Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबजेटले सेयरबजारमा धक्का

बजेटले सेयरबजारमा धक्का


काठमाडौं । बजेट सार्वजनिक भएको भोलिपल्ट सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । सरकारले सेयरबजारका लगानीकर्ताहरूको माग बजेटमा नसमेटेपछि बजारले नकारात्मक प्रतिक्रिया देखाएको हो । यस्तै बजेटमार्फत सरकारले मर्जर, प्राप्ति र एफपीओमा अहिलेसम्म थाति बसेको सबैकर एकैपटक तिर्न भनेपछि सूचीकृत कम्पनीहरूको नाफामा असर पर्ने देखिएको छ ।

यस्तै गैरआवासीय नेपालीहरूलाई जलविद्युत् र वास्तविक क्षेत्रमा मात्रै सेयर कारोबार गर्न दिने व्यवस्थाप्रति लगानीकर्ता असन्तुष्ट छन् । यी व्यवस्थाले लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर पार्दा मंगलबारको बजारले फराकिलो गिरावट सहनुपरेको हो ।

मंगलबार नेप्से परिसूचक ५३ दशमलव १६ अंकले घटेर एक हजार आठ सय ८८ दशलमव ६१ विन्दुमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि आठ दशमलव ७२ अंकले घटेर तीन सय ६० दशमलव ७१ विन्दुमा कायम भएको छ । साधारण सेयरको कारोबार मापन गर्ने फ्लोट सूचक तीन दशमलव ७२ अंकले बढेर एक सय ३१ दशमलव ६६ विन्दु र सेन्सिटिभ फ्लोट सूचक दुई दशमलव ७९ अंकले घटेर एक सय १९ दशमलव ३६ विन्दुमा कायम भएको छ  ।

बजेट सार्वजनिक हुनुभन्दा दुई साता अगाडिदेखि सेयरबजार लगातार बढेको थियो । छोटो समयमा नाफा कमाउनेहरूले बजेटबाट पर्ने दीर्घकालीन असर पहिल्याई सेयरको बिक्री बढाउँदा बजारमा एकै दिन ठूलो अंकको गिरावट आएको विश्लेषण गरिएको छ । कारोबारमा आएका दुई सय १९ कम्पनीमध्ये दुई सय सात कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा बजार घटेको हो । बजार घटे पनि नौ कम्पनीका सेयरधनीले कमाएका छन् । तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

दुई अर्ब ३४ करोड १८ लाख रुपैयाँबराबरको ७० लाख ७४ हजार दुई सय ५५ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको ७५ अर्ब रुपैयाँबराबरको सम्पत्ति गुमेको छ । बजार पुँजीकरण २७ खर्ब ५७ अर्बमा झरेको छ ।

कारोबारमा आएका सबै समूहमा गिरावट छ । जीवन बीमा समूह सर्वाधिक साढे तीन प्रतिशतले घटेको छ । त्यसपछि लघुवित्त तीन दशमलव ४२ प्रतिशत, अन्य तीन दशमलव २८ प्रतिशत, निर्जीवन बीमा तीन दशमलव १४ प्रतिशत, व्यापार दुई दशमलव ९५ प्रतिशत, फाइनान्स दुई दशमलव ७९ प्रतिशत, जलविद्युत् दुई दशमलव ७३ प्रतिशत, लगानी दुई दशमलव ६३ प्रतिशत, होटल तथा पर्यटन दुई दशमलव ५१ प्रतिशत, बैंकिङ दुई दशमलव ४२ प्रतिशत, विकास बैंक दुई दशमलव २८ प्रतिशत, उत्पादन तथा प्रशोधन एक दशलमव ५६ प्रतिशत र म्युचुअल फन्ड एक दशमलव ४२ प्रतिशतले घटेका छन् ।

बजारमा गिरावट आए पनि दुई कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । कारोबार बन्द हुँदा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ९८ प्रतिशतले मूल्य बढेको छ ।

स्वेत–गंगा जलविद्युत् एन्ड कन्स्ट्रक्सन कम्पनीको सेयरमूल्य सर्वाधिक नौ दशमलव २६ प्रतिशतले घटेको छ । यस्तै सिटिजन्स म्युचुअल फन्ड–१को इकाइमूल्य नौ दशमलव एक प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि आठ दशमलव ७२ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सर्वाधिक सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको २१ करोड २५ लाख रुपैयाँबरबरको सेयर किनबेच भएको छ । यस्तै ग्लोबल आईएमई बैंकको १० करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया