नेपालको जाति, भाषा र संस्कृति
बाहुन, क्षेत्री खस आर्य–१७
काठमाडौँ । बाहुन क्षेत्री खस आर्य ः– खसहरुले अझैसम्म पूजा गरिरहेका देवतामा मष्टो पनि हुन् । खसहरुले आफ्ना इष्ट देवताका रुपमा मानिआएका मष्टोलाई हिन्दू आर्यावर्तको अन्यत्र पुजिने गरेको देखिँदैन । मष्टो देवता खसान, जडान, भोटाङ्ग, मानसरोवर क्षेत्रलगायतका ठाउँबाट पुजिन सुरु भएको मानिन्छ । कसै–कसैले मष्टोको उत्पत्ति राजेस्थान वा महाराष्ट्रबाट आएका वा त्यताबाट हिन्दूजनहरुले लिई आएका भन्ने पनि मत राख्छन् । कसैले खप्तड क्षेत्र वा डोटी जिल्लाको कुनै पहाडी खोँचमा तिनको उत्पत्ति भएको हो भन्ने पनि मान्यता राखेका छन् । यस्तै केहीको भनाइमा कैलाश मानसरोवर क्षेत्रबाट मष्टोको उत्पत्ति भएको हो र मष्टो भगवान् शंकरका पुत्र हुन् पनि भनेका छन् ।
मष्टोको उत्पत्तिका सन्दर्भमा एउटा कथन, भनाइ वा किंवदन्ती रहँदै आएको पाइन्छ । मानसरोवरमा भगवान् शिवशंकरको भगवान् शिवजीको वीर्यपतन भएकाले सो वीर्यज्वालाका रुपमा प्रज्वलित भइरहेको छ । कैलाशका अप्सराहरु जाडोले थर्थर काँपिरहेका अवस्थामा सो प्रज्वलित ज्वाला बलेको आगो ठानी आगो ताप्न गएकाले अप्सराहरुमा गर्भ रहन गएछ । त्यसरी रहन गएको गर्भबाट एउटी अप्सराले शिवशंकररुपी अवतार शिवजीकै स्वरुपमा जन्म दिइछन् । अर्कीले भगवती दुर्गा, काली, मालिकाजस्ता देवीका अवतारका देवी जन्माइछन् । यसैगरी तेस्री अप्सराबाट भने शिवशक्तिको स्वरुप गण बनेर जन्मेका मष्टो देवताले जन्म लिएछन् ।
भगवान् शिवशंकरले लोककल्याणका निमित्त दशौँ दिशाका समस्त जीवजन्तुको पालनपोषण र रक्षा गर्नका निमित्त खटाएका गणहरुमध्येका गण मष्टो देवताका रुपमा पुजिनथालेका हुन् ।मष्टोलाई शिव भगवान् र दुर्गामाताका शील, शान्त गणका रुपमा मानिन्छ । यिनको यिनै प्रवृत्तिले यिनलाई दुग्धजन्य गौरसको भोग दिइन्छ । यिनलाई बली चढाइँदैन । मष्टोलाई कोरा अक्षता वा सादा अक्षता चामल, फल, दूध, दही, पातीका पात अािद भोगमा चढाइन्छ । मष्टो दुर्गादेवीका प्रमुख सेनानी भए पनि यिनले बली चढाएको भोग गर्दैनन् भन्ने मान्यता छ । रक्तबली यिनीले ग्रहण नगर्ने हुनाले नै मष्टोका निम्ति फल काटेर फलको बली भोग चढाइन्छ । केही स्थानहरुका कुनै कुनै मष्टोले रक्तबली समेत ग्रहण गर्दछन् भन्ने मान्यता राखी कालो बोकाको बली समेत चढाइने गरिन्छ । ती शिवजीका गणमध्येका कुनै मष्टो तामसिक वा राजसी प्रवृत्तिका खानपान मन पराउँछन् भन्ने मान्यता राखेर तिनलाई बली चढाउने गरिएको हो । ती मष्टोका खानपिनबमोजिमकै स्वभाव हुने गर्छ भन्ने मान्यताअनुसारती मष्टो पापीलाई सजाय दिन कोर्रा हान्ने अंगभंग गरिदिने पापी वा दोषीलाई यातना दिने समेत गर्दछन् भन्ने मान्यता पाइन्छ ।
मष्टो शिवजीका गण देवता मानिनाले यिनका अनेक रुप रहेको हामी पाउँछौँ र सोहीबमोजिम मष्टोका अनेकौँ नाम र अवतार पनि हुने गर्दछन् । धेरै मष्टो रहने गरे पनि हिन्दू आर्यावर्तका देवी देवताहरुझैँ यिनको मूर्ति, तस्बिर, स्वरुप भने पहिल्याउने प्रयास गरिएको पाइँदैन । सामान्यतया मानव आकृति बिहानी पिण्ड वा प्रस्तर पिण्डलाई मष्टो देवता मानि वा बनाई पुजिने गरिन्छ भने कतै तोरण, घण्ट, त्रिशूल वा कुनै पूजा पात्रलाई मष्टो मानेर पूजा गर्ने गरिन्छ । मष्टोको स्वरुप कस्तो हो वा कुनचाहिँ मष्टो हो भनेर पहिल्याउन धामीले काम्दा वा मन्त्र फलाक्दाको हावभाव, मुखाकृति, रुपरङ्ग कपडा लुगा आदिबाट कुन स्वरुपको मष्टो हो भन्ने कुरालाई पहिल्याउने गरिन्छ । सोहीअनुसार मष्टो निर्धारण हुने गर्दछ ।
खसहरुबारे महाभारतलगायत अनेक पुराणहरुमा उल्लेख पाइन्छ । महाभारतको वनपर्वमा राजा युधिष्ठिरको तीर्थयात्राको प्रसंग आउँदा युधिष्ठिर राजा सुबाहको राज्यमा पुगेको प्रसंग आउँछ । प्रसिद्ध धार्मिक ग्रन्थ महाभारतको सोही खण्डमा सुबाहुको राज्य गंगा र यमुनाको बीचको पहाडी क्षेत्र भनी उल्लेख गरिएको र सो प्रदेशमा बलियाबांगा तुषार, दरद (दरिन्दा) जाति रहेको उल्लेख छ । यसैगरी वायु पुराण र ब्रह्मपुराणमा सूर्यवंशी राजा सागरले हैहयवंशीहरुको सहायताका लागि आएका शंक (खस) जातिलाई संहार गर्न खोज्दा वशिष्ठले बचाएका शक खस जातिलाई क्षेत्रीय जातिबाट जातविहीन बनाई व्रात्य बनाएको भन्ने उल्लेख पाइन्छ ।
यस्तै खसको प्राचीनतालाई झल्काउने तथा प्रष्टाउने जाति वा तिनका नामहरु पनि उल्लेखनीय रहेका छन् ।हिन्दूकुश पर्वतमालाको एवं ढलानको ग्लेसियर प्रकारको घाँटीमा बस्ने जातिहरु सिनाकी, चिलासी, कस्तुरी, हुँजा, नागर, चित्राली, काफी (पराइ ठाउँका मानिस भनी सम्बोधन गरिनाले उर्दूभाषामा काफिर शब्द यिनै जातिलाई सम्बोधन गरिने शब्दबाट उत्पत्ति) हुन गयो ।
यस्तै सिन्ध र स्वात नदीको उत्तरी मध्य क्षेत्र जसलाई कोहिस्तान भनिन्थ्यो, त्यहाँका निवासी कशकर र कुनार उपत्यकाको घाँटी बाजौर र दिरका निवासीहरु आजपर्यन्त कशगर (खस) र दारदुई (दरद) भाषा बोल्ने गर्दछन्् ।यस्तैगरी काफिरीस्तानका काफिर जाति दरवाज जाति र पर्वतीय पशुचारक जाति, गालचा कश्मिरका काश जाति, जम्बुद्वीप कांगडाका डोगरा जाति सिधे नुनको पहाडतिर बस्ने जाति खोकर, खोहकर जाति समेत खस जातिका हुन् । वा भनौँ खसजातीय नृवंशका अथवा आदि खसहरुका सन्तति वा वंशज हुन् । (हेर्नुहोस् काङडा गजेटिया पृष्ठ १७६–६ र उत्तरा खण्डका इतिहास लेखक ः डबराल)
यसैगरी खस जातिहरुका बारेमा हिन्दू धार्मिक ग्रन्थ महाभारतमा खसहरुको बसोबास रहेको बाल्हिक प्रदेशका मानिसहरुबारे महारथि कर्णले भनेका छन् ।हिमालय, गंगा सरस्वती, यमुना र कुरुक्षेत्रका सीमाभन्दा बाहिर तथा सतलज ब्यास, रावी चिनाव, झेलमलगायत पाँचौँ र छैठौं सिन्ध नदीको बीचको उत्तरी क्षेत्रमा बस्ने बाल्हिक क्षेत्रका प्रदेशहरु धर्मबाह्य र अपवित्र छन् । यिनीहरुलाई पनि त्याग गर्नुपर्छ । त्यहाँ एउटै बाल्हिक ब्राह्मण भएर फेरि क्षेत्री हुन्छ । त्यसपछि वैश्य, शुद्र र नापित पनि बन्छ । नापित भएपछि झेरि बाह्मण हुन्छ । ब्राह्मण भएर फेरि उही व्यक्ति दास पनि बन्छ । – महाभारत (८ः४४ःः ६ र ७)
कर्णले उक्त क्षेत्रका मानिससँगको युद्ध शत्रुताका कारणवश उक्त कुरा भनेका भए पनि उक्त क्षेत्रहरुमा त्यस बखत बसोबास गर्ने खसहरुमा आर्यावर्त वा हिन्दूधर्मको प्रभाव परिसकेको कुरा प्रतीत हुन्छ भने पछि कुमाउलगायत पश्चिम नेपालसम्म आइपुगेका खसहरु धेरै अघिका समयदेखि नै हिन्दूधर्ममा आबद्ध थिए भन्ने कुरा समेत प्रष्ट हुन जान्छ ।
खस वा कसहरु भारत वर्ष प्रवेश गर्नुअघि प्रकृतिपूजक र बहुलदेव अर्थात् धेरै प्रकारका देवी देवताहरुलाई मान्ने गर्दथे र खसहरुले बेबिलोनिया (हाल इराक)को दजला र फरात नदीका बीच भू–भागमा ई.पूर्व १७०० देखि ११५५ सम्म) अर्थात् करिब ३१ सय वर्ष अघिसम्म शक्तिशाली रुपमा राज्य गरेका थिए । बेबिलोनियामा प्राप्त माटाका पाटी र चक्कीका अभिलेखहरुमा (त्यसबखत माटाको पाटी मा लेखी सुकाएर इतछा झैँ कडा बनाई किताबका रुपमा संग्रहित गरिराख्ने प्रचलन रहेको थियो) कस वा खस भाषाका ३०० वटा जति प्रकारका शब्दहरु पुरातत्ववेत्ताहरुले फेला पारिसकेका छन् ।
यस्तै खसहरुको प्राचीन उपस्थितिलाई दर्शाउने स्थान पश्चिम इरान पनि हो । यस भू–भागमा सदियौँदेखि कस वा खसहरुले बसोबास गरी राखेको वा प्राचीनकालका खसहरुको आदि स्थानलाई अझैसम्म पनि खशिस्तान भन्ने गरिन्छ । यसैगरी अफगानिस्तानमा समेत खसहरुका नामबाट वा खसहरुले बसोबास गरेका हुनाले एउटा मरुभूमिलाई खस मरुभूमि भनेर अझैसम्म भन्ने गरिन्छ । हिन्दूकुश पर्वतको उत्तरपट्टिको फाँटलाई बडाखसान अर्थात् ठूलो खसान भनेर सम्बोधित गरिन्छ भने हिन्दुंकस. हिन्दु कुस, हिन्दुकुश नाम समेत खससँग सम्बन्धित रहेको छ । यसैगरी खसमिर खसमिरबाटै कश्मिर भएको हो भन्ने धेरैजसो इतिहासकारहरुको मान्यता रहँदै आएको छ भने कुमाउलगायत पश्चिम नेपाल र मानसरोवर क्षेत्रहरु मिलाएर बनेको खस साम्राज्यका बारेमा ऐतिहासिक रुपमा प्रमाणित भइसकेको छ । यस्तै कश्मिरको प्रसिद्ध ग्रन्थ राजतरङ्गिणीमा खसहरुबारे धेरै धेरै चर्चा गरिएकाले खसहरुको सो क्षेत्रलगायतका क्षेत्रहरुमा रहेको उपस्थितिलाई प्रष्ट पार्छ र यिनीहरुको प्रमुख क्षेत्र बाल्हिक प्रदेश अर्थात् हिन्दकुश पर्वत क्षेत्र नै रहेको थियो । यस्तै वैदिक आर्य ब्राह्मण क्षेत्रीय भने केही तीभन्दा अघिदेखि र केही भने मुसलमानी आक्रमण तथा अन्य कारणहरुले एकै समयमा वा केही बढी पटकमा पहाडतर्फ आगमन हुन गएको हो ।
क्याटेगोरी : बिशेष
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया