ब ६६ करोडमा झरेको छ ।

मंगलबार साताकै उच्च एक अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ७९ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

साताभर होटल तथा पर्यटन समूह सर्वाधिक तीन दशमलव ७४ प्रतिशतले घटेको देखिन्छ । त्यसपछि म्युचुअल फण्ड तीन दशमलव २८ र उत्पादन तथा प्रशोधन समूह तीन दशमलव २३ प्रतिशतले घटेका छन् । बैंकिङ समूह सबैभन्दा कम शून्य दशमलव १३ प्रतिशतले घटेको छ ।

साताभर कालिञ्चोक दर्शन लिमिटेडका सेयरधनीले सर्वाधिक ३८ दशमलव ७३ प्रतिशतले कमाएका छन् । यस्तै एसियन हाइड्रोपावरका सेयरधनीले ३३ दशमलव १७ प्रतिशतले कमाएका छन् । जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीले सर्वाधिक १८ दशमलव १३ प्रतिशतले गुमाएका छन् । यस्तै नेशनल माइक्रोफाइनान्सका सेयरधनीले १७ दशमलव १९ प्रतिशत र आदर्श लघुवित्तका सेयरधनीले १३ प्रतिशतले गुमाएका छन् । सबैभन्दा धेरै कारोबार एनआईसी एसिया बैंकको ४३ करोड ७० लाख रुपैयाँको भएको छ ।

यो साता बजार कस्तो रहला ?
सेयरबजार विश्लेषक मुक्ति अर्याल यो साता बजार सामान्य रहन सक्ने बताउँछन् । लगानीकर्ताले नवनियुक्त अर्थमन्त्रीको आचरण परीक्षण गर्ने भएकाले पनि यो सातामा धेरै ठूलो उतारचढाव नहुने विश्लेषण अर्यालको छ ।

बजारका लगानीकर्ताले पनि नेकपा माओवादी केन्द्रबाट भन्दा नेपाली कांग्रेसबाटै अर्थमन्त्री आओस् भन्ने चाहेको अवस्थामा महत अर्थमन्त्री बनेका छन् । यसलाई लगानीकर्ताले सकारात्मक रुपमा लिएका छन् । नवनियुक्त अर्थमन्त्री महतले शुक्रबार पदभार ग्रहण गर्दा जनाएको प्रतिबद्धताले बजारलाई रामै्र गर्ने भए पनि अर्थ मन्त्रालयसँगको समन्वय कस्तो रहन्छ भन्नेमा भरपर्ने अर्यालले बताए ।

गभर्नर महाप्रसाद अधिकारी बजारप्रति त्यति सकारात्मक नभएको रुपमा लगानीकर्ताले लिने गरेका छन् । तर यसअघि पौडेल अर्थमन्त्री रहँदा राम्रै सहयोग गरेका गभर्नर अधिकारीले महतलाई पनि सघाउने विश्वास लगानीकर्ताको छ । तर बजार त्यतिले मात्रै निर्देशित नहुने अर्यालले बताए । उनले बजारमा सुधार आउन तरलता र ब्याजदरमा पनि सुधार हुनुपर्ने बताए । यसका लागि गभर्नर अधिकारी लिने स्टेपले नै असर पार्ने अर्यालले बताए ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया